आम नागरिकको सूचनाको हकको सम्मान र कार्यान्वयन गर्ने सरकारको दायित्व हुन्छ । तर सूचना प्रवाहको माध्यम चाँही पत्रकार र सञ्चारमाध्यम बन्छन् । एक ठाउँबाट सत्य तथ्य सूचना ल्याएर सवैका लागि प्रवाह गर्ने महत्वपूणर् जिम्मेबारी पत्रकारको रहेको हुन्छ । त्यही भएर पत्रकारले सूचना उत्पादन र वितरण गर्ने ‘सञ्चारमाध्यय’लाई अंग्रेजीकरण गरेर ‘मिडिया’ भनिने गरिएको हो ।
यो माध्यमलाई विश्वसनीय र प्रभावकारी बनाउने काममा पत्रकारहरुको एकापसको सहकार्य आवश्यक हुन्छ । अवको युग ‘सूचनाको युग’ मात्र नभएर ‘सूचना प्रविधिको युग’ बनिसक्यो । नागरिकका लागि सहज प्रविधिमार्फत सम्प्रेषित समाचारको प्रभाबकारिता रहने भयो । अर्थात प्रविधिसँग जोडिएर सूचना प्रवाहमा पत्रकारको भूमिका दिनदिनै बढिरह्यो । पहिले हातले लेखेर हुलाकमार्फत सञ्चारमाध्यममा समाचार पठाउने पत्रकार त्यसपछि टोलिफोन, फ्याक्सहुँदै मेलसम्म आइपुग्यो । त्यसभन्दा पछिल्लो प्रविधिका रुपमा एकछत्र राज गरिरहेको सामाजिक सञ्चालले सूचनाको पहुँच निकै रफ्तारमा बृद्धि गर्यो । सूचना प्रवाह गर्ने यस्ता माध्यम त कति रफ्तारमा परिवर्तन हुँदै आए ।
यी सवै दृष्य र परिदृष्यबीचमा पत्रकारहरुको व्यवसायिक एकताले सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने पक्ष उस्तै प्रभावकारी बन्नु पर्छ । अन्तरक्रियात्मक कार्यक्रममाझ माझिदै र आफ्नो कसीमा निखार ल्याउँदै सूचना उपभोग गर्ने पक्षसँग दर्विलो उपस्थिती जनाउनु महत्वपूणर् पाटो बनेको छ । आइतबार पूर्व सन्देश दैनिकले आयोजना गरेको दशै शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी झापाका पत्रकारहरु यी र यस्तै पक्षमा जोड दिएर आफुहरुबीचको एकता कसिलो बन्नुपर्नेमा एकमत भए ।
हामीले सूचना प्रवाह गर्ने नाममा अरुमाथि जबरजस्ती सूचना पो लादिरहेका छौं कि ? सूचना उपभोग गर्ने नागरिक पक्षले कस्तो सूचनाको अपेक्षा गरिरहेको छ भन्ने कुरामा बढी ख्याल गर्नुपर्ने समय आएको छ । पत्रकारको एकापसको अन्तरक्रियाबाट विश्वमा चलेको पत्रकारिताको पछिल्ला प्रयोगहरुलाई पनि पछ्याउँदै आफुले दिने खुराकलाई उपयोगी बनाउनु पर्ने अवस्था छ । यसखाले सूचनाको खेतीको चुस्तताले व्यवसायिक पत्रकारितालाई दर्विलो बनाएर जानेछ । नत्र पत्रकारहरु नै एकआपसमा बिभक्त वन्दैजाँदा कमलको शक्तिलाई निस्तेज पार्न तरबारको शक्तिले बढावा पाउन थाल्छ । आम नागरिकले पनि पत्रकारिताको सहि उपयोग गर्नका लागि पत्रकारहरुको व्यवसायिक मर्म र पत्रकारिताको धर्मलाई बुझ्दै जानु समेत जरुरी छ । किनकि अहिलेको युग सूचना प्रविधिको युग भएकाले सूचना नै संसारको शक्तिशाली चिज हो । सरकारले नीति नियम बनाउँदा होस् या आम नागरिकले धारणा बनाउँदा होस् यही पत्रकारिता क्षेत्रले पस्केका सामग्रीलाई महत्वपूणर् आधार मान्ने गरिएको छ । तर त्यस्तो दर्विलो आधार बन्नेखाले कसिलो कामका लागि पत्रकारहरुको स्वच्छ रुपमा व्यवसायिक सहकार्यको आवश्यकता छ । जसबाट पत्रकारको व्यवसायिक सबलतासँगै आम नागरिकको सत्य तथ्य सूचना प्राप्त गर्ने हकको सहि कार्यान्वयन हुन जान्छ ।