अर्नेष्ट मिलर हेमिंवे एक प्रख्यात अमेरिकी उपन्यासकार र निबन्धकार हुन् । सन् १९५४ को साहित्यतर्फ को नोबेल पुरस्कारद्वारा सम्मानित भएका हेमिंवेको सरल गद्य शैलीको लेखनीले नै अधिकांश पाठकहरुलाई मोहित बनाएको धेरै लेखकहरुको विश्वास रहेको छ । हेमिंवेको जन्म अमेरिकाको इलिनोइ राज्यस्थित ओक पार्कमा भएको थियो । उनकी आमा एक शिल्पकारको रुपमा काम गर्थिन् ।
पिता ग्रेस हल डा. क्ल्यारेन्स एड्मण्ड हेमिंवे मधुमेहका रोगी थिए । उनले फक्लोरिडास्थित घर जग्गा व्यवसायमा सम्पूर्ण धन सम्पत्ति सिध्याएपछि अनायासै आत्महत्या गर्न पुगे । कलिलो उमेरमै आफ्ना अभिभावक गुमाएका हेमिंवेले ओक पार्ककै एक सार्वजनिक विद्यालयमा अध्ययन गरे । बाल्य अवस्था देखि नै हेमिंवेलाई साहित्य र कलाप्रति मोह थियो । विद्यालयमा अध्ययन गर्दै गर्दा नै उनले पत्र पत्रिकाहरुमा आफूले लेखेका कथा र कविताहरु प्रकाशन गर्ने गर्थे ।
सन् १९१७ मा स्नातक तहको अध्ययन समापन गरेसँगै हेमिंवेले ‘द कान्सास सिटी स्टार’ नामक पत्रिकामा रिपोर्टरका रुपमा काम गर्न सुरु गरेका थिए । प्रथम विश्वयुद्ध ताका उनले एक एम्बुलेन्स चालकका रुपमा इटलीमा काम गरे । युद्ध हुँदै गर्दा अग्रपंक्तिमा रहेर कार्यरत हेमिंवे घाइते भएपछि भने इटली सरकारले उनलाई स–सम्मान अभिनन्दन गरी बिदा गरेको थियो । लामो समयको अस्पताल बसाइपछि उनी पुनः अमेरिका फर्किए र एक क्यानडेली पत्रिकामा रिपोर्टरका रुपमा काम गरे ।
तत्कालीन समयमा भइरहेको ग्रीसको क्रान्ति जस्तो महत्वपूर्ण र सर्वाधिक चासोको विषय रहेको समाचार संकलन गर्नका निमित्त हेमिंवेलाई युरोप पठाइएको थियो । त्यसबेला, आग्नेज भोन कुरेस्की नामक एक अमेरिकी नर्ससँगको उनको सम्बन्ध नै हेमिंवेको प्रख्यात कृति ‘अ फेयरवेल टु आर्म्स’ (१९२९) को मुख्य आधार बन्न पुग्यो । युद्धको प्रतिकूल परिस्थितिलाई चिर्दै मौलाएको एक सुमधुर प्रेमको दुःखद कथा बोकेको यस कृति १९३२ मा पहिलोपटक चलचित्रको पर्दा मार्फत् दर्शकसामु प्रस्तुत गरियो, जसमा ग्यारी कुपर, हेलेन हेजÞ र एडल्फ भेन्जोको मुख्य भूमिका रह्यो । सन् १९५७ मा बेन हेच्टद्वारा लिखित र चाल्र्स भिडरद्वारा निर्देशित यसको दोस्रो संस्करण बनाइयो जसमा रक हड्सन र जोनिफर जोन्सले मुख्य पात्रका रुपमा अभिनय गरे ।
हेमिंवेको सबैभन्दा महत्वकांक्षी मानिएको उपन्यास ‘फÞर हुम द बेल टल्स’ (१९४०) मा उनले स्पेनको गृहयुद्धताका आँफूले एक रिपोर्टरका रुपमा सँगालेका अनुभुतिहरुलाई पृष्ठभूमिका रुपमा प्रयोग गरेका छन्। सन् १९२० मा उनी पेरिसमा गठित निर्वासित अमेरिकी नागरीकहरुको समुहका सदस्य बनेका थिए। यस विषयको व्याख्या हेमिंवेको ‘द सन अल्सो राइजेस’ नामक उपन्यासमा पाउन सकिन्छ। सन् १९५७ मा यसलाई टाइरन पावर तथा एभा गार्डनर को मूख्य भूमिकाका साथ पर्दामा उतारियो।
