देश–समाज मुख्य राजनीति स्थानीय

कांग्रेस फुट्दैन र फुट्नु पनि हुँदैन : शेरबहादुर भट्टराई, नेता, नेका

दमकका सक्रिय सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्वको रुपमा परिचित नाम हो शेरबहादुर भट्टराई । उहाँ २०२६ सालदेखि स्थायी रुपमा दमकमा बसोबास गदै आउनु भएको छ । २०४० देखि २०४४ सम्म दमकस्थित हिमाविको अध्यक्ष, २०४० सालमा दिपिनि विद्यालय ब्यवस्थापन समितिको संस्थापक अध्यक्ष, मेची बोर्डिङ स्कूलका संस्थापक, भट्टराई कूलवंश प्रतिष्ठानको संस्थापक केन्द्रिय अध्यक्ष, पूर्व शिक्षक तथा निजीस्तरबाट खोलिएको दमकको लाइफलाइन अस्पतालका संस्थापक अध्यक्ष, २०३२ देखि २०३९ सम्म अरनिको प्रअ, त्यसैगरी एडभान्स अस्पतालका संस्थापक अध्यक्ष जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नु भएका भट्टराईको सामाजिकसंगै राजनीतिक क्षेत्रमा पनि सक्रिय योगदान रहँदै आएको छ ।
२०३६ सालबाट राजनीतिमा आवद्ध रहि २०४० को नगर पञ्चायतमा क्रियाशिल सदस्य हुँदै नेपाली काँग्रेस दमक नगर सभापति, झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापति तथा महासमिति सदस्य भई पार्टी संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरी हाल झापा जिल्ला उपसभापतिको जिम्मेवारीमा रहनुभएका सालिन र भद्र स्वभावका नेता भट्टराईसँग नेपाली काँग्रेसको वर्तमान अवस्था र झापामा पार्टीको गतिविधिका विषयमा केन्द्रित रहेर पूर्वसन्देश दैनिककालागि गरिएको कुराकानीः

