Banner कला साहित्य विचार/वहस

-समीक्षा- ‘मेरो देश‘भित्र खोजिएको देश

 हेम अधिकारी


इलाम जिल्लाको पश्चिमी क्षेत्रको लुम्दे गाउँमा वि.सं. २०२७ मा जन्मिएका लेखक डा. लेखनाथ न्यौपाने सानैदेखि मेधावी विद्यार्थी रहेका पाइन्छ । छविराम र महेश्वरा न्यौपानेका कान्छा सुपुत्र उनी पेसाले होमियो चिकित्सक हुन् । भारतको मुम्बईबाट बीएचएमएस पूरा गरेपछि आफ्नै गृहनगर दमकमा रहेर निजीस्तरमा चिकित्सा सेवा गरिरहेका छन् । पेसाले चिकित्सक भए पनि उनी निरन्तर साहित्य, खोजअनुसन्धान र चिकित्सा क्षेत्रमा कलम अघि बढाइरहेका पाइन्छन् । यसभन्दा अघि नै उनका एउटा उपन्यास, एउटा कथा सङ्ग्रह र दुईवटा स्वास्थ्य सम्बन्धी पुस्तकहरु प्रकाशित भइसकेका छन् । उनी पत्रपत्रिकामा पनि लेख रचनाहरु प्रकाशित गरिरहने सक्रिय लेखक हुन् ।


