लेख विचार/वहस

अबको राजनीतिक यात्रा कतातिर जाँदैछ ?

राजनीति, राजनीति, राजनीति जे कुरामा नि राजनीति । कर्मचारीदेखि शिक्षकहरुसम्म आइपुग्दा जताततै जतासुकै राजनीतिको बहस सुरु हुँदैछ , हिजोआज । बिगतदेखि बर्तमान समयसम्म आइपुग्दा नेपाली राजनीतिले अनेक मोडहरु पार गरिसकेको छ । यस्ता मोडहरु पार गर्यो कि भन्दा या सुन्दा हामी मतदाताहरु बढी मात्रामा खुसी हुनु भन्दापनि जनआक्रोश बढदो छ , नेता र नेतृत्वप्रति । दया जाग्ने कुनै ठाउँ नै छैन । नेताहरुले यतिसम्म गरिसक्या छन् कि हामी जनतालाई रगत उम्लिएर आएको अवस्था छ । हामीले यो भन्दा सम्म अनपढ र ठुटे नेताहरूले हामीलाई अनेक रङ्ग लगाउलान्, तर यसमा हामीलाई कुनै मतलबै छैन । किनकि हामीहरु उनीहरूको पछिपछि लागेर जिन्दगीमा दगुर्दैनौं बरु उनीहरूलाई सल्लाह र सुझाव भने दिन्छौ ।

उनीहरूले हिजो गरेका अनेकन राजनीति वातावरण सभा र सेमिनार, अन्तरक्रिया, रिपोटर्स क्लबमा बारम्बार प्रश्न राख्दासम्म उनीहरूको चेत अहिलेसम्म खुलेकै छैन । उनीहरूको सदिच्छा भनेको जे होस्, जसरी होस् चुनाव जित्नैपर्ने मात्रै देखियो । आफूले गरेको गल्तीलाई प्रायश्चित गर्ने कुनै ठाउँ दिएनन, उनीहरूले । राजनीतिका नाममा अनेक तिकडम गर्ने जनता भजाउने, झगडा गराउने, कार्यकर्ता भिडन्त गराउने, सुराकी खडा गर्ने काममात्र नेताहरूले गरेका हुनाले तमाम जनताहरु हिजोआज रिसले चुर भएका छन् आफ्नै नेताहरुप्रति । नरिसाउन पनि कसरी ? हिजो तिनै नेताहरूलाई आफ्नो जनमत दिएकाहरु नै आज झण्डा र चुनावचिन्ह परिवर्तन गरिरहेका छन् । हिजो जनयुद्धकालमा अनेकौं जेलनेल भोग्नेहरु आज रातो क्रान्तिको झण्डा परिवर्तन गरेर अर्को नयाँ पार्टी खोल्नेहरु घरको न घाटको भएका छन् हिजोका कमाउनिष्टहरु । समाजवादको ठेली रटान गर्नेहरु अर्को नयाँ पार्टीमा समाहित हुँदासम्म चटके बन्न बाध्य छन् लाखौं सहनशील कार्यकर्ताहरु । यतिसम्म हुँदा पनि जनता सहेर बसेका छन् । हिजो बेजोडसंग चुनाव जित्न उठाएका मुद्दाहरु आज लावारिस भए सडकमै छताछुल्ल भए । यतिसम्म हुँदा पनि सहेर बस्न बाध्य छन् जनताहरु ।

सुकुम्बासी, मुक्त कमैया, गरिब किसान, हलिया, स–शस्त्र जनयुद्धमा घाइते भएका तथा बेपत्ता परिवारहरुको आर्तनाद सुन्ने आज लोकतान्त्रिक शक्तिहरु उनीहरुले नदेख्दा गणतन्त्रको हवाला दिनेहरू आज कत्ता हराए, के गर्दैछन ? बोल्ने र सुन्नेवालाहरु कोही छैन, अहिलेसम्म कोहि देखिएका छैनन् । उनीहरूलाई मल्हमपट्टीसम्म लगाएर आत्माशान्ति गरिदिने कोही छैनन् यहाँ । नेताहरुले जतिसुकै, जस्तोसुकै क्रान्तिकारी भाषण दिउन् उनीहरूको माग पूरा हुनेवाला छैन । तिनै छट्टु नेताहरुको आफन्तजनको मात्र माग पूरा हुने निश्चित प्रायः छ । आज कोही सुन काण्डमा, नक्कली भुटानी शरणार्थी काण्डमा, अनेक काण्डमा शीर्ष नेताहरु पर्दासम्म सडक तताउने कार्यकर्ता आज कहाँ छन्, के गर्दैछन ? नेताहरुमा कत्तिपनी आत्मग्लानी र निराशा छैन । जनतामा व्यापक निराशा छाएको छ । निराशाको परिणाम क्रान्ति गरे आशाकालागि । आज मानवहरुको आम प्रवृत्ति यथास्थितिमा असन्तुष्ट हुनु र असफलताबाट सिधै सफलतातिर अग्रसर हुनु हो । तर यहाँ त जनतालाई बलीको बोको बनाइदिए नेताहरूले । रोग, भोक, अशिक्षा, गरिबीको पीडाले छट्पटाउने बनाइदिए जन्तालाई । अहिले नेपाली राजनीतिमा बिचित्रको विरोधाभासपूर्ण अवस्था उत्पन्न भएको छ । के नेपाली क्रान्ति सफल भयो कि भएन ? हो, महान जनयुद्ध, दरबार काण्ड, शान्ति प्रक्रिया, संविधान सभा, राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा जस्ता युगान्तकारी परिघटनाहरु नेपालमै भएका छन् । के यी क्रान्तिकारी सफलताहरु हुन् ? के पछिल्ला परिवर्तनले सफल क्रान्तिको प्रतिनिधित्व गर्छ या गर्दैन ?

