अर्थ देश–समाज समाचार स्थानीय

स्वच्छ पानी वितरण गर्ने दमक खानेपानीको प्रतिबद्धता

दमक/ दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ३० औं वार्षिक साधारण सभाको तयारीबारे प्रतिवेदन सार्वजनिक भएको छ । विहिबार संस्थाको सभाहलमा साधारण सभाको तयारीबारे संस्थाका अध्यक्ष रवि न्यौपाने खत्रीले प्रतिवेदन प्रश्तुत गर्दै संस्थाको प्रगतिबारे जानकारी गराएका छन् ।
प्रतिवेदनमा आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण तथा आगामी वर्षका कार्यक्रमबारे जानकारी गराइएको छ । जस अनुसार उपभोक्तालाई प्रत्यक्ष राहत दिने उद्देश्यले खानेपानी महसुल दरमा भारी कटौती गर्ने निर्णय सार्वजनिक गरिएको छ भने आगामी दिनमा नगर क्षेत्रमा २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउने योजनाहरू अगाडि सारिएका छन् ।
उपभोक्ताको माग, आवश्यकता र संस्थाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै यसअघि न्यूनतम ८ युनिटसम्मको ५० रुपैयाँ रहेको महसुललाई घटाएर ४० रुपैयाँ कायम गरिएको छ भने १ युनिटको १४८ रुपैयाँ रहेको दरलाई घटाएर १०० रुपैयाँमा झारिएको प्रतिवेदनमा उल्लेख छ । १० युनिटभन्दा माथिको प्रति युनिट दरमा समेत छुट दिइएको छ । नयाँ महसुल दररेट साधारण सभा सम्पन्न भएसँगै लागू हुनेछ । यसैगरी, १२ हजार ३ सय रुपैयाँ रहेको धारा जडान शुल्कलाई समेत क्षेत्रगत आधारमा पुनरावलोकन गरिएको छ । गरिब तथा न्यून आय भएका घरपरिवारलाई लक्षित गर्दै ७ वटा धारा पूर्ण निःशुल्क, १५ वटा धारामा ५० प्रतिशत छुट र आवश्यकताका आधारमा सार्वजनिक धारा जडान गर्ने नीतिलाई निरन्तरता दिइएको छ । लामो समयदेखि बक्यौता रहेका महसुलमा असार १५ देखि ३२ गतेसम्म चुक्ता गर्ने उपभोक्तालाई जरिवानामा ५० प्रतिशत छुट दिँदा १ लाख ४४ हजार ३ सय ६३ रुपैयाँ राहत प्रदान गरिएको संस्थाले जनाएको छ ।
दमकका सबै उपभोक्तालाई मागबमोजिम नियमित पानी उपलब्ध गराउन एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोग र नेपाल सरकार, खानेपानी मन्त्रालयको समन्वयमा सञ्चालन हुने बृहत योजनाको टेन्डर प्रक्रिया सम्पन्न भइसकेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२६ डिसेम्बरभित्रै निर्माण कार्य सुरु हुने यस आयोजना अन्तर्गत मुख्य दुईवटा ४५० घनमिटरका ओभरहेड ट्यांकी, १७० किलोमिटरभन्दा बढी पाइप विस्तार, बोरिङ–फिल्टर, भल्भ च्याम्बर र कार्यालय भवनलगायतका भौतिक संरचना निर्माण गरिनेछन् जसको कुल लागत ८० करोड रुपैयाँभन्दा बढी रहेको छ । साथै, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरसँगको सहकार्यमा २ सेट प्रेसर फिल्टर, २ स्थानमा बोरिङ र २५ सय मिटर पाइप विस्तारसम्बन्धी २ करोड ७९ लाख ५६ हजार रुपैयाँ लागतको काम सम्पन्न भइसकेको विवरण पनि सभामा पेस गरिएको छ ।
स्थापनाकालदेखि हालसम्म वार्ड नं. १, २, ४, ५, ६, ७, ८ र ९ मा कुल १४,८०३ धारा जडान भइसकेका छन् । आर्थिक विवरणतर्फ, गत आर्थिक वर्ष २०८२÷०८३ मा संस्थाको कुल आम्दानी ८ करोड ३५ लाख ४५ हजार ३७८ रुपैयाँ ६९ पैसा र कुल खर्च ६ करोड ९८ लाख ३८ हजार ५३१ रुपैयाँ १ पैसा भई १ करोड ३७ लाख ६ हजार ८४७ रुपैयाँ ६८ पैसा खुद बचत भएको देखाइएको छ । हाल संस्थाको बैंक मौज्दात १६ करोड ७७ लाख २१ हजार १७५ रुपैयाँ ०४ पैसा रहेको छ ।
आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि संस्थाले १३ करोड ७८ लाख ३९ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको छ, जसमध्ये एडीबीद्वारा सञ्चालन हुने खानेपानी विस्तार योजनाका लागि सञ्चित कोषबाट ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अध्यक्ष न्यौपानेले संस्थालाई थप प्रविधिमैत्री र जनउत्तरदायी बनाउँदै उपभोक्ताको घरदैलोमा गुणस्तरीय सेवा पु¥याउन संस्था सदैव प्रतिबद्ध रहेको बताएका छन् ।
कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरु, लेखा समितिका सदस्यहरु, सल्लाहकार हरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Author

You may also like