मेरो देश ः
डा. न्यौपानेको लामो लगन र मेहनतबाट निस्किएको ‘मेरो देश‘ एउटा महत्त्वपूणर् कृति हो । अझ भनौँ यस्ता कृतिहरु धेरै र बारम्बार प्रकाशन भएका पाइदैन् । भुँडीपुराण प्रकाशनबाट भर्खरै अर्थात् २०८० मा प्रकाशित ‘मेरो देश‘ निकै ठूलो अर्थात् ६८१ पेजको पुस्तक छ । नेपालका विविध क्षेत्रका विषयवस्तु समेटिएको यस पुस्तकले धेरैवटा पुस्तकको काम एक्लैले गरेको छ । प्रस्तुतिका क्रममा विषय अनुसारका यथार्थ चित्र पनि दिइएकाले पुस्तकको बोधगम्यता र वस्तुगत यथार्थता उच्च कोटिको बनेको छ । लेखकको १२ वर्षको तपस्यापूणर् मेहनतबाट सिर्जिएको ‘मेरो देश‘ अनेक क्षेत्रका अध्येताका लागि स्रोत सामग्री बन्नेछ ।
मेरो देशभित्र ः
डा. न्यौपानेले यस पुस्तकभित्र नेपालका अनेक क्षेत्रहरु समेटेका छन् । प्रचीनदेखि अर्वाचीन अवस्थासम्म खोजबिन गरिएको छ । लेखकले अनेक पत्रपत्रिका, टेलिभिजन, रेडियो, पुस्तकको सहारा लिएका छन् । देशका अनेक भौगोलिक स्थानहरुको भ्रमण गरेर प्रत्यक्ष सामग्री सङ्कलन गरेका छन् । डा. न्यौपानेका अनुसार ‘पुस्तकालय र पुस्तक पसल पुग्दा जानकारीमूलक पुस्तक, पत्रपत्रिका र ऐतिहासिक पुस्तक किन्ने……कतै भेटिएका कुरा टिपोट गर्ने……वृत्तचित्रहरुमा ध्यान तानियो…….अवलोकन भ्रमण अध्ययन, इतिहास र संस्कृतिको जानकारीपश्चात् विश्वका विभिन्न देशको भन्दा आफ्नै देशको सौन्दर्यले मोहित पारिरहन्थ्यो‘ लेखकको यस भनाइले पनि उनी पहिलेदेखि नै यस योजनामा तल्लीन भएर लागेका पाइन्छन् । विभिन्न देशको तुलनात्मक अध्ययन गरेर नेपालबारे लेख्न निश्चित गरेको कुरा लेखककै स्वीकृति पाइन्छ ।
पुस्तक दुई खण्डमा संयोजन गरिएको छ । पहिलो खण्डमा नेपालको परिचय अन्तर्गत ६२ वटा शीर्षक र तिनमध्ये कति शीर्षकका अनेक उपशीर्षकहरु छन् । विविध विषय समेटिएको यस विशालकाय पुस्तकको साङ्गोपाङ्गो समीक्षा एउटा सानो आलेखमा सम्भव छैन । त्यसैले यहाँ परिचय मात्र गराउने प्रयास गरिएको छ ।
यस खण्डमा नेपालको उत्पत्तिदेखि लिएर वर्तमानसम्मका प्राकृतिक, ऐतिहासिक, विकासका मुख्य गतिविधिहरु, प्राचीन अभिलेखहरु, राजपत्रहरु, राजवंशावली, विविध कालखण्डमा नेपालको विभाजन, एकीकरण लगायत राजनीतिक विकास, संविधान र ऐन कानुनहरु जारी भएको अवस्था लगायतका अनेकौँ कुराहरु समेटिएको छ । भाषा साहित्यतर्फ पनि यसमा खोजबिन गरिएको छ । विजुलीको विकास यात्रा, चलचित्रको विकास र वर्तमान अवस्था जस्ता कुराहरु पनि सूच्य रुपमा समावेश छन् । सामाजिक विकासतर्फ लेखक निकै गहिरिएका पाइन्छन् । दासप्रथा, सतीप्रथाको उन्मूलन र यसले समाजमा पारेको प्रभाव एक महत्वपूणर् सामग्री हो । यी सामाजिक रोगका बारे लेखक पृष्ठ ५२ मा भन्छन् ‘त्यो समयको प्रचलन अझ दासप्रथाको पक्षपोषक त ठूलाबढा र राजनीति जान्नेहरु नै थिए ।’ चन्द्रसमशेरले गरेका मुख्य कामहरुमा यिनलाई उल्लेख गरिएको छ ।
लेखक विकासका अनेक आयामको खोजीनीति गर्न पुग्छन् । नेपालमा तारे होटलको विकासबारे पनि अनुसन्धान गरिएको छ । नेपालमा ऐतिहासिक महत्वका निर्माण कसले र कहिले गरे भन्ने कुरा सप्रमाण प्रस्तुत गरिएको छ । पशुपतिनाथको मन्दिर निर्माण, पुनःनिर्माण, पाशुपत क्षेत्रको ऐतिहासिकता संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ । लुम्बिनी, जनकपुर जस्ता नेपालका विश्व सम्पदाहरुलाई महत्वका साथ अध्ययन गर्नु यसको उपलव्धी मान्नुपर्छ । नेपालका चर्चित व्यक्तित्व, विभूति र सहिदहरु भनेर कालु पाँडेदेखि योगी विकासानन्दसम्म ३९ जना व्यक्तित्वहरु छनोट गरेर तिनको परिचय दिइएको छ । नेपालका राष्ट्रपति, उपराष्ट्रपति र सामाजिक क्षेत्रका व्यक्तित्वहरु भनेर डा. रामवरण यादवदेखि भद्राकुमारी घलेसम्म १५ जनाको संक्षिप्त परिचय दिइएको छ । चार सहिदहरुको परिचयका साथै भानुभक्तदेखि सत्यमोहन जोशीसम्म आठजना प्रमुख साहित्यकारहरुको परिचय प्रस्तुत गरिएको छ । नेपालका पर्यटनस्थलहरु अग्ला हिमालहरु, पदमार्गहरुको पनि परिचय दिइएकाले यो पुस्तक पर्यटक र पर्यटन व्यवसायीलाई पनि लाभदायक सामग्री बनेको छ । पर्यटन र ऐतिहासिक महत्त्वका सम्पदाहरुका सचित्र परिचय दिइएकाले ती स्थान र वस्तुहरु प्रत्यक्ष अवलोकन गरेको स्वाद पाठकहरुले पाउने छन् ।
