विमल लामिछाने….
दमक, २२ चैत। दमक नगरपालिका कार्यालयले चालु आर्थिक वर्षकालागि ३१५ वटा भौतिक पूर्वाधारको योजना तर्जुमा गरेकोमा हालसम्म १०८ वटा सम्पन्न गरेको छ ।
दमक नगरपालिकाले आर्थिक वर्ष २०८०÷ ०८१ मा नगर तथा वडास्तरीय ३१५ वटा योजना तर्जुमा गरेको भएपनि १८६ वटा योजनामात्रै सम्झौता भएका थिए, जसमध्ये १०८ वटा योजना मात्रै सम्पन्न भएका छन् ।
यसैगरी संघ र प्रदेशबाट प्राप्त १४ योजनामध्ये ९ वटा योजना सम्झौता भएतापनि आठ महिनाको अवधिमा एउटै पनि योजना सम्पन्न हुन नसकेको नगरको पूर्वाधार विकास योजना शाखाले जनाएको छ ।
यही आर्थिक वर्षको फागुन १६ गते बसेको दमक नगरसभामा नगरको अनुगमन तथा सुपरीवेक्षण समितिको बैठकले भौतिक पूर्वाधारतर्फ ३१५ वटा योजना रहेको १६२ वटा योजना सम्झौता भएको, ८४ वटाको फरफारक समेत भइसकेको र ७८ वटा योजनाहरु सञ्चालनमा रहेको जनाएको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा सम्पन्न गरेका योजनाहरुमा कल्भर्ट १ वटा, सहरी सौन्दर्यकरण सम्बन्धी योजना ५ वटा, कम्पाउण्ड वाल ४ वटा, भवन÷ विद्यालय र आवास १७ वटा, नदी नियन्त्रण सम्बन्धी १० वटा, नाला सफाई तथा पानी निकास २ वटा, कालोपत्रे ८ वटा, मन्दिर गुम्बा संरक्षण १ वटा, खानेपानी १ वटा, ढल तथा ग्राभेल ७ वटा, ग्राभेल तथा पुराई ७ वटा, ढल तथा लकिङ १४ वटा, मुक्तीघाट १, बजार व्यवस्थापन पार्क ४ वटा, गेट निर्माण २ वटा रहेको दमक नपाको योजना शाखा सह इन्जिनियर कमलप्रसाद दाहालले जानकारी दिए ।
दमक नगरले बनाएको नगरस्तरीय अनुगमन तथा सुपरीवेक्षण समिति संयोजक तथा नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाईं)ले नगरले प्रयास गर्दा गर्दै पनि दक्ष जनशक्तिको अभावमा भौतिक पूर्वाधारका कतिपय योजनाहरु समयमा सक्न र गुणस्तरीय बनाउन नसकेको बताइन् । उनले संघीय परियोजना, प्रदेशका योजना र स्थानीय स्तरका योजनाहरुमा समेत गुणस्तरीय सामग्री प्रयोगमा समस्या देखिएको जानकारी दिइन् । उनले भनिन्– ‘हरेक योजनाहरु स्थानीय तहलाई उत्तरदायित्वबोध हुनेगरी दिन सकेमात्रै योजनामा गुणस्तरीयता र एकरुपता ल्याउन सकिने देखिन्छ, कतिपय प्रदेश र संघीय योजनाहरुमा अनुगमन र सुपरीवेक्षण गर्ने निकाय नै कमजोर छन्, जसले गर्दा निर्माण कम्पनीले जस्तो बनायो त्ससैमा विश्वास गर्नुपर्ने र भर पर्नुपर्ने बाद्यता छ ।’
स्थानीय निकायलाई नै योजनाको मूल जिम्मेवार नबनाएसम्म भौतिक पूर्वाधारका काम समयमै नसकिने र गुणस्तरीय नहुने अहिलेसम्मका भौतिक पूर्वाधारका योजनाहरुको अनुगमनबाट बुझिएको उपप्रमुख भट्टराईले बताइन् ।
भौतिक विकास योजना अन्तरगत दमक नगर अर्को फड्को मार्ने चरणमा अघि बढेको छ । दमकको बढ्दो सहरीकरणसँगै सडक व्यवस्थापनका लागि एशियाली विकास बैंक (एडीबी) सँगको विशेष योजना अघि बढेको छ ।
नगरले प्रस्ताव गरेका ३२ वटा सडकमध्ये वडा नम्बर ६ र ७ बाहेकका सबै ८ वटा वडा समेटिने गरी २६ वटा सडक योजनाकालागि प्रस्तावका रुपमा अघि सारेको हो । जसको मापदण्ड पूरा गर्न नगरले काम अगाडि बढाएको छ । योजनाकालागि सडक क्षेत्रको विस्तृत परियोजना (डीपीआर) बनाउने काम सम्पन्न भइ पूर्वी सहरी करिडोर आयोजनामा बुझाईसकिएको दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले जानकारी दिए । उनका अनुसार अब तोकिएको मापदण्ड पूरा गर्नसके सरकारसँग एशियाली विकास बैंकले ऋण स्वीकृत गरेपछि कालोपत्रेको काम सुरु हुनेछ । ‘पूर्वी सहरी करिडोरले कोशी प्रदेशका ६ वटा पालिकासहित दमकलाई पनि छनौट गर्यो । जसको डीपीआर तयार गरी पूर्वी सहरी करिडोर आयोजनामा बुझाइएको हो ।’
आरयूडीपी अन्तर्गत पूर्वी सहरी करिडोर आयोजनामार्फत सडक योजना कार्यान्वयनका लागि दमक नगरपालिकाले सडकको स्तरोन्नती सहितको व्यवस्थापनमा विशेष योजना प्रस्तावले नगरमा आशा जगाउने सम्भावना रहेको नगरप्रमुख रामकुमार थापाले बताए । सहरीकरणको उचित व्यवस्थापनका लागि सडकको स्तरोन्नतिमा पछिल्लो समय दातृनिकायले लगानी गर्न इच्छा राखेपछि दमक नगरपालिकाको पहलमा योजना प्रस्ताव पेश गर्नकालागि नगरले अवसर पाएको दमक नगरपालिका प्रमुख थापाको भनाइ छ ।
विभिन्न सहरमा लगानीका लागि दातृनिकायले चासो लिएसँगै एशियाली विकास बैंकले ऋण सहयोगमा लगानी गर्ने भएपछि दमक नगरभित्र साढे ४५ किलो मिटर बढी बाटो कालोपत्रे गर्ने प्रश्ताव पेश गरेको थियो ।
दमक नगरका सहरीक्षेत्र अन्तरगत ८६ दशमलव ८० किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने १२४ किलोमिटर ग्राभेल रहेको छ । ग्रामिण क्षेत्र अन्तरगत १६ दशमलव ४० किलो मिटर कालोपत्रे र ३ दशमलव ४ किलोमिटर ग्राभेल रहेको छ भने ४२ किलो मिटर ‘माटे सडक’ रहेको छ ।