: – श्वेता घिमिरे –:
दमक एउटा यस्तो शहर जसले पछिल्लो वर्षमा देशलाई निक्कै ठुलो मोडमा लिएर आयो अनि अपत्यारिलो ढंगले नेपालको राजनीतिक भविष्य नै परिवर्तन गरिदियो । यसमा दमकबासी, हामीलाइ इतिहासले कसरी जोख्ने छ हो त्यो हेर्न बाँकि नै छ । तर दमकलाइ केलाएर हेर्ने हो भने प्रचुर सम्भावना बोकेको सहर भन्दा गलत नहोला ।
दमक अनेक जात–जातिको बसोबास भएको साझा फुलबारी हो  । दमक मावा खोलादेखि रतुवा खोलासम्म फैलिएको छ । चुरे पहाडले सजाएको जस्तो देखिन्छ । दमक । देशको र कम्तिमा तराइ क्षेत्रको सबै भन्दा ठुलो र पुरानो सहरी केन्द्रहरु मध्य एक हो । दमकको अधिकांश बाहिरी भूभाग निकै उर्वर र कृषि कार्यका लागि समर्पित छ, जबकि यसको मुख्य सहरी क्षेत्र महेन्द्र राजमार्गले विभाजित गरेको व्यापारिक तथा आवासीय केन्द्रका रूपमा तीव्र गतिमा विस्तार भइरहेको छ । सम्भावनै सम्भावना बोकेको यो सुन्दर सहरमा केहि चुनौती हरु पनि छन् ।
यो सहरले आफ्नो सिमाना, ठुलो र विकसित देश भारतसंग जोडेको त छ जसबाट प्रचुर लाभ उठाउन सकिन्छ, तर गम्भीर मुद्धाहरु पनि छन्, जसको समाधान निकाल्न अत्यावस्यक छ ।
भारतसँगको खुला सीमानाको निकटता र स्थानीय स्तरमा हुने औषधिजन्य पदार्थको तस्करीका कारण दमक तथा समग्र झापा जिल्लामा लागुपदार्थको दुव्र्यसन र ओसारपसार गम्भीर चिन्ताको विषय बनेको छ । योसंगै वर्षाको समयमा पानी निकास प्रणाली र सडकको कमजोर योजनाका कारण बारम्बार जलमग्न हुने तथा घुँडासम्म डुबान हुने समस्या देखिन्छ, जसले विशेष गरी वडा नं. ७ (पशुहाट) जस्ता क्षेत्रहरूलाई प्रभावित पार्छ । तीव्र सहरीकरण र ग्रामीण क्षेत्रबाट सहरतर्फको बसाइँसराइले स्थानीय स्रोतसाधनमा चाप बढाएको छ, यसका कारण विस्तारित सडक सञ्जाल, स्वच्छ खानेपानीको पहुँच र उचित ढल निकासको व्यवस्थापनका लागि आवश्यक नगरपालिकाको वित्तीय स्रोतमा अभाव सिर्जना भएको छ ।
अहिले देखिदै गएको अर्को चुनौती छ दमक भ्यू टावरजस्ता ठूला पूर्वाधार आयोजनाहरू संघीय तथा स्थानीय तहबीच योजना तर्जुमा र बजेट विनियोजनमा समन्वयको अभावका कारण सञ्चालन तथा व्यवस्थापनसम्बन्धी संकटको सामना गरिरहेका छन् । वातावरण र वन्यजन्तुसम्बन्धी द्वन्द्वको रूपमा देखा परेको जटिल चुनौती हो सीमावर्ती वडा (जस्तै वडा नं. २ र ३) जसका बस्तीहरूमा नजिकैको हम्सेदुम्से सामुदायिक वनबाट आउने जङ्गली हात्तीहरूको बारम्बार प्रवेश, जसका कारण बालीनालीको क्षति तथा मानवीय क्षति हुने गरेको छ । तीव्र व्यावसायिक विस्तार, अपर्याप्त प्रशोधन पूर्वाधार र फोहोर संकलन कार्यलाई लिएर समुदायमा कहिलेकाहीँ देखिने मतभेदका कारण नगरपालिकाको ठोस फोहोर व्यवस्थापन निरन्तर चुनौतीको विषय बनेको छ ।