हेमिंवेको सर्वाधिक लोकप्रिय र मनपराइएको कृति ‘दि ओल्ड म्यान एण्ड द सी’ (१९५२) एक लघु उपन्यास हो । एक वृद्ध माझीको समुद्री यात्रा, समुद्र, माछा र जीवनसँगको उसको एकल संघर्ष र पराजय भित्रको विजयलाई यस कथामा देखाइएको छ ।
पत्रिकामा कार्यरत नरहँदा र स्वलेखनमा व्यस्त नरहँदा भने हेमिंवे आफ्नी पत्नी एलिजाबेथ रिचर्डसनसँग विदेशी मुलुकहरुको भ्रमण गर्न रुचाउँथे । हेमिंवेले आफ्ना सुरुवाती कृतिहरु ‘थ्री स्टोरिज एण्ड टेन पोएम्स (१९२३) र ‘इन आवर टाइम’ (१९२४) पेरिसबाट प्रकाशित गरेका थिए । सन् १९२७ मा हेमिंवे र उनकी पत्नीले सम्बन्धविच्छेद गरेका थिए । सोहि वर्ष हेमिंवेले फेसन एडिटर पोलाइन फेइफरसँग विवाह गरे । स्पेनमा हुने साढेँ जुधाइको वर्णनलाई समेटेर उनले सन् १९३२ मा एक गैरआख्यानपरक कृति ‘डेथ इन दी आफ्टरनुन’ प्रकाशन गरे । त्यसैगरी पूर्वी अफ्रिकामा शिकार खेल्दाको अनुभव समेटेर उनले सन् १९३५ मा ‘द ग्रिन हिल अफ अफ्रिका’ लेखे । हेमिंवेले सन् १९३७ मा स्पेनको गृहयुद्धलाई निक्कै राम्रोसँग नियाल्ने मौका पाएका थिए ।
आफँैले अवलोकन गरेको यस युद्धताका मेड्रिडमा उनको भेट लेखिका तथा संवाददाता मार्था गेल्हर्नसँग भयो र सन् १९४० मा उनले गेल्हर्नसँगै तेस्रो विवाह गरे । ‘फÞर हुम द बेल टल्स’ मा स्पेनकै दृश्य उतारिएको छ र उनले यो पुस्तक आफ्नी पत्नी गेल्हर्नका निम्ति समर्पित गरेका छन् । कथाकी पात्र पापरीयाले गेल्हर्नकै चरित्र बोकेको भनिएको छ ।
रिपोर्टरका रुपमा काम गर्दै गर्दा हेमिंवेले पिउन थालेका थिए । अत्याधिक मदिरा सेवन गर्दा पनि यसले उनको लेखनको गुणस्तरमा कहिल्यै कुनै नकारात्मक प्रभाव पारेन । सन् १९४० को दशकबाट भने हेमिंवेको स्वास्थ्य बिग्रदैँ गयो । फिडेल क्यास्ट्रोको सन् १९५९ को क्रान्ति नहुँदासम्म उनले आफ्नो समय क्युबामा व्यतित गरे ।
अफ्रिका भ्रमण गर्ने क्रममा नै उनी दुइ पटक विमान दुर्घटनामा परी घाइते भएका थिए । उनले आफ्नो अन्तिम कृति ‘ट्रु एट फस्ट लाइट’ त्यही वर्ष लेख्न सुरु गरेका थिए । यस कृतिका केही भागहरु सन् १९७२ मा स्पोर्ट्स इलुस्ट्रेटेड इन मा अफ्रिकन जर्नल शिर्षकमा प्रकाशित गरिएको थियो । सेना, शिकारी, खेल र खेलाडी प्रति औधि चासो राख्ने हेमिंवे आफू पनि एक महान् खेलाडी थिए । साढेँ जुधाई खेलप्रति उनको निक्कै मोह थियो । सरल गद्यशैली र छोटा मिठा संवादहरुको प्रयोग गरेर अनेकौँ प्रभावशाली कथाहरु आफ्ना प्रिय पाठकवर्गलाई सदाका लागि सुम्पिएर सन् १९६१ मा हेमिंवे परलोक भए।