:— यज्ञराज भट्टराई –:
देशले पटकपटक राजनीतिक ब्यवस्था परिवर्तन गर्यो तर जनताको अवस्थामा सुधार हुन सकेन । देशमा भएका राजनीतिक परिवर्तनको रसस्वादन केवल नेतृत्व र नेतृत्वका आफन्त र आसेपासेले मात्रै लगातार उपयोग र उपभोग गर्न थालेपछि नेपाली जनतामा राजनीतिक दलहरुप्रति बिगतदेखि नै बितृष्णा पैदा हुँदै २०७९ को आम निर्वाचनसम्म आईपुग्दा वैकल्पिक दलको रोजाईसम्म पुगिसकेको अवस्था छ ।
शिक्षामा राजनीति, स्वास्थ्यमा राजनीति, बिकासमा राजनीति, जताहेर्यो उतै राजनीति नै राजनीति भएपछि जनताका आधारभुत आवश्यकता समेत ओझेलमा परिसकेका छन् । जनताको दैनन्दिनी चल्न समेत नसक्ने गरि थलापेरको गाह्रो अवस्था भैसक्दा समेत देश चलाउने ड्राइभरले दह्रोसँग स्टेरिङ्ग समाउन नसकेको देख्दा दुस्ख लाग्छ ।
जनतामा नेतृत्व प्रतिको पुर्ण बिश्वास कायम रहन सक्यो र नेतृत्वमा जनताप्रति ईमानदारीताको पालुवा पलाउन सक्यो भने देश बनाउन कुनै बैदेशिक सहयोग र बैदेशिक कर्जाको लागि कसैसँग हात फैलाउन नपर्ने आफुले नेपाली जनताबाट पाठ सिकेको बताएका छन् ।
जनतालाई बिकाससँग जोडनुपर्छ, अब बिकासको मोडेल फेर्नुपर्छ, बिकासलाई राष्ट्र हितसँग जोडदै जनताको सहभागिता अनिवार्य गराउनु पर्छ भन्ने भावना राखेका डा शेखर नेपाली जनताको राजनीतिक दल र दलका नेताहरुप्रति सकारात्मक भावना जागृत गराउन सके जनतामा देश बिकासको भावना आफै पलाउछ भन्दै नेतृत्वको देश र जनता प्रतिको दृढ संकल्पले देशलाई समृद्ध र समुन्नत बनाउन सकिने आत्मविश्वास रहेको बताउँछन् ।
नेपाली जनताले नेपालको राजनीति अति सूक्ष्म तरिकाले अध्ययन गरिसकेका छन् । को पानी माथिको ओभानो छ ? भनेर राम्ररी चिनिसकेका छन् । खोलो तरिसके पछि लौरो बिर्सिने बर्तमान कांग्रेस नेतृत्वका कारण नेपाली जनताले नेपाली कांग्रेस प्रतिको अगाथ प्रेम र समर्थनप्रति ओैला उठाउन थालिसकेका छन् । भुष निफनेर चामल ननिस्कने भएपछि अहिले कांग्रेस भित्र भरिलो धानको खोजी भैरहेको छ ।
ब्यक्ति जोगाउने कि पार्टी ? बिचार जोगाउने कि ब्यभिचार जोगाउने ? आशा जगाउने कि अत्याचार ? इमान्दार जोगाउने कि तस्कर ? भन्ने बहश हुन थालेको छ । सिङ्गो पार्टी भित्र नेपाली जनतामा देखिएको अबिश्वासलाई चिर्दै बिस्वास फर्काउने कि बितृष्णा ? भन्ने बिषयमा खुल्ला छलफल शुरु भएको छ । यश महान र अशहज तर नगरी नहुने कार्यका लागि नेपाली कांग्रेस भित्र सबैको एकमत बन्दै गएको देखिन्छ । अहिलेको अवस्थामा देश बनाउने र कांग्रेस बचाउने एकमात्र बिश्वास र भरोशा योग्य नेता डा शेखर कोईराला नै हो भनेर साझा धारणा बनाउने कांग्रेस नेतृत्वको संख्या समेत बढदै गैरहेको अवस्था छ ।
नेपाली जनताहरुको एउटै चाहना छ, अब यो देशको नेतृत्व डा शेखर कोईरालाले गर्नुपर्छ । नेपालको संबिधान अहिले लाटाको धोती जस्तो जसले जसरी उपयोग गरेपनि हुने अवस्थामा पुर्याईएको छ । यसलाई सुधार र जनतालाई संविधान प्रति विश्वास जगाउनु छ । ब्यक्तिगत र दलगत स्वार्थपूर्तिका लागि देशको संविधानको गलत व्याख्या गर्न थालिएको छ । त्यसलाई बिधिसम्मत सहि ट्रयाकमा नल्याउने हो भने नेपाली जनतामा देशकै संविधान र कानुनप्रति बिश्वास र भरोसा हराउदै जाने अवस्था एकातर्फ अनि नेपाली कांग्रेसको बिधान अनुसार नचल्ने कांग्रेस नेतृत्वका बिरुद्धमा पनि लडनु पर्ने अर्को समस्या छ ।
यि दुबैको बचाउ गर्न र नेपाली जनताको राजनीति प्रतिको बितृष्णा फर्काउन डा शेखरले अब नेपाली कांग्रेस भित्र आक्रामक नेतृत्व गर्नुपर्छ भन्ने नेपाली जनताको मागलाई सम्बोधन गर्न समेत अहिले डा शेखर मात्रै एकमात्र बिश्वासपात्रका रुपमा देखिएका छन् ।
नेपाललाई एशियाकै पहिलो गरिव देश बनाउने महामहिमहरुलाई निरन्तर सत्ता सुम्पिरहने, आफू भने सधैं अभाव र महंगीले थिचिई रहने छुट अब नेपाली जनतालाई छैन । नेपाली जनताले डा. शेखर कोईरालाबाट मात्रै देशमा राजनीतिक स्थायित्व र गुणात्मक बिकासको अपेक्षा गरेका छन् । बिगतमा जसरी गिरिजाबाबुलाई अगाडि नसारी नेपालको लोकतान्त्रिक परिवर्तनको आन्दोलन अघि बढदैनथ्यो त्यसरी नै अहिले नेपाली कांग्रेसमा डा शेखर कोईरालालाई अगाडि नसारी नेपाली जनताको बिश्वास र भरोषा नरहने अवस्था सृजना भैसकेको छ । त्यसैले नेपाली राजनीतिमा देशको अवस्था सुधार्न र लोकतान्त्रिक ब्यवस्था जोगाउने एकमात्र बिकल्प भनेको डा. शेखर कोईरालाको नेतृत्वमा बृहत् लोकतान्त्रिक ध्रुवीकरण निर्माण गर्नु नै हो ।