देश–समाज राष्ट्रिय लेख शिक्षा

सामुदायिक विद्यालय सुधारका चुनौतीहरु

रमेश गुरागाई


सामुदायिक विद्यालयप्रति कुनै समय बढ्दो वितृष्णा आजकाल बदलिएको छ । यस सन्दर्भमा अभिभावकहरुमा विशेषतः दुई किसिमका दृष्टिकोण विकास भएका छन् । एउटा उही पुरानै दृष्टिकोण छ, सामुदायिक विद्यालयले आजको आवश्यकताअनुसार नानीबाबुहरुलाई उपयुक्त शिक्षा दिनै सक्दैनन् । अर्को नयाँ दृष्टिकोण भनेको केही सामुदायिक विद्यालयले गर्न सक्छन् तर सबैले सक्दैनन् भन्ने हो । जसलाई अझ सरल तरिकाले उल्लेख गर्दा गर्ने विद्यालयले सक्छन् र नगर्नेले सक्दैनन् भन्ने हो ।
सरकारको योजनाअनुसार सुधारका प्रयास थाल्ने हो भने देशैभरि सबै सामुदायिक विद्यालयप्रति विश्वास पैदा हुन्छ । तर, विभिन्न तह र तप्काबाट खासखास विद्यालय सुधारका प्रयत्न भइरहेकाले सबै विद्यालय सुधार हुन नसकेको वा विश्वास पैदा हुन नसकेको हो । यस आलेखमा सुधारोन्मुख सामुदायिक विद्यालयका चुनौतीबारे चर्चा गर्न खोजिएको छ ।
१. भौतिक र शैक्षिक पूर्वाधार
नेपालका सबै सामुदायिक विद्यालयमा पर्याप्त कक्षाकोठा समेत छैनन् । कुनै समय रुखको छहारी र छाप्रोभित्र पनि पढेको भन्ने तर्क आजको समयमा काम लाग्दैन । शौचालयको सुव्यवस्था सहज छैन । शौचालय भएका विद्यालयमा धारा र पानीको व्यवस्था नहुँदा हुनु र नहुनु एउटै अवस्था छ । साना नानीहरुलाई खेल्ने र सुताउने, खाजा खुवाउने, सामूहिक प्रस्तुति गर्ने छुट्टाछुट्टै ठाउँ व्यवस्था गर्न नसक्दा अभिभावक र विद्यार्थी स्वयम् विद्यालय रुचाउँदैनन् । जस्ताका छाना हिउँदमा शीत चुहिने, गर्मीमा तात्ने र वर्षामा पानी चुहिने समस्याग्रस्त छन् । खेलमैदान समेत राम्रो अवस्थामा राख्न ध्यान नपुगेको हुन सक्छ । पुस्तकालय, प्रयोगशाला, सूचना प्रविधिका लागि सामाग्री र कक्षाकोठा नहुँदा पूर्वाधार पूर्ण हुन सक्दैन ।
यसका लागि बजेट सुनिश्चित नहुँदा विश्वास जित्न नसकिएको हो । भएको बजेटको समुचित प्रयोगमा ध्यान दिन सकिएको छैन । बरु ‘जसको शक्ति उसको पूजा’ जस्तो भइरहेको छ । कतिपय ठाउँमा सटर बनाउँदै विद्यालयले व्यवसाय अभिवृद्धि गर्न मद्दत गर्न खोजेका छन् । त्यसो गर्न नसक्ने विद्यालय ‘पुर्पुरोमा हात’ राखेर बस्नु परेको छ । सबै तहका सरकार र विभिन्न निकायले आवश्यक समन्वयसहित पूर्वाधारमा पर्याप्त र समुचित बजेट व्यवस्था नगर्ने हो भने केही विद्यालय बन्ने र धेरै समाप्त हुने दिशामै जाने निश्चित हुन्छ ।
२. शिक्षण व्यवस्था
शिक्षक र शिक्षण पद्धतिमा आमूल परिवर्तन अपरिहार्य छ, जसले आमरुपमा अपेक्षित दिशा र गति पक्रिन सकेको छैन । राम्रो गर्ने अपवाद जस्तो छ । मूलतः पठन संस्कृतिको अभाव, अङ्ग्रेजी भाषामा कमजोरी, बालबालिकाको मनोविज्ञानमा दक्षताको अभाव, रुखो बोली, विशुद्ध जागिरे मानसिकता, ठगठाग र अल्छे प्रवृत्ति शिक्षकमा देखिँदासम्म सुधार असम्भव नै हुन्छ । खेल र परियोजना एवम् प्रयोगात्मक कार्यमा आधारित शिक्षण विधि प्रयोग गर्न रचनात्मक गुण र पर्याप्त तयारी पूर्वशर्त नै हुन् । जसको अभावमा विद्यार्थीको मूल्याङ्कन सही हुन सक्दैन र परिणाम पनि राम्रो आउँदैन ।
