दमक । नसर्ने दीर्घ रोगहरुको रोकथाम, निदान र व्यवस्थापनका लागि झापाको दमक नगरपालिकाले वडा वडामै डाक्टरहरुको टोली परिचालन गर्ने भएको छ । त्यसका लागि स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य धमाधम भइरहेको छ । सोही कार्य अन्तर्गत नसर्ने दीर्घ रोगहरुको रोकथाम, निदान र व्यवस्थापनका लागि दमक नगरपालिकामा स्वास्थ्यकर्मीहरुलाई विहीबारदेखि चार दिने विशेष तालिम दिइरहेको छ । तालिममा दमक नगरपालिका मातहतका आधारभूत स्वास्थ्य केन्द्र लगायतमा कार्यरत ६० जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको छ । सो तालिम नगरपालिकाको ‘नगरवासीको स्वास्थ्य, हाम्रो जिम्मेवारी’ भन्ने १५ औं नगर सभाले तय गरेको नारालाई व्यवहारमा रुपान्तरण गर्ने उद्देश्यअनुसार संचालन गरिएको हो ।
तालिमको उद्घाटनका क्रममा कार्यक्रमको अध्यक्षता गरेका नगर प्रमुख राम कुमार थापाले नेपाली जनताका लागि शिक्षा र स्वास्थ्य निःशुल्क र सर्वसुलभ गर्न सक्नुपर्ने आफूहरुको ध्येयअनुसार नगरपालिकाले वडा र गाउँ टोलमा नै गएर स्वास्थ्योपचार गर्ने प्रयास गरिएको तर कार्यान्वयनका क्रममा विभिन्न कठिनाई र समस्याहरु आएकाले चालू आ.व.मा ९० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई भने वडा कार्यालयहरुमानै स्वास्थ्योपचारको व्यवस्था गरिएको जानकारी गराए । नगर प्रमुख थापाले वडा वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरुबाट सम्भव भएसम्मका स्वास्थ्य सेवाहरु प्रदान गर्ने र नगरवासीलाई सामान्य स्वास्थ्य समस्याहरुमा पनि डाक्टरकोमा टाढासम्म धाउनुपर्ने स्थितिको अन्त्य होस् भन्ने गरी काम गर्ने प्रयास रहेको प्रष्ट पारे । दमक नगरपालिकाका सबै वडाहरुमा स्थानीयवासीको स्वास्थ्योपचारका लागि आधारभूत स्वास्थ्य
बिमारी…केन्द्रहरु रहेका छन् । नगर प्रमुख थापाको भनाई छ– नगर प्रमुख हुनु अघि पनि म जनप्रतिनिधी थिएँ । १५ वर्षसम्म एउटा वडाको वडा अध्यक्ष रहे । जनताको दु ःख सुखसँग प्रत्यक्ष संलग्न छु । भौतिक विकास भन्ने कुरा प्रकृयागत निरन्तर अगाडि बढिरहन्छ । तर शिक्षा र स्वास्थ्य जनताका नैसर्गिक अधिकार कुण्ठित भएको देख्दा चिन्ता लाग्थ्यो । जनताका छोराछोरीले निःशुल्क पढ्न पाउनु पर्दछ । घर–घरमा पुगेर स्वास्थ्य सेवा दिन सक्नुपर्छ भन्ने मान्यता राखेर मात्र हुँदो रहेनछ । प्रयास गरिरहेका छौं, कुनै दिन लक्ष्यमा पुग्ने आशा भने मरेको छैन ।’
