देश–समाज विचार/वहस स्थानीय

“सर्वज्ञरत्न”हरूको ओरालो यात्रा

यतिबेला मेरो देश एउटा कथाको पात्र जस्तै मान्छेको सपना र जपनाको पछाडि कुदिरहेको छ । यति तीब्र गतिमा छ कि त्यो कुनैपनि बेला जाक्किन सक्छ आप्mनै गोरेटामा । आपैmले खनेको बाटोमा । आपैmले उध्याएका कर्द र खुकुरीहरूमा ।
नाइजेरियाका लेखक चिनुवा अचिवि धेरैले सुनेको र पढेको नाम हो । तर उनका धेरै कथाहरू पढ्ने मौका प्रायलाई हुँदैन । उनका जीवन्त कथामा समयचेत देखिन्छन् । यस्तै उनको एउटा कथामा यो देश देखिन थालेपछि यही कथाका बारेमा केही लेख्न जरूरी लाग्यो । उनको कथा ‘डेड मेन्स पाथ’ (मृतकको मार्ग, १९५३) पढेपछि नेपाल भन्ने देशका कथित ‘ठूला’ भनिएका नेता झलझली आँखै अगाडि प्रकट भए । साक्षात प्रकट भए ।
कथा यस्तो छः
माइकल ओबी मूख्य पात्र हो । ऊ २६ बर्षको मात्रै छ, तर डरलाग्दो महत्त्वाकांक्षी र आदर्शवादी भएको देखाउँछ । सबै जना उसको राप र तापको अगाडि नतमस्तक हुन्छन् । उसका हरेक शब्दमा गडडडड ताली बज्छन् । उसका शैक्षिक अभिव्यञ्जनाहरूले ऊ एउटा ठूलो शिक्षविद् भएको जस्तो भ्रम पर्न थाल्छ सबैलाई । त्यही भएर उसलाई एनडुमे सेन्ट्रल स्कूलको हेडमास्टरका रूपमा नियुक्त गरिन्छ । ऊ र उसकी पत्नी न्यान्सी दुवै यस नयाँ जिम्मेवारीप्रति अत्यन्त उत्साहित हुन्छन् । उनीहरूलाई विश्वास छ कि यही अवसरले विद्यालयलाई आधुनिक, अनुकरणीय र देशभर प्रशंसित संस्थामा रूपान्तरण गर्न मद्दत गर्नेछ ।
ओबी आफ्नो “प्रगतिशील” सोचप्रति गर्व गर्छ र परम्परागत मान्यताहरूलाई पछि पारेर विद्यालयलाई नयाँ रूप दिन चाहन्छ । उसको बानी नै हुन्छ जेलाई पनि नयाँ बनाउँछु भन्ने ।
ओबीको आधुनिकताको परिकल्पना
ओबी विद्यालयको भौतिक रूपमात्र होइन, शैक्षिक स्तर पनि अभिवृद्धि गर्न चाहन्छ । ऊ शिक्षकहरूलाई अनुशासन, समयपालन र सफाइमा कठोर बन्न प्रोत्साहित गर्छ । न्यान्सी पनि समान उत्साहका साथ विद्यालयलाई सुन्दर बनाउन बगैँचा, फूलबारी र आधुनिक वातावरणको कल्पना बुन्छे, जसलाई सबैले प्रशंसा गर्ने उनीहरूको विश्वास हुन्छ ।
ओबी आधुनिक शिक्षामा दृढ विश्वास राख्छ र परम्परा–रिवाजहरूलाई प्रगतिका बाधा रूपमा हेर्छ । उसलाई संस्कृति, धर्म सबै ‘वाइयात’ लाग्छ । जे कुरालाई पनि ‘वैज्ञानिक तरिकाल’े भन्न भ्याउँछ । ऊ मात्रै सबै कुरा जान्ने ‘मिस्टर नो अल’ (सर्वज्ञ) हो । यही दृष्टिकोण नै कथामा मुख्य द्वन्द्वको कारण बन्छ ।
पवित्र बाटो
विद्यालयको कम्पाउन्डभित्र एउटा साँघुरो, पुरानो पथ छ—यो गाउँको मन्दिर (श्राइन) र चिहानघरतर्फ जाने मार्ग हो । पुस्तौँपुस्तादेखि गाउँलेहरूले यस पथलाई अत्यन्त पवित्र ठानेका छन्, किनकि उनीहरूको विश्वास अनुसार यही बाटोबाट पुर्खाहरू जीवितहरूको संसारमा आउँछन्, मृतकहरू परलोकतर्फ प्रस्थान गर्छन्, र अजन्मा बालकहरू जन्मिन संसारमा प्रवेश गर्छन् । गाउँलेहरूका लागि यो साधारण बाटो होइन—यो भौतिक र आध्यात्मिक संसारलाई जोड्ने जीवन–रेखा हो ।
तर ओबीका दृष्टिमा यो पथ विद्यालयको सुन्दरता बिगार्ने कुरामात्र हो । विद्यालयको भुइँभाग आफ्नो अधिकारभित्र पर्छ भन्ने ठान्दै ऊ पथ बन्द गर्ने निर्णयमा पुग्छ ।
ओबीद्वारा पथ अवरुद्ध
कसैसँग सल्लाह–मसलाह नगरी, ओबीले ठूला काठका काँटेदार तारले पथ बन्द गरिदिन्छ । उसलाई लाग्छ कि “सभ्य” वातावरण बनाउन यो आवश्यक कदम हो।
यसै बीच, गाउँकी एक महिलाको प्रसूति क्रममा मृत्यु हुन्छ । अन्त्येष्टि–अनुष्ठानका लागि गाउँलेहरूलाई यही पवित्र पथ प्रयोग गर्नुपर्छ । तर बाटो अवरुद्ध रहेको देखेर उनीहरू स्तब्ध र आक्रोशित हुन्छन् ।
यसपछि गाउँका पुजारी—एक वृद्ध, शान्त स्वभावका मान्छे—ओबीलाई भेट्न आउँछन् । उनी पथको महत्व विस्तारपूर्वक बताउँछन् र भन्छन् — यो बाटो कसैको सम्झनाभन्दा पुरानै छ, यसलाई बन्द गर्नु जीवित र पुर्खाबीचको समन्वय भंग गर्नु हो, परम्परा गाउँको आध्यात्मिक सन्तुलनका लागि अत्यावश्यक छ । उनी विनम्रतापूर्वक बाटो खुलाउन अनुरोध गर्छन्।
ओबीको अहंकार
ओबी पुजारीको आग्रहलाई लत्याउन पुग्छ । विद्यालयलाई “कुसंस्कार” ले चलाउन दिन नसकिने भन्दै ऊ आधुनिकतामै अडिग रहन्छ । पुजारीले चेतावनी दिन्छन् कि पुर्खाहरू रित्तो हात फर्किने छैनन्, र गाउँलेहरूले आफ्नो परम्पराप्रतिको यस्तो अपमान सहने छैनन् । तर ओबी आफ्नो अधिकार र आधुनिक विचारप्रति अडिग रहन्छ ।
विनाश र प्रतिघात
केही दिनपछि, मृत महिलाको रात्री–अनुष्ठानका लागि गाउँलेहरू ठूलो भीडमा आउँछन् । उनीहरू तारबार भत्काउँछन्, बाटो खोल्छन्, र आक्रोशित भएर विद्यालयको कम्पाउन्डका धेरै भाग नष्ट गर्छन् । न्यान्सीले बनाएका सुन्दर बगैँचा र फूलबारी कुल्चिन्छन्, माड्छन् । हेज, फूल, सजावट सबै तहसनहस हुन्छ । तारबार पुरै उखेलिन्छ । बिहान सबैतिर विनाशको दृश्य फैलिन्छ सबैतिर ।
सरकारी निरीक्षकको आगमन