लेखक अनेक चाडपर्वहरुको खोजतलास गरेर प्रस्तुत गरिरहेका छन् । नेपालमा अपनाइएका अनेक धर्म, धार्मिक सम्प्रदायले मान्ने चाडपर्वहरुको संक्षिप्त परिचय, महत्व र गरिमा प्रस्तुत गरिएको छ । यस काममा लेखकले निकै अध्ययन अनुसन्धान गरेर तयार पारेका छन् । पुराणबारे पृष्ठ २६६ मा उनी भन्छन् ‘पुराणलाई ६ वर्गमा बाँडिएको छ । प्रथम वर्गमा साहित्यका विश्वकोष छन् , जस्तै गरुडपुराण, नारद पुराण, अग्नि पुराण ।’ यसरी नै छवटै वर्गका नामहरु दिइएको छ । लेखक चिकित्सा विज्ञानका औपचारिक अध्येता हुन् । तथापि उनको स्वध्यायनले अनेक क्षेत्रमा दखल राखेको पाइन्छ । यस किताबमा डा. न्यौपाने एक गहन अनुसन्धाताका रुपमा देखिएका छन् । समाजशास्त्रका कोटिमा पर्ने यो पुस्तक समग्रमा अनुसन्धानमा केन्द्रित छ ।
खण्ड दुईले पुस्तकका धेरै पाना ढाकेको छ । यस खण्डमा नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेपछि बनेका प्रदेशहरुको वणर्न गरिएको छ । सातै प्रदेश र तिनमा भएका ७७ वटै जिल्लाहरुका परिचय र पर्यटकीय स्थलहरुको विवरणात्मक परिचर्चा पुस्तकमा पाइन्छ । यस खण्डमा मेरो देश नेपमलभरि घुमेको छ । के हिमाल, के पहाड, के चुरेक्षेत्र, के तराई सबैतिर पुगेर ती ठाउँहरुको परिचय दिइएको छ । देशैभरका प्रमुख पर्यटकीय स्थलहरुको परिचय र सकेसम्म चित्र पनि दिइएकाले यो पर्यटन सूचना पुस्तिकाको समेत काम गर्ने आधार सामग्री बनेको छ । यो खण्ड बढी पर्यटन क्षेत्रका लागि उपयोगी छ । पृष्ठ नं. २६९ मा लेखक भन्छन् ‘…देशका विभिन्न स्थानमा रहेका लोप हुन लागेका परम्परा, संस्कृति, धार्मिक तथा पर्यटकीयस्थलहरुको संरक्षण हुने विश्वास गरिएको छ । यसले स्वदेशी तथा विदेशी धार्मिक र अन्य पर्यटकको आगमन बढ्ने र देश विकासमा तीव्रता आउने उद्देश्य रहेको छ ।’ यहाँ लेखक नेपालको संविधान (२०७२) ले व्यवस्था गरेका संघीय संरचनाबाट विकास र प्रचारप्रसार गरेर देशभरिका पर्यटन स्थलमा पाहुनाहरु वृद्धि हुने र त्यसबाट देश विकास हुने कुरामा आशावादी छन् ।
यहाँ ताप्लेजुङदेखि दार्चुला, महाकालीदेखि मेचीसम्मका सबै भाग र कचनकवलदेखि सगरमाथासम्मका महत्वपूणर् ठाउँ र सम्पदाहरुको खोज गरी परिचय दिइएको हुनाले यो समग्र नेपालको वहुआयामिक प्रस्तुति बनेको छ ।
अन्त्यमा ः
‘मेरो देश’ लेखकको आफ्नो देश अर्थात् नेपालका वहुआयामिक क्षेत्रहरु समेटेर तयार पारिएको एक वृहत् काय पुस्तक हो । यो अनेक विषयको स्रोत सामग्रीका रुपमा प्रयोग गर्न सकिने आधार सामग्री हुनसक्छ । हामी १२ वर्षलाई एक जुग भन्ने गछौँ । यस आधारमा लेखकको एकजुगको तपस्याको परिणती हो ‘मेरो देश’ । अनुसन्धानात्मक सामग्री तयार गर्नु, कल्पना र प्रतिभा फिँजाएर साहित्य सिर्जना गर्नु दुवै विशिष्ट प्रतिभाका उपज हुन् । तर यी दुईको सिर्जनाभूमि र प्रव्रिmयामा निकै अन्तर छ । अनुसन्धान अनेक सामग्री अध्ययन गरेर वा सम्बन्धित क्षेत्र भ्रमण गरेर मात्र गर्न सकिन्छ । धेरै माथापच्चिसीको उपज हुन्छ अनुसन्धानात्मक कृति । लेखक चिकित्सक भएकाले निरन्तर अनुसन्धान उनको पेसागत कर्म र धर्म पनि हो । त्यसैले उनी अनुुसन्धानमा अभ्यस्त भएर नै नेपालको समाजशात्रमा यति गतिलो अनुसन्धान गर्न सफल भए भन्नु अत्युक्ति हुदैन । कृतिको पहिलो खण्ड पानागत रुपमा दोस्रोभन्दा थोरै अर्थात् २६६ पानामा फैलिएको छ । तथापि यस खण्डले अत्याधिक विषय क्षेत्रका सूचनाहरु बाहिर ल्याएको छ । समग्रमा यो कृति विद्यार्थी, शिक्षक लगायत विविध क्षेत्रका अध्येताहरुका लागि महत्ववपूणर् आधार सामग्री भएको छ । लेखकलाई साधुवाद ।

You may also like