पथरी, १६ असोज –
मोरङ पथरी शनिश्चरे ८ ले सम्भवत देशमै पहिलोपटक ‘वडादेखि ढोकासम्म’ कार्यक्रम सुरु गरेको छ ।
नेपालको संविधान २०७२ ले गाउँगाउँमा पुर्याएको सिंहदरवारलाई जनताको घरघरसम्म पुर्याउनको लागि जनताको सहजतालाई मध्यनजर गर्दै महत्वपूणर् कागजपत्र तयार गरि घरसम्मै पुर्याउने काम सुरु गरेको वडाध्यक्ष नवीन कार्कीले बताए ।
दिनभरिको काम छाडेर एउटा कागज बनाउन वडा कार्यालयसम्म आउँदा अरु थुप्रै कागजीय झन्झट नहोस्, कार्यालयको कोठाकोठा कुदेर दुःख नहोस, जेष्ठ नागरिक, अपांगता/अशक्त भएका व्यक्तिहरुलाई दुःख नहोस भन्ने उद्धेश्यले कार्यक्रम थालिएको उनले जनाए । रोजगारको शिलशिलामा वडादेखि बाहिर देश/विदेश गएकाहरुलाई पनि उतैबाट आफ्नो परिवारको कागजात बनाउन सहज होस् भन्ने उद्देश्य रहेको वताए ।
जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता, मृत्यु भएको ३५ दिनभित्रमा मृत्युदर्ता, जन्म प्रमाणित, मृत्यु प्रमाणित, अस्थायी/स्थायी बसोवास प्रमाणित, विपन्न नागरिक सिफारिस, ६८ बर्ष पूरा भएपछि राज्यले दिने जेष्ठ नागरिक भत्ता कार्ड, अपांगता परिचयपत्र सिफारिस, दिर्घरोगी सिफारिस, रातो र निलो कार्ड भएको अपांगता भएका व्यक्तिहरुको सबै प्रकारको सिफारिस वा प्रमाणित, ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको सबैप्रकारको सिफारिस वा प्रमाणित गर्ने कामहरु घर घरमा गएर गरिने गरेको छ । सो प्रक्रियाका लागि सम्बन्धित सेवाग्राहीले ह्वाट्सएप, म्यासेन्जर वा वडा सदस्यमार्फत आफुले बनाउनु पर्ने कागजका बारेमा जानकारी गराएपछि कर्मचारीले कागजात तयार गरी घरमा गएर दिने गरिएको छ ।