पालिका गतिविधि

उर्लाबारीलाई फूलमा आत्मनिर्भर बनाइने

४ साउन, उर्लाबारी । उर्लाबारी नगरपालिकाले फूलमा नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ फूलको बीउ वितरण गरेको छ । व्यावसायिक रुपमा फूल खेती गर्ने कृषकहरुलाई सयपत्री फूलको बीउ र मल वितरण गरिएको छ ।

कृषकहरुको मागको आधारमा साढे २३ हजार सिड बीउ वितरण गरिएको हो । नगर उपप्रमुख मीना खतिवडा पौडेलले १२ कृषक तथा समूहलाई बीउ वितरण गरिन् । उर्लाबारीलाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने योजना अनुसार कृषकहरुलाई निःशुल्क बीउ वितरण गरिएको उनले बताइन् । फूल खेती गर्न इच्छुक कृषकका लागि नगरपालिकाले ७ दिने सूचना प्रकाशित गरेको थियो । सोही अनुसार निवेदन दिएका कृषक र कृषि समूहलाई बीउ वितरण गरिएको कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलले जनाए । कर्मा ५५५ जातको वर्णशंकर बीउ र प्राङ्गारिक मल वितरण गरिएको उनले जनाए । फूल हुर्कँदै गएपछि आवश्यक पर्ने भिटामिन र विषादी पनि प्रदान गरिने शाखा प्रमुख लुइटेलले बताए ।

गत वर्ष उर्लाबारी फूलमा ७० प्रतिशत आत्मनिर्भर भएको र यस वर्ष शतप्रतिशत आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ । चाडपर्वका समय तथा अन्य कार्यमा फूल आवश्यक पर्ने भएकोले यसको व्यावसायिक खेतीका लागि कृषकहरुलाई प्रोत्साहन गरिएको नगर प्रमुख गंगाप्रसाद खरेलले उल्लेख गरे । भारत तथा नेपालका विभिन्न जिल्लाहरुबाट सयपत्री फूल आउने गरेकोमा अब यहाँका किसानहरुले फूल उत्पादन गरी परनिर्भरता हटाउने उनको भनाई छ ।

फूलको बीउ राखेको ९० दिनमा उत्पादन लिन सकिन्छ । कृषक समूह, कृषकले विशेष गरी दशैँ तिहारलाई लक्षित गरेर फूलखेती सुरु गरेका छन् । एउटै समूहले पाँच हजार सिडसम्म लगेका छन् । फूलको व्यावसायिक उत्पादन हुँदा आर्थिक उपार्जन गर्न सकिने, खेर गइरहेको जमिनको सही सदुपयोग हुने, फूलको माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिने नगरपालिकाले विश्वास लिएको छ । नगरपालिकाले फूल खेती सम्बन्धी प्राविधिक सहयोग पनि गर्दै आएको छ ।

Author

You may also like