१३ औ नगरसभाले शिक्षालाई प्राथमिकतामा राखेर ल्याएको कार्यक्रमले अब दमकको शैक्षिक स्तरमा सुधारको संकेत आइसकेको छ भने १५ आंै नगरसभाले स्वास्थ्यमा दिएको प्राथमिकताले आमूल सुधार र परिवर्तन ल्याउने आशा गरिएको छ । अब सानातिना स्वास्थ्य समस्यामा डाक्टर खोज्दै ठूला अस्पताल जाने प्रकृयाको अन्त्य गर्दै गाउँ–गाउँ स्वास्थ्यकर्मीहरु पसेर गाउँमा के–कस्ता बिरामी छन् त्यहाँको तथ्याङ्क लिने, कुन बिमार लाग्दैछ भन्ने पहिचान र निदानका लागि के गर्नुपर्छ भन्ने सल्लाह दिने, आवश्यकता अनुसार घर–घर पुग्ने, वडा–वडाका स्वास्थ्य केन्द्रबाट सेवा पु¥याउने नगरपालिकाको योजना रहेको छ । सुगर, प्रेसर, मिर्गौला, दम लगायतका दीर्घ रोगहरुको जाँच उपचारलाई बाहिर गइरहनु पर्दैन । चालू आ.व. मा ७ वटा वडामा ल्यावहरु स्थापना भइसक्ने छन् । अर्को वर्षसम्म सबै वडाहरुमा ल्याव स्थापना हुने छन् । त्यहीँनै स्वास्थ्य जाँच, डाक्टरको सेवा समेत रहने छ । हप्तामा दुई दिन प्रत्येक वडामा मेडिकल डाक्टर पुग्नेछन्, भदौदेखि असारसम्म प्रो. संजिव शर्माको टिमले महिनाको एक–एक गर्दै दमकका १० वटै वडामा सेवा दिनेछन् । ९० वर्ष माथि र ‘क’ वर्ग अपंगता भएका व्यक्तिहरुको घर–घरमा वर्षमा तीनपटक स्वास्थ्यकर्मीहरुको टोली पुग्नेछ । हाल चालू तालिममा बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रोफेसर संजिव शर्माको नेतृत्वमा रहेका प्राध्यापक अनुप घिमिरे, डा. प्रदिप कटुवाल, डा. उज्वल गौतम, डा. अविनाश देव, नेपाल सरकारको तर्फबाट बीर अस्पतालका सिनियर कन्सल्टेण्ट डा. फडिन्द्र बराल, प्रदेश सरकारका नीति तथा योजना प्रमुख डा. सुरेश मेहता, प्रदेश अस्पताल मेचीका वरिष्ठ कन्सल्टेण्ट डा. मनिष सुवेदी लगायतले तालिममा सहजीकरण गरिरहेका छन् ।
खासगरी रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नबाटै बचाउनु तथा प्राथमिक तहमा दीर्घ रोगको रोकथाम पहिचान र व्यवस्थापन कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । प्रोफेसर संजिव शर्माले उपचारको क्रममा एउटा उदाहरण दिँदै ‘क्युवाको स्वास्थ्य प्रणाली विश्वकै नमुनायोग्य रहेको छ । त्यहाँका चिकित्सकहरुले बिमारी जाँची रहनुको बदला उनीहरु घरघर पुगेर यो खानुहुन्छ, यो खानु हँुदैन, रोगबाट बच्न एक घण्टा वा आधा घण्टा हिंड्नु पर्छ भनेर सल्लाह दिँदा ज्येष्ठ नागरिकको स्वास्थ्य स्थिति धेरै हदसम्म ठीक हुने गरेको स्मरण गराए ।’ तालिम कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले भने नगरपालिकाको कार्य–योजनालाई अहिलेको तालिम कार्यक्रमले मूर्तरुप दिन सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे । थापाले विगतमा विभिन्न कारणले काम दिन नसकिएको र जनतासँग जोड्न नसकिएको यथार्थ पस्किँदै अब जनतासँग जोडिने माध्यम बनेकोले इमान्दारिता र जिम्मेवारपूर्वक अभियानमा लाग्न सम्बद्ध निकायलाई निर्देशनसमेत दिए । सम्बोधनका क्रममा नगरप्रमुख थापाले कार्यक्रम उपलब्ध गराउने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका संस्थाहरुलाई धन्यवादसहित कृतज्ञता जाहेर पनि गरे ।