भोलिपल्टै, सरकारी शिक्षा निरीक्षक आकस्मिक रूपमा विद्यालय आउँछन् । ओबीलाई लाग्छ कि आफ्ना प्रयासका लागि उसले प्रशंसा पाउँछ । उसलाई ‘मैले महान काम गरेको छु’ भन्ने भ्रमको भूतले खाइसकेको हुन्छ, र यो कर्मका लागि पुरस्कृत हुने सपना देख्छ । तर निरीक्षक निराश र आलोचनात्मक हुन्छन् । उनी लेख्ने प्रतिवेदनमा उल्लेख हुन्छ—
हेडमास्टरले स्थानीय समुदायसँग सुचारु संबंध कायम गर्न सकेनन्, सांस्कृतिक संवेदनाको अभाव र गलत व्यवस्थापनका कारण विद्यालयमा क्षति भयो । उनीलाई तुरून्त पदबाट हटाएर कार्वाही गर्नु पर्छ ।
ओबीले कल्पना गरेको “आदर्श आधुनिक विद्यालय” को स्वप्न यतै टुट्छ । आधुनिकताको नाममा देखाएको अहंकार, कठोरता र परम्पराप्रति अपमाननै उसको पतनको कारण बन्छ ।
कथा यत्ति हो ।
यो ‘सर्वज्ञरत्न’ को कथा हो । ओवी गाउँलेका कुरा पनि सुन्दैन, अरूका आस्था र विश्वासलाई खिल्ली मात्र उडाउँछ, कसैसंग सम्झौता गर्न चाहँदैन, आपूmलाई सबैभन्दा जान्नेसुन्ने ठान्छ । यही कारण उसको पतन भएको कुरा नाइजेरिया अफ्रिकाका लेखक अचिवि लेख्छन यो कथामा ।
पाठकबृन्द, अब तपाईले ‘ओवी’ पात्रका ठाउँमा ‘ओली’ पात्र बनाएर अर्को कथा लेख्नुभयो भने कथा फरक हुन्छ कि हुँदैन ? त्यो सर्वज्ञरत्नको कथा हुन्छ कि हुँदैन ?
मलाई पनि त्यो कथा सेयर गरिदिनुहोला ।
हवस, नमस्ते ।

Author

You may also like