अत्यन्त महत्वपूर्ण विषय हो सुकुम्बासी बस्ती र बस्ति बासिलाइ दिन पर्ने न्याय । विभिन्न वडा (वडा नं. १, ७, १३ र १४ लगायत) मा रहेका हजारौंको संख्यामा रहेका अनौपचारिक वा प्रमाणीकरण नभएका भूमिहीन बसोबासीहरू जसले गर्दा , जग्गा खाली गराउनेसम्बन्धी केन्द्रीय निर्देशन र स्थानीय नगरपालिकाको दर्ता प्रयासहरूबीच निरन्तर द्वन्द्व वा मतभेद सिर्जना भइरहेको छ र साथै भूमिहीन बासीहरु सधै डर त्रासमा बस्नु पर्ने बाध्यता सिर्जना भएको छ ।
यी सबै चुनौतीहरूले गर्दा दमकमा एउटा एस्तो व्यक्तित्वको खाचो सिर्जना भएको छ जसले स्थानीय तह, प्रादेशिक तह र केन्द्र सरकारसंग सहकार्य गर्दै कम्तिमा पनि ५ वर्षे अल्पकालीन योजना बनाएर दमक र दमक बासिलाइ एक नमुना सहरका रूपमा प्रस्तुत गर्न सकोस । अब यसमा मुख्य भूमिकामा देखिन्छ ।
युवा जागरण संगै, दमकको अनुभवी व्यक्तित्वहरु संगको छलफल र निचोडले नै दमक अगाडी बढ्न सक्छ । यसका मुख्य सम्भावना भनेको ५ वर्षे अल्पकालीन आयोजना र ‘पिरियोडिक’ आवधिक समीक्षा हो । जस अन्तर्गत पहिलो प्राथमिकता हो दमकलाई विश्वसंग जोड्ने । हाम्रो अनेक जात–जातिको पहिचान, पहिरन, भाषा, फरक भेष–भुषा, मठ–मन्दिर, विशेष महत्वपूर्ण ठाउँहरू र यहाँको कृषिजन्य मलिलो माटो भएको जमिन र यहाँ फल्ने खाद्यान्य, खनिज र वोट विरुवाले हामीलाई विश्वमाझ चिनाउन बेजोड मद्धत गर्ने छ । त्यसकारण दमकलाइ पर्यटन केन्द्र बनाएर अगाडी बढाउन अत्यन्तै जरुरी छ ।
यो संगै आउछ ‘दुव्र्यसनी मुक्त दमक’ । यो एउटा पेचिलो चुनौती बन्दै गएको छ युवा माझ । ‘दुव्र्यसनी मुक्त दमक’ निर्माणका लागि युवा आफै सचेत हुन जरुरी छ । सचेतानात्मक कार्यक्रमहरु जसले ‘ड्रग अब्युज’ का घटनालाइ स्पस्ट ढंगले दर्साउन साथै मनोरञ्जनात्मक र उत्पादनमूलक कार्यक्रमहरु युवामाझ ल्याउन जरुरी छ । संगीत नेपालको र विश्वकै आत्मा हो । संगीत र सांगीतिक कार्यक्रमहरु युवा माझ ल्याउने, खेलकुद–जिम–व्यायमलाई प्रोत्साहन गर्ने, चलचित्र उत्पादन–सिर्जना–विकास गर्ने जस्ता सिर्जनात्मक विषयहरु दमकमा छिटो भन्दा छिटो लागु गर्नपर्छ ।
विकसित सहरहरु झै दमकले पनि आफ्नो भाग्य आफै कोर्नपर्छ, अन्याय दमकमा भएको छ भने न्याय पनि दमकमै पाउन पर्छ । यो सम्भव हुन्छ जब दमक आर्थिक रूपमा कसिलो बन्छ । आर्थिक रुपान्तरणका लागि पहिलो छाल हो गरिबी निर्मूलन । यसका लागि स्थानीय तहले केन्द्र सरकार संग पहल गरेर अस्पताल, आपतकालीन एम्बुलेन्स, दमकल सेवा, गुणस्तरीय विद्यालय र विश्वविद्यायालयको निर्माण, सहरीकरण व्यवस्थापन, भूमिहीन सुकुम्वासी व्यवस्थापन, गुणस्तरीय होटेल, पार्क, पर्यटक र त्यसको व्यवस्थापन, फोहोर व्यवस्थापन, र दमकको औद्योगिकीकरण अत्यन्त आवस्यक छ ।
दमकलाइ अघि बढाउन मात्र चाहिएको छ एउटा दृष्टिकोण, योजना, योजनालाई यथार्तमा बदल्न सक्ने उर्जा, दमकलाई माया गर्ने सक्षम व्यक्ति जसले दमकका चुनौतीलाइ आत्मसाथ गरेर यो ठाउँका प्रचुर सम्भावनालाई अर्थपूर्ण विकास र सुनौलो भविष्यको लागि अगाडी बढाउन सकोस् ।

Author

You may also like