कुनैकुनै ससाना विषयले समेत अविश्वास सिर्जना गरेका छन् । अभिभावकले विद्यार्थीलाई धेरै गृहकार्यको अपेक्षा गर्छन् । परीक्षामा धेरै अङ्क वा ग्रेड चाहन्छन् । जुन वास्तवमा पठनपाठनमा सही र वैज्ञानिक होइन । अभिभावकले खोजेका विषय पनि बेवास्ता गर्ने र गर्नुपर्ने विषय पनि छुटाउने अहिलेको मुख्य समस्या हो । अतिरिक्त कृयाकलाप, विद्यार्थीको सरसफाइ, नियमित उपस्थिति, विद्यालय र कक्षाकोठामा उचित रेखदेख, गृहकार्यको नियमित परीक्षण जस्ता काममा अभिभावकको चासो हुन्छ । जसले शिक्षकको सकृयता माग गर्दछ ।
३. अभिभावक र समुदायको चासो
सामुदायिक विद्यालय सुधारका लागि भित्र वा बाहिरबाट भइरहेका प्रयास सम्बन्धमा स्थानीय अभिभावक र समुदाय बेखबर वा उदासिन हुने समस्या पनि चानचुने होइन । सामुदायिक विद्यालय नजिक वरिपरिका विद्यार्थीको पठनपाठन सेवाका लागि स्थापित भएका हुन् भन्ने तथ्य भुल्नु विडम्बना हो । आप्mना नानीहरुको पढाइमा सम्झौता गर्नुपर्छ भन्ने आशय सही होइन तर सुधार र सहभागिता सँगसँगै अघि बढाउनु नै सबैभन्दा उचित हुन्छ ।
आर्थिक अभाव टार्न अभिभावक र समुदाय पछि हट्नु हुँदैन । संविधानमा निःशुल्क शिक्षा व्यवस्थित छ तर सरकारले पर्याप्त व्यवस्था नगर्दा अभिभावक र समुदाय अघि नसर्ने हो भने विद्यालय शिक्षाकै कारण आर्थिक मारमा निरन्तर परिरहने अवस्था हुन्छ । यसमा आफ्नो स्वयम् कमजोरी रह्यो भन्ने आत्मसात गर्न सक्नुपर्छ । भविष्यमा यसलाई रोक्ने उपाय भनेको सामुदायिक विद्यालयको सुधार र विकास नै हो ।
उल्लेखित विषयका अलावा अध्ययनरत विद्यार्थीको परिवारको आधारभूत आवश्यकता परिपूर्ति गर्न नसक्ने आर्थिक विपन्नता सामुदायिक विद्यालय सुधारका चुनौतीमध्ये प्रमुख हो । शारीरिक तन्दुरुस्तीबेगर मानसिक श्रम सहज हुन्न । त्यसैले बिहानबेलुका छाक टार्न मुश्किल हुने परिवारबाट आएका विद्यार्थीलाई पढाइमा मेहनत गराउन र परीक्षाफलमा सुधार ल्याउन समस्या हुन्छ ।
विद्यार्थीले पुस्तक, कापीकलम जस्ता पाठ्यसमाग्री जुटाउन र विद्यालयमा विभिन्न मौसमअनुसार प्रयोग गर्नुपर्ने पोशाक र जुत्ता व्यवस्था गर्न नसक्दा पढाइमा प्रत्यक्ष असर पुग्छ । त्यसबाट विद्यार्थीमा उत्पन्न हुने बाल मनोवैज्ञानिक असर र हिनताबोधले झन् समस्या ल्याइरहेको हुन्छ । त्यसैले जबसम्म सरकार र सम्ब्न्धित निकाय जिम्मेवारीसहित अघि आउँदैन, तबसम्म सामुदायिक विद्यालय सुधारका लागि प्रभावकारी पहल जारी राख्ने काम चुनौतीरहित छैन ।

Author

You may also like