दमक\ प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलहरू आन्तरिक रूपमा सक्रिय हुन थालेका छन् । निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेका दलहरूले समीक्षा प्रक्रिया अघि बढाउन थालेका छन् भने समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवार छनोटलाई पनि प्राथमिकतामा राखिएको छ ।
निर्वाचन परिणाममा खुम्चिएका नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरूले हारका कारण खोज्न समीक्षा सुरु गरेका छन् । पार्टीभित्र भएका घात–अन्तरघात, संगठनको अवस्था, उम्मेदवार चयन र चुनावी रणनीतिबारे छलफल गर्दै समीक्षा प्रक्रिया औपचारिक बनाउने तयारी भइरहेको नेताहरूले बताएका छन् । तर विभिन्न नेताहरुका निजी विचार विभिन्न माध्यमबाट सार्वजनिक भई रहँदा यसले परिणामले खुम्च्याएका दलहरुको आन्तरीक जीवन थप सकसपूर्ण बन्दै गएको छ ।
यस्तै प्रतिनिधिसभा निर्वाचनमा पहिलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा) पनि आन्तरिक रूपमा सक्रिय देखिएको छ । रास्वपाले समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पठाइने उम्मेदवारको सूची टुंग्याउन र भावि मन्त्रीमण्डलका सदस्य छनौटको विषयलाई प्राथमिकता दिएको छ । समानुपातिक कोटाबाट को–को संसदमा जाने भन्ने विषयमा दलहरूभित्र परामर्श चलिरहेको छ ।
निर्वाचन आयोगले तोकेको कानुनी प्रावधानअनुसार दलहरूले समानुपातिक सूचीबाट प्रतिनिधि चयन गर्नुपर्ने भएकाले दलहरू अहिले त्यसैमा केन्द्रित भएका छन्। महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था भएकाले सूची छनोटमा दलहरू सक्रिय बनेका हुन् ।
यससँगै चुनावी परिणामले सिर्जना गरेको राजनीतिक सन्देशबारे पनि दलहरूभित्र बहस सुरु भएको छ । विशेषगरी परम्परागत ठूला दलहरूमा संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध सुधार्ने विषयमा नेतृत्व तहमा छलफल भने शुरु भई सकेको छैन ।
कांग्रेसले डाक्यो कार्यसम्पादन समिति
नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आगामी आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिएको हो । बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।
यस बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ । निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुनेछ । नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिएको छ ।
रास्वपाले पनि आजलाई सा¥यो
शनिवारका लागि बोलाईएको राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा) को सचिवालय बैठक स्थगित भएको छ । रास्वपाले शनिबारका लागि बस्ने भनेको बैठक आइतबार –आज)का लागि सारेको हो । शनिबारको बैठक आईतबारका लागि सारिएको प्रवक्ता मनिष झाले सूचना जारी गर्दै जनाएका छन् । उनले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आइतबार बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन् । प्रवक्ता झाका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने छ । बैठकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ ।
गुण्डुस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले सामानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ। सो बैठकले एमालेको समानुपातिक सूचीमा रामबहादुर थापा (बादल), पध्मा अर्याल सहित १६ जनाको नाम टुंगो लगाएको हो।
समानुपातिक सुचिमा पर्ने अन्यमा टुकाभद्रा हमाल, एशुदा कु. बराल, गुरु प्रसाद बराल, पुष्पराज कंडेल, भुमिका सुब्बा, गंगादेवी श्रेष्ठ, कुलभक्त शाक्य, कृपाराम राना, विष्णुराम वि.के, नीता घतानी, रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल र साजिका सिद्दिका रहेका छन्।
यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्याएको छ। सो पार्टीले समानुपातिक तर्फ ४ जनाको नाम सिफारिस गरेको हो। हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरी मत पाएको छ। पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको छ। पार्टीले सुनसरी १, भोजपुर र खोटाङमा गरी प्रत्यक्ष तर्फ ३ सिट जितेको छ।