:– संयोग खतिवडा –:
दमक/ शारीरिक अवस्थालाई चुनौती दिँदै २३ वर्षदेखि शिलालेखको कामः झापा दमकका ३१ वर्षीय मुकेश सन्तराजको दाहिने हात र देब्रे खुट्टाको आधा भाग मात्र चल्छ । तर, यही अवस्थालाई चुनौती दिँदै उनले विगत २३ वर्षदेखि आफ्नो सीप र मेहनतलाई निरन्तरता दिइरहेका छन् । दमकको हनुमान मन्दिरनजिकै रहेको ‘मुकेश शिलालेख’बाट उनले शिलालेख, जाँतो, सिलौटो, लोहोरो, नेमप्लेट, स्मारक तथा मायाको चिनोलगायतका सामग्री बनाउने गरेका छन् ।
मुकेशको यो यात्रा परम्परागत ढुंगा कुँद्ने कामबाट सुरु भएको हो । सुरुवाती दिनमा उनले ढुंगा कुँदेर जातो, सिलौटो र लोहोरो बनाउने काम गर्दै आएका थिए । समय प्रविधिसँगै परिवर्तन भयो र उनले पनि आफ्नो कामलाई प्रविधिसँग जोड्दै लगे । अहिले उनले आफैं कम्प्युटरमा डिजाइन तयार गर्छन् र करिब २–३ वर्षदेखि मार्बलमा अक्षर तथा डिजाइन खोप्ने मेसिनसमेत प्रयोग गर्दै आएका हुन । यसरी हातले ढुंगा कुँदेर सुरु भएको उनको २३ वर्षे यात्रा अहिले कम्प्युटर डिजाइन र आधुनिक प्रविधिसम्म आइपुगेको छ ।
शारीरिक चुनौतीका बाबजुद आफ्नो काममा निरन्तर लागिरहेका मुकेश अहिले यही व्यवसायबाट आफ्नो परिवार चलाइरहेका छन । उनी विवाहित हुन । उनका एक छोरा तथा एक छोरी छन् । आफ्नो शारीरिक अवस्थालाई कामको बाधक बन्न नदिई सीपलाई नै आफ्नो आधार बनाउँदै उनले वर्षौंदेखि व्यवसायलाई निरन्तरता दिइरहेका छन । आफू मात्र स्वरोजगार बन्ने होइन, आफ्नो व्यवसायमार्फत अरूलाई समेत कामको अवसर दिन सक्नु उनको यात्राको अर्को महत्वपूर्ण पक्ष हो ।
ढुंगा कुटेर सुरु गरेको कामलाई समयअनुसार परिवर्तन गर्दै कम्प्युटर र मेसिनसम्म ल्याएका मुकेशको कथा केवल संघर्षको कथा होइन, आफूले जानेको सीपलाई समयसँगै परिमार्जन गर्दै आत्मनिर्भर बन्ने यात्राको कथा पनि हो । शारीरिक अवस्थाले सीमितता ल्याए पनि मेहनत, सीप र निरन्तरताले आफ्नो बाटो आफैं बनाउन सकिन्छ भन्ने उदाहरण उनको २३ वर्षको व्यवसायिक यात्राले देखाउँछ ।
अहिले उनको श्रृजना र कला दमक र आसपासका सहरका प्रत्येकजसो घरहरुमा सजिएका छन् भने सहकारीका हरेक कार्यक्रमहरुमा उनले तयार गरेको मायाको चिनोले स्पेस पाएको देखिन्छ ।