देश–समाज राजनीति

प्रदेश एकमा एकैदिन देउवा र ओली

दमक/ प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली एकैदिन आइतवार प्रदेश एकमा प्रवेश गरे । पार्टीको आन्तरिक कार्यक्रम र कार्यकर्ता भेटघाटलाई प्राथमिकतामा राखेर प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले एकैदिन पूर्वी जिल्ला केन्द्रित हुनुले राजनीतिक बृत्तमा नयाँ चर्चा पाएको छ ।

दुबै नेताहरुले पार्टीको आन्तरिक योजनामा आएको बताएपनि सामुहिक कार्यक्रमलाई सम्बोधन गरेका छन् । आइतवार प्रदेश नम्बर–१ का विभिन्न जिल्ला पुगेका प्रधानमन्त्री देउवाले तत्काल अस्थायी उपाय अपनाउँदै पीडितहरूको उद्धार र राहत वितरणमा ध्यान दिइने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो पिडितलाई स्थायी ब्यवस्थापन गर्ने बताएका छन् । बेमौसममा आएको बाढी–पहिरोका कारण प्रभावित भएकाहरूलाई अस्थायी र स्थायी तबरले व्यवस्थापन गरिने बताएका छन् । बाढी पहिरोबाट पुगेको क्षतिको स्थगलगत निरीक्षण गर्न पनि बताए । आइतबार पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, राँकेमा पीडितहरूलाई सम्बोधन गर्दै उनले अहिले स्थलगल अनुगमन गरेको र मन्त्रिपरिषद् बैठक बसेर राहत वितरणका लागि थप निर्णय गर्ने बताए । उनले बाढी–पहिरोबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गरिने पनि बताए ।

यसैगरी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तीनदिनका लागि पार्टी तीनजना शीर्ष नेतालाई लिएर गृह जिल्ला झापा आएका छन् । अध्यक्ष ओलीको टिमले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्ने एमाले झापाले जनाएको छ । ओलीसँगै स्थायी समिति सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभू साह पनि छन् । सचिवालय सदस्य एवं ओलीका संसद प्रतिनिधि होमबहादुर थापाका अनुसार अध्यक्ष ओलीसहितका नेताहरुले आइतबार विर्तामोड, धुलावारी आसपासका कार्यक्रममा सहभागि भएर कार्यकर्ता भेटघाटलाई प्राथमिकता दिएका थिए ।

यसैगरी सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका ५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए । उनका अनुसार सिमावर्ती गौरीगञ्ज बजारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओली सहभागी हुनेछन् । प्रदेश एकका विभिन्न स्थानमा आयोजना गरिएका आन्तरिक कार्यक्रम सकेर ९ गते बिहान अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यसैविच एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन् । आइतबार झापा आइपुगेका ओलीलाई बुबा मोहनले पुनः प्रधानमन्त्री बन्न आशिर्वाद दिएका हुन् । घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भने, ‘ केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ । मेरो आशीर्वाद पनि छ । प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ । काठमाडौं एक्लै घुम्न जान नपाइने भएकाले आफूलाई झापा नै मन पर्ने भन्दै मोहनले झापा नै प्यारो लाग्ने बताए । ओलीका ९३ वर्षीय बुबा मोहनले भने– ‘म काठमाडौ जान्नँ । उता घुम्न पाइँदैन । घरभित्रै थुनिनुपर्छ ।’

 

Author

You may also like