भूपेन्द्रराज तिम्सिना

दमक, १० वैशाख /

झापाको दमक नगरपालिका कार्यालयले नगरका सामुदायिक विद्यालयमा यो वर्षबाट कक्षा ५ सम्म अनिवार्य रुपमा निःशुल्क पठनपाठनको परिपत्र गर्दै त्यसमा अपुग आर्थिक व्यवस्थापन नगरले गर्ने तयारी गरेको छ ।
सरकारले तोकेको माध्यमिक तहसम्मको निःशुल्क शिक्षा कार्यान्वयनका क्रममा नगरमा रहेका २१ वटा सामुदायिक विद्यालयमा चालु शैक्षिक शत्रबाट यो वर्ष कक्षा ५ सम्मकालागि कुनै पनि शिर्षकमा शुल्क नलिन नगरले निर्देशन गरेको हो । नगर प्रमुख राम कुमार थापाले सामुदायिक विद्यालयमा यो वर्ष प्रारम्भिक वाल विकासदेखि कक्षा ५ सम्म तथा क्रमशः तीन वर्षमा माध्यमिक तहसम्म नै पूणर् निःशुल्क शिक्षा प्रदान गर्न ‘दमक शिक्षा सुधार योजना’ निर्माण गरी कार्यपालिकाबाट पारित गरिएको जनाए । उनले भने ‘यो काम हामीले ढिलै भएपनि सुरु गरेका छौं । ०८२ मा ८ सम्म र ०८३ मा माविसम्मको शिक्षा पूणर् निःशुल्क हुन्छ । त्यसकालागि विद्यालयलाई चाहिने आर्थिक र भौतिक व्यवस्थापन नगरले गर्छ । सवैले निःशुल्क र अनिवार्य शिक्षा पाउने अधिकार कार्यान्वयकालागि सहयोग पुर्याउन नगरवासीमा हार्दिक अनुरोध गर्दछु ।’ उनले संस्थागत (निजी) विद्यालयलाई पनि शिक्षा सर्वशुलभ हुनुपर्ने प्रावधान अनुरुप आउँदो वर्षबाट शुल्क एकरुपता, छात्रबृत्ति, सेवासुविधा तथा गुणस्तरीय पठनपाठनको सम्बन्धमा नीति बनाएर नियमन गरिने बताए ।
नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ मा शिक्षा सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको स्मरण गराउँदै आफ्ना विद्यालयमा पनि निःशुल्क पठनपाठन गर्न नगरले परिपत्र गरेको छ । नगर विद्यालय शिक्षा परिषदको ०८० चैत ७ को निणर्य सिफारिस तथा नगर कार्यपालिकाको चैत २४ को बैठकले पहिलो चरणमा कक्षा ५ सम्मको शिक्षा पूणर् निःशुल्क गर्ने निणर्य गरेको हो । निःशुल्क शिक्षामा अंग्रेजी माध्यमलाई अघि बढाउने पक्ष पनि नगरले संगसंगै जोडेको छ । यी दुई पक्षकालागि नगरले अध्ययन गरी यो वर्ष विद्यालयलाई आवश्यक खर्च समेत हिसाव गरेर तत्काल प्रदान गरिने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जनाए । ‘विद्यार्थी संख्या, विद्यालयको भौतिक अवस्था, शिक्षक कर्मचारी तलब, पुस्तक, अतिरिक्त क्रियाकलाप, टाईबेल्ट सहितमा प्रति विद्यालय कति खर्च आउने रहेछ भनेर हिसाव निकाली सोही अनुरुपको रकम नगरले निकासा गर्ने अन्तिम तयारी भइरहेको छ ।’- उनले योजनामा केलाइएको विषय प्रस्तुत गर्दै भने ‘यसकालागि चालु आर्थिक वर्षको शिक्षा शिर्षकको बजेटबाट खर्च व्यवस्थापन गर्ने निणर्यमा हामी अघि बढिसकेका छौं ।’
शिक्षक र कर्मचारी दरबन्दीको अपुग अवस्था सवै विद्यालयको साझा र प्रमुख समस्याका रुपमा रहँदै आएको छ । त्यसकासाथै अतिरिक्त क्रियाकलाप सहितका खर्च व्यवस्थापनमा अपुग भएको रकम व्यवस्थापन गर्दै विद्यालय भवन, शौचालय, खानेपानी सहितका पूर्वाधार निर्माण गरिदिएर शिक्षालाई निःशुल्क गर्ने योजना दमककालागि निकै महत्वपूणर् विषय सम्बोधन हुने नगर शिक्षा शाखा प्रमुख प्रवीण खड्काले ठहर गरे । उनले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रकालागि छुट्याएको १ करोड ७५ लाख रुपैयाँबाट विद्यालयको भौतिक पूर्वाधार तथा शिक्षक, कर्मचारी, अतिरिक्त क्रियाकलाप सहितको व्यवस्थापनमा खर्च गरिने जनाए । ‘हामीले विद्यालयहरुमा विद्यार्थी ंसंख्या, दरबन्दीको अवस्था र अन्य खर्चको विवरण मागेर कुन कुनमा कति खर्च लाग्ने रहेछ भनेर सवै हिसाव निकालेर सोही अनुसार अनुदान रकम प्रदान गर्ने छौं । त्यसको पहिलो किस्ता १,२ दिनमै पठाइसक्छौं ।’- उनले भने ‘भौतिक पूर्वाधारकालागि पनि व्यवस्थापन गर्न सोही एकमुष्ठ रकममध्येबाट आधाजसो रकम छुट्याएका छौं ।’ निःशुल्कसँगै अनिवार्य अंग्रेजी माध्यमबाट पठनपाठनकालागि नगरले १५ जना शिक्षक समेत व्यवस्थापन गरिदिने योजना रहेको उनले सुनाए ।
नगरमा रहेका नौ वटा माध्यमिक र १२ वटा आधारभूत विद्यालयसंग लाग्ने खर्चको विवरण माग गरी नगरले कक्षा ५ र कक्षा ८ सम्मको दुईखाले खर्च सहितको प्रतिवेदन तयार गरेको छ । एक वर्षकालागि सवैभन्दा बढी विद्यार्थी भएको विद्यालयमा कक्षा ५ सम्ममा बढीमा २५ लाखसम्म खर्च लाग्ने विवतरण नगरले तयार पारेको छ । यस हिसावले एक वर्षकालागि भौतिक व्यवस्थापन बाहेक २१ विद्यालयमा ५ सम्म ८५ लाख ५० हजार रकम लाग्ने विवरण निस्किएको छ । ती विद्यालयलाई कक्षा ८ सम्म निःशुल्क गर्दा भनें १ करोड ६७ लाख ३८ हजार रकम लाग्ने समेत हिसाव निकालिएको छ । माथिल्ला कक्षामा दरबन्दीको बढी समस्या हुनेगरेपनि त्यसको तुलनामा कक्षा ५ सम्ममा केही कम समस्या रहेको पाइएको छ ।


