२४ चैत्र । कोभिड १९ का कारण लकडाउन अवधिभर सरकारले घरभाडा छुट दिएर बैंकको व्याजमा चाहिँ केही प्रतिशत मात्र सहुलियत दिने भनेपछि व्यवसायीहरुले त्यसको विरोध गरेका छन् ।
दमक उद्योग वाणिज्य संघ तथा बिर्तामोड उद्योग वाणिज्य संघले यसअघि नै विज्ञप्ति निकालेर लकडाउन अवधिभरको ब्याज मिनाह गर्नका लागि सरकारसँग माग गरेका थिए ।
घर भाडामा लगाउने घरवालाले चाहिँ भाडा छाड्नुपर्ने तर बैंकले चाहिँ किन ब्याज नछाड्ने भन्ने व्यवसायीहरुले तर्क गरेका छन् ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले पनि लकडाउन अवधिभर व्यवसायीहरुले बैंकको ब्याज तिर्न नसक्ने हुँदा ब्याज मिनाह तथा लकडाउन खुल्ला भएपछि पनि व्यवसाय सुरुवातको महिना हुने भएकाले त्यस बेला पनि ब्याज र कर्जामा सहुलियत दिनुपर्ने बताएका छन् ।
दमकमा कुरियर व्यवसाय गर्दै आएका वेदप्रसाद प्रसाईले सरकारले जहिल्यै पनि व्यवसायीहरुलाई नै मारमा पार्ने गरेको गुनासो गर्दै भने–‘घरवालाले घर सित्तैमा बनाएको हुँदैन घर निर्माण गर्दा बैंकमा कर्जा लिएको हुन्छ भने बैंकलाई चाहिँ कर्जाको ब्याज तिरेर घरको भाडा कसरी छुट गर्नसक्लान् ।’ उनले थपे– ‘त्यसैले घरभाडा मिनाहासँगै बैंकको ब्याज पनि मिनाह हुनुपर्छ ।’
बिर्तामोड उद्योग वाणिज्यद्वारा जारी विज्ञप्तिमा व्यवसायीहरुका लागि ब्याज मिनाह गर्नुपर्ने बताएको छ । अर्थतन्त्रको खम्बाको रुपमा रहेको निजी क्षेत्रलाई पक्षघात हुन नदिन सरकारले व्यवसायीलाई राहत हुने प्याकेज ल्याउनुपर्ने बताएको छ । त्यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताइएको छ ।
सरकारले अटोलोन, टर्मलोन, हाउजिङ्गलोन आदि ऋणीहरुका लागि मात्र राहत हुने तर सबैखाले व्यवसायीहरुलाई राहत दिनुपर्ने बताइएको छ ।