उर्लाबारी, १३ पुस । उर्लाबारीमा बिहीबारबाट प्याब्सन स्पोर्टस मिट सुरु भएको छ । उर्लाबारी–३ स्थित प्रस्तावित उर्लाबारी रंगशालामा उर्लाबारी नगर प्याव्सनको आयोजनामा एक कार्यक्रमकाबीच उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले तीन दिने ‘प्याब्सन स्पोर्टस् मिट २०८०’ प्रतियोगिताको उद्घाटन् गरेका छन् ।
पुस १४ गतेसम्म सञ्चालन हुने स्पोर्टस् मिटमा प्याब्सनमा आवद्ध उर्लाबारीका २१ वटा विद्यालयको सहभागिता रहेको छ । स्पोर्टस् मिटमा आधारभूत तह छात्र फुटसल, १५ वर्ष मुनिका छात्र फुटबल तथा कक्षा १० सम्मका छात्र र छात्राको भलिबल प्रतियोगिता राखिएको छ । प्रतियोगिताका फुटसल बाहेकका सबै खेल उर्लाबारी–३ स्थित प्रस्तावित उर्लाबारी रंगशालामा सुरु भएको छ भने फुटसल खेल उर्लाबारी फुटसलमा भइरहेको छ ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख खरेल, वडा नं. ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता भीष्मराज बुढाथोकी, प्याब्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीको चौतर्फी विकासमा सैद्धान्तिक ज्ञानसँगै अतिरिक्त क्रियाकलापले सहयोग पुग्ने बताए ।
नगर अध्यक्ष दिनेश पोखरेलको अध्यक्षताको कार्यक्रममा पाँच सय विद्यार्थीको सहभागिता रहने र प्रतियोगिता सम्पन्न गर्न करिब तीन लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्याव्सन नगर कोषाध्यक्ष आनन्द कार्कीले बताए । प्रत्येक विधामा विजेता तथा उपविजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । वक्तृत्वकला, हिज्जे, चित्रकला, नृत्य प्रतियोगिता लगायत यसअघि नै सम्पन्न भइसकेका छन् ।