नेपालमा जनताको क्रान्तिको व्यापक चाहना र संघर्षका बावजुद केही न केही उपलब्धिपूर्ण काम त भए । यसमा खुसी सबैले मान्नुपर्ने हो तर जनताले सोचे र खोजेजस्तो आमूलपरिवर्तन भने हुन सकेन । नेपाली राजनीति परिवारवादको बिर्ताकै पेरिफेरिमा चलिरहेको छ । एउटै बयोबृद्द नेताले पटकपटक सत्ताको बागडोर सम्हालिरहेको अवस्थाले गर्दा राजनीति भ्रष्ट ब्यक्तिहरुकै चङगुलमा फसेको छ । जब क्रान्तिका नाममा सुधार हुननसक्दा जनतामा र कार्यकर्तामा असन्तुष्टि र निराशा पैदा नभएर अरु के हुन्छ त ? हामी आजको नेपालमा निरासा भइ पलाएन हुन सक्दैनौ, न त राजनीतिप्रति घृणा गर्दै बेखबर रहन सक्छौं । बरु जनताको असन्तुष्टि र मागलाई सम्बोधन गर्ने नयाँ क्रान्तिकालागि निराशाको अन्त्य अब कसरी गर्ने भन्ने बहस नेताहरूले जनमानसमा चलाउन नसकेकै हुन् । यो सबैभन्दा ठूलो गल्ती उनीहरूले गरेकै हुन् । त्यसैले निराश जनताको विरोधलाई दमन गरेर होइन, विगतको क्रान्तिको सफलतामा रहेका सीमालाई हराएर मात्र सम्बोधन गर्न सकिन्छ । राजनीति राज्यको शासन व्यवस्था सम्बन्धि नीति हो भने राजनीतिमा लाग्नेले गर्ने काम चाँहि एक किसिमले समाजसेवा नै हो । त्यसैले हिजोका दिनमा त्यागको राजनीति हुन्थ्यो । एका दुई कोही त्यागी थिए ती सबै केही न केही दाम होइन नाम कमाएर सदाका लागि बिदा भएर गए । तर उनीहरूसंगै हिजो राजनीति गरेकाहरु आज ५० गुणा बढी धनाढ्य हुन पुगे, आलिसान महलका धनी बने । जनताको भाग्य र भविष्यलाई खेलवाड गर्न पुगे पश्चात् अहिले जनतामा सर्वत्र निराशाको बादल मडारिन पुगेको छ । पहिले त्यागको राजनीति हिजो थियो भने यतिबेला नगदले भरिएको ब्यागको राजनीति बढदो छ, मनी, मसल, पावरको । त्यसैले गर्दा राजनीतिको पर्याय पद यतिबेला फोहोरी राजनीति भएको छ । अबका दिनमा दलहरुले जनतामाझ निराशाहरु चिर्ने र भरोसा जगाउने चुनौती अगाडि आएको हुनाले जनतालाई बितृष्णा हटाउन सक्नुपर्छ । यदी अब पनि हटाउन सकेनन् भने शीर्ष नेताहरूले धेरै झापड खाने निश्चितप्रायः छ । भनिन्छ – ‘राजनीति सही ठाउँमा नरहेसम्म या राजनीतिले उपयुक्त बाटो नपक्रिएसम्म मुलुकका अन्य यावत क्षेत्रलेपनि फूल्ने, फल्ने र फस्टाउने अवसर पाउदैनन् ।’

विगतदेखि वर्तमान समयको वर्षमा घटेका परिघटनाहरु केलाएर हेर्दा निराशै निराशामात्र जनतामा छायो । यसले पनि आगामी दिनमा राजनीतिक घटनाक्रमको अवस्थाको मार्गचित्र राम्रो भने देखिन्न । यी कुराले पनि लोकतन्त्रको खिल्ली उडाउने मात्र नभइ यसको भविष्यलाई नै धक्का दिने या धरापमा पार्ने संकेतहरु विगतका वर्षहरुमा भए । हिजो निकै आशा गरिएका राजनीतिक दलहरु बिब्ल्याटा र विफल देखिएका निराशाको धमिलो पानी अझै धमिल्याउन उद्दत देखिन्छन् । एउटै पार्टीभित्र गुटबन्दी चलेको छ, सबै प्यानल – प्यानलमा बिभक्त छन् । होहोरेका भरमा कमाउनतिर लागेका आलाकाचाहरु आज जिल्ला, प्रदेशदेखि केन्द्रसम्म राजनीतिक प्यानलमा पुगिसकेका छन् । यतिबेला नेपाली समाजमा हुर्कदो अपराध प्रवृत्ति छ । मानवीय मूल्य अनि मान्यतामा खडेरी लागेको छ । यही राजनीति लिकले सही दिशा नलिँदा अबका दिनमा जीवनको रेलको राजनीति भाष्य कता जादैछ ? आगामी मिसन–०८४ को नेतृत्व गर्ने कुन दल हो ? आजको राजनीतिक अवस्था एकदमै तरलतातर्फ उन्मुख भएको हुनाले हिजोका चुनावहरुको परिणाम र अब हुने चुनावी परिणामको मूल्यांकन गर्नु भन्दा पनि जनतालाई निराशा नछाउने खालका महत्वपूर्ण कामहरु वर्तमान सरकारले गर्न सक्नुपर्छ । संघर्ष र आन्दोलनबाट प्राप्त दुरगामी महत्वका उपलब्धिको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउनेतर्फ सम्पूर्ण नेता तथा जनता अब जाग्नैपर्छ ।

Author

You may also like