पंकज दाहाल-
दमक, १ कार्तिक-
७० वर्ष उमेर कटेका नागरिकलाई नेपालको कानूनअनुसार वरिष्ठ ज्येष्ठ नागरिक भनिन्छ । त्यसमा पनि ९० वर्षमाथिको उमेरका ज्येष्ठ नागरिक र क वर्गको अपाङ्गगता भएका गरी झापाको दमकमा ४०४ जना रहेका छन् । उनीहरु मध्ये कतिपयको अवस्था शारीरिक र मानिसक रुपले दयनीय रहेको छ भने कतिपय रोग विराम विनानै जीवन यापन गरिरहेका छन् । अहिलेको अवस्थामा ९० देखि १ सयमाथिको उमेर सम्म बाँचिरहनु भनेको नेपालीहरुका लागि अहोभाग्यको कुरा पनि भएको छ किनकि नेपालीहरुको औषत आयु ७७ वर्ष भन्दा पनि कमनै रहेको छ ।
९० देखि माथिको उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई अस्वस्थ हुँदा अस्पताल धाउन र उपचारको सेवा सुविधा लिन कष्टकरनै हुन्छ । तर झापाको दमक नगरपालिकाले गत भदौ २४ गतेदेखि घर घरमै गएर ९० वर्षमाथिको ज्येष्ठ आमा बुवाहरुलाई निःशुल्क औषधी उपचार सेवा दिँदै आएको छ । मंगलबार सम्ममा वडा नं. १, २, ३, ४ र ५ का गरी १३० जना ज्येष्ठ आमा बुवाहरुको उपचार गरिसकिएको घरदैलो अभियानमा अहोरात्र हिंडिरहेकी नगरपालिका स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी (स्टाफ नर्स) तथा कार्यक्रमकी फोकल पर्सन कमला पौडेलले जानकारी गराइन् । क वर्गको अपाङ्गता भएकाहरुमा भने १०३ जनाको घरदैलामै गएर स्वास्थ्य जाँच गरिसकिएको छ । गत भदौमा १, २ र ३ वडामा घरदैलो उपचार सेवा सम्पन्न भइसकेको छ । यही असोजमा वडा नं. ४, ५ र ६ तथा आगामी कार्तिकमा वडा नं.७, ८, ९ र १० का घर घरमै पुगेर ९० वर्षमाथिका बुवा आमाहरुको उपचार कार्य गर्ने योजना रहेको दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले बताए ।
मंगलबार मात्र नगर प्रमुख थापा, ५ नं. वडाका वडाध्यक्ष इन्द्र बहादुर गुरुङ, वडा सदस्यहरु क्रमशः गोपालकृष्ण संग्रौला, खड्ग बहादुर राई र शोभा बेलबासे खतिवडा, दमक अस्पतालका डा. परमानन्द पटेल, स्वास्थ्यकर्मी पौडेल, आधारभूत स्वास्थ्य केन्द्र दमक-५ का स्वास्थ्य सहायक धर्म रिमाल, पत्रकार लगायत बिहान ९ बजेदेखि नै ज्येष्ठ आमा बुवाहरुको निःशुल्क उपचारका लागि स्थलगत घुमाइमा निस्केका थिए । डाक्टर पटेल जहाँ जहाँ घरमा पुग्छन्, त्यहाँ भन्दै थिए- तपाईलाई साह्रो गाह्रो के छ ? पुराना रोगहरु के के छन् ? कुनै औषधीहरु खाइरहनु भएको छ कि छैन ? ’ अनि उनी ज्येष्ठ बुवा आमाहरुको मुटुको ढुकढुकी र चाल, प्रेसर नाप्थे । अन्य स्वास्थ्यकर्मीले ठाउँको ठाउँ मधुमेह (सुगर) जाँच गर्थे । सन्चो विसन्चो सोध्थे । स्वास्थ्यकर्मी कमला पौडेल ज्येष्ठ बुवा आमाहरुको नाम, उमेर, ठेगाना, परिवारका जिम्मेवार हेरचाहकर्ता सदस्यको नाम र मोबाइल नम्बर सोध्दै अभिलेख राख्थिन् । यो सेवा कार्य चालू आर्थिक वर्ष भरिनै हुने नगर प्रमुख थापाले पूर्वसन्देशकर्मीलाई बताए ।
यो अभियानमा ज्येष्ठ बुवा आमा मात्र होइन, क वर्गको अपाङ्गगता भएकाहरुलाई पनि घर घरमै गएर उपचार भइरहेको छ । डाक्टर, नर्स, स्वास्थ्य सहायक, लगायतको स्वास्थ्यकर्मीको टोलीले सम्बन्धित ज्येष्ठ बुवा आमाहरुलाई आदरपूर्वक ‘नमस्कार’ भनेर घर घरमै सेवा गर्न पाउँदा आपूmहरुलाई गौरव लागेको उनीहरुको अनुभव र अनुभूति छ । स्थलगत सेवा कार्यमा निस्केका डा.पटेलले रोग लागेपनि अब जीवनको अन्तिम अवस्थामा के अस्पताल जानु भनेर बसिरहेका ज्येष्ठ बुवा आमाहरुलाई घरमै पुगेर उपचार गर्ने कार्यले आफूलाई खुशी र आनन्द मिलेको सुनाए । स्वास्थ्यकर्मी कमला पौडेलले यसरी रोगी बिरामीहरुको उपचार गर्न पाउँदा ज्येष्ठ नागरिक आमा बुवाहरुको आशिर्वाद मिल्ने र यस्तो सेवा गर्ने पुण्य कार्यमा सहभागी हुँन पाउँदा मननै आनन्दित भएको बताइन् ।