नगरले थालेको यसखाले कार्यबाट अभिभावकमा धेरै खुसी छाएको छ भनें विद्यालयहरु पनि आफ्नो कठिनाई टर्ने भएपछि उत्साहित छन् । सरस्वती मावि दमक ९ का प्रधानाध्यापक टीकाराम ढकालले भने ‘सरकारले नै ल्याएको निःशुल्क शिक्षाको कार्यक्रममा स्थानीय सरकारले यसरी व्यवस्थापन गरेर कार्यान्वयनमा लानु राम्रो कुरा हो । प्रभावकारी कार्यान्वयन होस्, हामी त्यही अपेक्षामा छौं ।’ अंग्रेजी माध्यममा पढाउने कुरा पनि समस्या नभएको दर्शाउँदै शिक्षकहरुले त्यसमा लगाव लगाउनु आवश्यक रहेको उनको बुझाई छ ।
दमक ५ स्थित दीपिनी आधारभूत विद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलाले नगरको योजनाले आफुहरुलाई उत्साहित बनाएको जनाए । नगरको परिपत्र अनुरुप आफ्नो विद्यालयमा निःशुल्क भर्ना कार्य अघि बढाएको बताए । वडा कार्यालयमार्फत दुई जना शिक्षकको तलब उपलब्ध गराउने गरेको र सटरभाडाबाट वार्षिक २ लाख उठ्ने गरेको जनाउँदै अव नगरले त्यसमा अपुग खर्च व्यवस्थापन गर्दा पठनपाठनमा सहजता थपिने बताए ।

Author

You may also like