दमक/दमक प्रज्ञा प्रतिष्ठानले आफ्नो दोश्रो कार्यकालमा पहिलोपटक विद्यालय तहमा नगर स्तरीय कविता प्रतियोगिता गरेर कामको थालनी गरेको छ । ढिलोगरी प्राध्यापक डाक्टर गोपाल भण्डारीको अध्यक्षतामा गठन भएको प्रतिष्ठानले शनिबार गोर्खा डिपार्टमेन्टको सभाहलमा दमकका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी कवि प्रतिभालाई सहभागी गराएर यस्तो प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेको हो । यससँगै दमक प्रज्ञा प्रतिष्ठानले गतिविधिहरु गर्न शुरु गरेर क्रियाशीलता पनि देखाउन थालेको छ ।

शनिबारको कविता प्रतियोगिता माध्यमिक विद्यालय तथा आधारभूत तह गरी दुई तहका विद्यार्थी प्रतिभाहरुलाई सहभागी गराएर भएको हो । जसमा दमकका जम्मा ३२ जना विभिन्न विद्यालयका कवि प्रतिभाहरुले भाग लिएका थिए । प्रतियोगिताको नतिजामा माध्यमिक तह तर्फ झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयका कक्षा ११ का विद्यार्थी कवि अभिमन्यू चापागाई (चक्रव्यूह) प्रथम, सिंहदेवी मा.वि.की विद्यार्थी सुम्निमा राई दोश्रो र प्रजिता एजुकेशनल एकेडेमीका विद्यार्थी प्रिपेश श्रेष्ठले तेश्रो विजेता बनी पुरस्कार पाएका छन् भने सान्त्वना पुरस्कार सरस्वती मा.वि. इटाभट्टाका बसन्त शिशिर र सर्वोदय मा.वि.का इसान केरुङले प्राप्त गरेका छन् ।
त्यसैगरी आधारभूत विद्यालय तर्फ चर्चित नेपाल प्रथम, ग्लोबल एजुकेशनल एकेडेमीकी तृएन्सा अधिकारी दोश्रो र क्रिपा कार्कीले तेश्रो पुरस्कार प्राप्त गर्न सफल भएका छन् । हाङ्मा लिम्बू र चन्द्रकला शंकरले सान्त्वना पुरस्कार पाएका छन् । माध्यमिक तथा आधारभूत दुवै तहमा प्रथम हुनेलाई नगद १० हजार, दोश्रो हुनेलाई नगद ७ हजार, तेश्रो हुनेलाई नगद ५ हजार र सान्त्वनमा तर्फ जनही नगद २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको दमक प्रज्ञा प्रतिष्ठानका सचिव जय बहादुर श्रेष्ठले जानकारी गराए । विजयी प्रतियोगीहरुलाई नगद पुरस्कार सँगै ट्रफी, मेडल र प्रमाण पत्र पनि प्रदान गरिएको जानकारी गराइएको छ । प्रतियोगिताको लागि साहित्यकार तथा लेखक प्रा.डा. बद्रीविशाल पोखरेल र नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सुमित्रा वाङ्देल चेलीलाई निर्णायकको जिम्मेवारी दिइएको थियो ।
प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथि दमक नगरपालिकाका कार्यवाहक मेयर तथा वडा नं. ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, विशेष अतिथि प्राज्ञ सुमित्रा वाङ्देल चेली, दमक नगरपालिका शिक्षा समिति अध्यक्ष तथा वडा नं. ९ का वडाध्यक्ष कुवेर भट्टराईले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य प्रतिष्ठानका सचिव प्राज्ञ जय बहादुर श्रेष्ठ र कार्यक्रम संचालन प्रतिष्ठानका सदस्य प्राज्ञ कवि धनकुटे कान्छाले गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष प्राज्ञ प्रा.डा. गोपाल भण्डारीले गरेका थिए । कार्यक्रममा दमकका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि, कवि तथा साहित्यकार, शिक्षक, विभिन्न साहित्यिक संघ संस्थाका प्रतिनिधि तथा विद्यार्थीहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । दमक प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना गर्न काम गर्दै आएको छ ।