२४ चैत्र । दमक–३, ढुकुरपानीका एकजनालाई आज सोमबार विहान क्वारेन्टाइनमा लगिएको छ ।
विदेशबाट आएका ती व्यक्तिलाई दमक–४ स्थित दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा लगिएको दमक–२ का वार्डअध्यक्ष प्रजापति सापकोटाले जानकारी दिएका छन् ।
प्रतिष्ठानको क्वारेन्टाइनमा पुराना ४ जना र नयाँ १ जना रहेको र मानसरोवर कलेजको क्वारेन्टाइनमा १ जना गरी ६ जना रहेको न.पाले जनाएको छ ।
दमक अस्पतालमा रहेको फिभर क्लिनिकमा ९ जनाको स्वास्थ्य जाँच गरिएको छ । अस्पतालमा हिजो मात्र २ जना ज्वरोको बिरामी जाँचका लागि आएकोमा उनीहरुको स्वास्थ्य अवस्था सामान रहेको दमक नगरपालिकाले जनाएको छ ।
त्यस्तै राहत पाउन छुट भएका केही परिवारका लागि हिजो नपाले ३,९५५ केजी चामल, २७५ केजी दाल, ४६० प्याकेज चिउरा, २९२ लिटर तेल, ३४६ केजी नुन, ३६६ वटा साबुन थप सामग्री दमकका वडा नं. ३, ४, ५, ८ र ९ मा वितरण गर्न पठाएको छ ।
यता नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन दमकबाट ७०० केजी चामल दमक वडा नं. २ मा छुट भएका परिवारका लागि वितरण गर्न पठाइएको छ ।
दमक वडा नं. ६ स्थित आइओएमद्वारा स्थापना भएको सुविधा सम्पन्न क्षयरोग जाँच प्रयोगशालालाई कोरोना भाइरस जाँच गर्ने प्रयोगशालाको रुपमा सञ्चालन गर्ने अनुमतिका लागि नपाले आइओएम केन्द्रीय कार्यालयलाई अनुरोध गरेको छ ।