— नेपाली काँग्रेस फुटेको हो ?
यही अवस्थालाई फुटेको भन्न त मिल्दैन । अहिले आन्तरिक बहस भइरहेको छ । देशभरबाट सुझाव संकलन भइरहेको छ । पार्टीमा धेरै पुराना नेताहरु हुनुहुन्छ, उहाँहरुको ब्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि हो । नेतृत्वले मनन गरेर पार्टी फुट्नबाट रोक्नुपर्छ ।
— पछिल्लो समय पार्टी विभाजनको संघारमा पुगेको छ, केन्द्रमा नेताहरु अर्को पार्टी बनाउने कसरतमा छन्, कार्यक्रम नै भिन्ना भिन्नै भइरहेका छन्, यसलाई कसरी बुझ्ने त ?
पार्टीमा गुट भनेको आफ्से आफ बन्ने कुरा रहेछ । काँग्रेमा पहिला पनि विभाजन र एकताका श्रृखला नभएको होइन, यो सबैले देखेकै कुरा हो । तर विभाजनले सहि ठाउँमा पुर्याउँदैन । पुराना पुस्ताका नेताहरुलाई सम्मानित नेताको रुपमा स्थान दिनुपर्छ । उहाँहरुको योगदानको पनि सम्मान गर्नुपर्छ । पुराना र नयाँ मिलेर नै पार्टी एकढिक्का भएर अघि बढ्नुपर्छ । आम जनताले काँग्रेस फुटेको हेर्न चाहँदैनन् ।
— आफ्नो कार्यकालको काम र पार्टी गतिविधि स्मरण गर्नुपर्दा के भन्नुहुन्छ ?
मेरै सक्रियता र मेरै कार्यकालमा नै कांग्रेस दमक र क्षेत्रीय समितिका भवनहरुको निर्माण भएका हुन् । पार्टी कार्यालय भवन निर्माणका लागि जग्गादातासंग कुराकानी गरेर व्यवस्थापन गरियो । मेरै कार्यकालमा तेपागाछी र धरमपुरमा गाउँ पार्टी कार्यालय भवन निर्माण शुरु भए, आर्थिक पारदर्शीताका लागि म आफू सभापति छँदा भवन निर्माणका लागि छुट्टै निर्माण समिति गठन गरिएको थियो भवन निर्माणमा संयोजक रहेर काम गर्नुहुने स्व. भानुभक्त सुवेदीलाई म यतिबेला पनि स्मरण गर्न चाहन्छु ।
— पार्टी रुपान्तरण र पुस्तान्तरणको प्रश्न तलैसम्म उठेको छ, यो सवालमा के भन्नुहुन्छ ?
पछिल्लो समय पार्टीको क्षेत्रीय प्रतिनिधि, वडा सभापतिहरु ८० प्रतिशत जति नयाँ पुस्ताका आउनु भएको छ , उहाँहरु सबैको सक्रिय भूमिका छ । जहाँसम्म पार्टीमा पुस्तान्तरण र रुपान्तरणको कुरा छ , पुस्तान्तरण भनेको प्राकृतिक रुपमानै स्वत हुँदै जाने कुरा हो, रुपान्तरण भनेको नेतृत्वमा परिवर्तन हो, आचरण र हाम्रा सैलीमा परिवर्तन हो, जो अहिले भइरहेको छ । निश्छल र निस्वार्थ भावनाले पार्टीमा काम गर्नुपर्छ, सबैले आचरण र सैली सुधार्नु आवश्यक छ । पार्टीभित्रपनि हामीले यही भनिरहेका छौं ।
— प्रतिपक्षमा रहेका दलहरु एकै ठाउँमा उभिनुपर्ने कुरा पनि उठिरहेको छ, के सरकारविरुद्ध सबै दलहरुले मोर्चाबन्दी गर्नुपर्ने बेला आएको हो ?
त्यो बेला आएको छैन । अहिले दुइतिहाइको जनअनुमोदित सरकार छ । यसका सकारात्मक कदमहरुलाई सबैले साथ दिएर गलत कदम चालिए खवरदारी गर्नुपर्छ । तर सरकार भत्काइहाल्नुपर्छ भन्ने होइन । सरकारले पनि अडान लिएर काम गर्नुपर्छ । आज कर लगाउने, भोली ए.. विरोध पो भयो भनेर फिर्ता लिने जस्ता अपरिपक्व र जनभावना विपरितका कच्चा निर्णय गर्नु हुँदैन । बहुमत छ भन्दैमा दम्भ देखाउनु पनि हुँदैन । मुलुकलाई अहिले निकास चाहिएको छ ।
— स्थानीय चुनाव आउँदैछ नि, तपाईको इच्छा पालिकाको नेतृत्व लिने हो ?
आन्तरिक इच्छा त छँदैछ तर पार्टीभित्र छलफल भएको छैन । अबको संरचना र चुनावी स्वरुप कस्तो बन्छ, त्यो पनि हेर्नुपर्छ । कथाले माग्यो भने स्थानीय चुनाव लड्नुपनि पर्छ । राजनीतिमा लागिसकेपछि नेतृत्वमा जाँने, समाजसेवा गर्ने, चुनाव लड्ने इच्छा सबैसँग हुन्छ, मसँग नहुने भन्ने हुँदैन । पार्टीलेपनि मेरो योगदानको मुल्यांकन गर्ला नि ।
— नेपाली काँग्रेस झापा जिल्ला समितिका गतिविधि र तत्कालिन कार्ययोजना चाहीँ के छन् त ?
हामी अहिले सदस्य फारम भर्ने काम गरिरहेका छौं, डिजिटलाइज अध्यावधिक भइरहेको छ । १५ वटै पालिकामा यो काम लगभग सकिएको छ । यो सँगै आन्तरिक बहस, औपचारिक कार्यक्रम, छलफल र कार्यकर्ता भेटघाटका काम भइरहेका छन् ।
— पछिल्लो पुस्तालाई के सुझाव दिनुहुन्छ ?
राजनीति अनुभवहरुको संगालो हो । पुराना पुस्ताका नेताहरुलाई सम्मान गर्दै नयाँ पुस्ताले राजनीति हाँक्नुपर्छ । विभाजनले सहि ठाउँमा पु¥याउन सक्दैन । एकिकृत भएर काँग्रेस अघि बढ्नुपर्छ । पुरानाको अनुभव पनि लिने र नयाँ सोच र चिन्तनबाट मुलुकको समग्र विकास सम्भव छ ।
– प्रस्तुति : विमल लामिछाने

Author

You may also like