देश–समाज राजनीति स्थानीय

दलहरुले चलाउन थाले कार्वाहीको डण्डा

दमक\ प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत कमजोर परिणाम आएपछि साविकका ठूला भनिएका दलहरूमा आन्तरिक समीक्षा र कारबाहीको प्रक्रिया तीव्र बन्न थालेको छ। चुनावी पराजयपछि घात–अन्तरघात भएको निष्कर्ष निकाल्दै विभिन्न दलहरूले आफ्नै कार्यकर्ता र नेतामाथि अनुशासनात्मक कारबाही गर्न सुरु गरेका हुन् ।
विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूले आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको, विपक्षी उम्मेदवारलाई साथ दिएको वा निष्क्रिय बसेको आरोपमा सम्बन्धित नेता–कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढाएका छन् । दलहरूका अनुसार चुनावी अभियानका क्रममा कतिपय स्थानमा आफ्नै पार्टीभित्रबाट असहयोग भएको र त्यसकै कारण अपेक्षित परिणाम आउन नसकेको देखिए पछि दलहरुका कार्वाहीको सिलसिला शुरु भएको हो ।
यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दुई जना नेताहरूलाई जिम्मेवारीबाट हटाएका छन् । अध्यक्ष लिङ्देनले उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई जिम्मेवारीबाट हटाएका हुन् । उनीहरू दुवै जनालाई पार्टीको साधारण सदस्य मात्र रहने गरी अन्य जिम्मेवारीबाट हटाइएको हो । उनीहरू दुवै जनामाथि चुनावमा पार्टीलाई असहयोग गरेको आरोप छ । सामाजिक सञ्जालमा उनीहरूले पार्टीलाई अहित हुने गरी लेख्ने गरेको समेत राप्रपाका एक नेताले बताए । दुवै नेतालाई अध्यक्ष लिङ्देनले मनोनित गरेका थिए ।
यस्तै गत निर्वाचनमा असहयोग गरेको भन्दै नेपाली कांग्रेस झापाले २ जिल्ला सदस्य र ३ जना क्षेत्रीय प्रतिनिधिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले निष्कासनको कारबाही गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति देउकुमार थेवेको अध्यक्षतामा सम्पन्न बैठकपछि पार्टी सचिव कृष्ण हुमागाईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कारबाही गरेको जानकारी दिएका छन् । पार्टीका जिल्ला सदस्यहरु ठमनाथ नेपाल (झापा), मुना भट्टराई (बुद्धशान्ति), क्षेत्रीय प्रतिनिधिहरु शम्भु खड्का (कनकाई), टेकनारायण संग्रौला (कनकाई), दिपिन्द्र थापा (गौरीगञ्ज) लाई साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ । कार्वाही गरिएका धेरैजसो निर्वाचनअघि नै पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा गइसकेका छन् ।
यस्तै नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मङ्गलबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटी बैठकमा विषय उठेपछि उपाध्यक्ष राईमाथि निलम्बनको कारबाही गरिएको हो । राई साँगुरीगढी गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष हुन् । त्यसैगरी बैठकले प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तरघात गरेको आरोप लागेका कार्यकर्तामाथि कारबाही गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । भीम राईको संयोजकत्वमा गठन गरिएको समितिमा हिमादेवी भट्टराई र एम.पी. उपाध्याय सदस्य रहेका छन् ।
यता आफूलाई गरिएको भनिएको कारबाहीबारे प्रतिक्रिया दिँदै साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईले हालसम्म औपचारिक जानकारी प्राप्त नभएको जनाएकी छन् । उनले विगतदेखि आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको बताउँदै यदि कारबाही भएको हो भने त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया दिईन् ।
नयाँमा पनि पुरानै रोग
पुराना दलहरुमा मात्रै होईन, निर्वाचन परिणामलाई लिएर नयाँ दलहरुमा समेत कार्वाहीको डण्डा चल्ने अवस्था सिर्जना भएको छ ।
थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि किचलो सुरू भएसँगै अध्यक्ष हर्क साम्पाङले कार्वाहीको चेतावनी दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेखेर समानुपातिक विषयमा रोइलो नगर्न पार्टी पङ्रुक्तिलाई सचेत गराएका हुन् । हर्कको चेतावनी छ, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो ।’
हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको साम्पाङ नेतृत्वको पार्टीले समानुपातिकमा ४ सीट सुरक्षित गरेको छ । निर्वाचन आयोगमा ११० जनाकै समानुपातिक उम्मेदवारको सूची पठाएको श्रम संस्कृतिले प्रत्यक्षमा ३ सीट (पुरुष) जितेको छ । प्रत्यक्ष र समानुपातिक गरेर श्रम संस्कृतिको सांसद संख्या ७ पुग्छ । अब साम्पाङले ३३ प्रतिशत महिला सुरक्षित गर्नुपर्ने हुन्छ । कम्तीमा दुईजना समानुपातिक सांसद बन्ने देखिन्छ भने अन्य क्लस्टर पनि मिलाउनुपर्ने हुन्छ ।

Author

You may also like