पालिका गतिविधि मुख्य

दमकबाट १४ करोड २४ लाख राजस्व

१० जेठ, दमक । दमक नगरपालिका कार्यालयले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा अघिल्लो वर्षभन्दा बढी राजस्व संकलन गरेको छ ।

असारदेखि वैशाखसम्मको १० महिने अवधिमा पालिकाले १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व संकलन गरेको नगरका सूचना अधिकारी समिप चुडालले जनाए । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व संकलन गर्न सफल भएको पनि उनले उल्लेख गरे ।

चालु आवमा २१ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व संकलन गरिएको उनले जानकारी दिए । ‘अघिल्लो वर्ष यो अवधिसम्मको राजस्व संकलन बढी भएको खुसीको कुरा हो । तर चालु आवको दुई महिनामा राजस्व संकलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन चाँही कठिन छ ।’– उनले भने । दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व संकलन गर्दै आन्तरिक आय गर्दै आएको छ ।

गत आवको १० महिनामा दमक नगरपालिकाले ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व संकलन गरेको थियो ।

चालु आवको हालसम्म नगरपालिकाले हालसम्म सम्पत्ति करबापत दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत एक करोड ६० लाख रकम संकलन गरेको सूचना अधिकारी चुडालले बताए । नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत करबापत एक करोड ६४ लाख, सम्पत्ति करबापत एक करोड ५५ लाख, नक्सापास दस्तुरबापत एक करोड ६० लाख, बहाल करबापत एक करोड १८ लाख बढी संकलन गरेको छ ।

You may also like