मंगलबार दमक-५ का ९१ वर्षीय नन्द सिंह बुढाथोकी, वयोवृद्ध डम्बर बहादुर थापा र रोमादेवी थापा, ९१ वर्षीया जगमाया सापकोटा, ९० वर्षीया रनमाया पाठक लगायत गरी २० जनाको घर घरमै गएर स्वास्थ्य जाँच गरियो । स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोली मंगलबार दिनभरिनै वडा नं. ५ का टोल टोलमा पुगेर सो अभियानमा सरिक भयो । मत माग्न घर दैलो गरेका जनप्रतिनिधिहरु भने ज्येष्ठ आमा बुवालाई स्वास्थ्य जाँच गर्न फेर सम्बन्धित मतदाताहरुको घर आँगन पुग्दा खुशी महशूस गरिरहेका थिए । ५ नं. वडाका वडाध्यक्ष इन्द्र बहादुर गुरुङ आफूहरुलाई भोट दिएका ज्येष्ठ नागरिक तथा अपाङ्गगता भएकाहरुको सेवामा खटिन पाउँदा वास्तवमै जनप्रतिनिधि भएको महशूस भइको बताइरहेका थिए । त्यस अवसरमा १० वर्षअघि घर बनाउँदा छतबाट खसेर स्पाइनल इन्जुरीको समस्या भएका नविन कार्कीको पनि स्वास्थ्य जाँच गरिएको थियो ।
यता आफ्ना वृद्ध आमा बुवाहरुको स्वास्थ्य जाँच गर्दै घरमै आइपुगेका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीलाई देखेर परिवारका सदस्यहरुले खुसी लागेको बताए । ९१ वर्षीया जगमाया सापकोटाका छोरा खोमनाथ सापकोटाले नगरपालिको यसरी घर घरमै स्वास्थ्य जाँच गर्ने, निःशुल्क औषधी दिने कार्य थालनी गरेकोमा अत्यन्तै खुशी लागेको बताए । खासगरी अति वृद्ध अवस्थामा पुगेका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई अस्पतालमा हुने भिडभाड साथै शारीरिक कमजोरीका कारण पुर्याउन गाह्रो हुने गर्दछ । तर नगर प्रमुख थापाले भने कुनै समस्या भए नगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको र खबर गरेर दमक अस्पताल आएमा विशेष प्राथमिकताका साथ लाइन नलागनीकन चाँडै उपचार सेवा दिइने जानकारी समेत सम्बन्धित परिवारका सदस्यहरुलाई गराए । साथै उनले प्रत्येक ३ महिनामा अहिले स्वास्थ्य जाँच गरेका बुवा आमा र अपाङ्गता भएकाहरुको उपचारका लागि घरदैलो गरिने पनि जानकारी गराए ।
यो अभियानबाट असहाय र अशक्त अवस्थामा रहेको ज्येष्ठ आमा बुवाहरुलाई भने ठूलो राहत मिलेको स्वास्थ्यकर्मी पौडेलले बताइन् । उनले कतिपय ठाउँका आर्थिक अवस्था अति विपन्न भएका ज्येष्ठ आमा बुवाहरुलाई ५० किलोग्राम चामल र दाल समेत राहत स्वरुप उपलब्ध गराइएको जानकारी गराइन् । धेरैजसो अस्पतालमा बसेर कोठामा उपचार गर्ने बानी परेपनि फिल्ड भिजिटमा घरमै गएर वृद्ध बुवा आमाहरुको स्वास्थ्य जाँच र उपचार गर्ने अभियान नौलो अभ्यासका रुपमा प्रभावकारी भइरहेको र प्रतिक्रिया पनि सकारात्मक पाएको डा. पटेल र स्वास्थ्यकर्मी पौडेलको भनाई छ । नगर प्रमुख थापाले भने ज्येष्ठ बुवा आमाहरुलाई हिंड्डुल गर्न सजिलो होस् भनेर लौरो समेत उपलब्ध गराउँदै आएका छन् । साथै स्वास्थ्य जाँच गरेकै ठाउँमा कतिपय औषधीहरु निः शुल्क वितरण गरिएको छ भने स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पाउने औषधीहरु दमक अस्पतालमा निःशुल्क पाउने भएकाले सो सुविधा उपभोग गर्न परिवारका सदस्यहरुलाई सल्लाह सुझाव समेत दिइँदै आएको छ ।