धर्म र राजनीति दुवै एक अर्काको प्रतिपूरक र प्रतिस्पर्धी सामाजिक शक्तिको रुपमा देश र दुनियाको अगाडि देखा पर्न थालेको देखिन्छ । धर्म र राजनीति बीचको विरोधाभासका पातलिदो रेखाहरु यदाकदा युद्धको रूपमा पनि विश्वको अगाडि देखा पर्दछ । इजरायल र हमास बीचको युद्धलाई यसै श्रेणीको युद्धको रूपमा लिन सकिन्छ। यहुदी राष्टू इजरायल र इस्लामिक राष्टू इरान परस्पर एक अर्काको शत्रु राष्टूको रुपमा परिचित छ । हजारौं वर्षदेखि यहुदी र इस्लाम, इसाई र इस्लाम, हिन्दु र इस्लाम तथा पर्सियन र इस्लाम बीच ठुलो मारकाट, विन्ध्वंश र युद्ध भएको इतिहास छ । धर्मले डोर्याएको राजनीतिक शक्तिले मानवतालाई कल्याण गर्नुको साटो सर्वनाश नै गरेको उदाहरणहरू श्रृङ्खलाबद्ध रुपमा भेटाउन सकिन्छ। संसारको सबैभन्दा ठूलो धर्म मानवता हो र मानवतावाद भन्दा ठूलो कुनै पनि राजनीतिक विचार होइन भन्ने कुरालाई विचार गर्ने दर्शन साहित्य र ऋषि मनिषी तथा विद्वानहरूको कमी छैन। तर पनि संसार युद्ध र विश्वयुद्धको आगोमा झोसिदै गएको छ। युद्धहरू रोकिने कुनै सम्भावना छैन । विश्वको सबैभन्दा ठूलो राजनीतिक शक्ति र सैन्य शक्ति भएको राष्टू अमेरिका, चिन, रुस र भारत बीच ठूलो आर्थिक र सामरिक प्रतिस्पर्धा चलिरहेको छ। जसले गर्दा राजनीति र धर्मबीच ठूलो प्रतिस्पर्धा छ। आर्थिक विचारधारा र राजनीतिक सन्तुलन बीचको गहिरो खाडलमा मानवता त्राहि त्राहि हुन थालेको छ। अस्त्र शस्त्र, हात हतियार र कुटिल कुटनीतिको माध्यमबाट वैश्विक स्तरमा शान्ति स्थापनाको प्रयासहरु गरिदैछ जुन आफैमा पनि विरोधाभासपूर्ण छ ।
संसारमा राजनीतिक सत्ताको स्रोत केन्द्र शक्ति बल नै रहँदै आएको हुनाले जुनसुकै र जस्तोसुकै राजनैतिक परिपाटीमा समाजलाई मार्गदर्शन गर्न बनेका सिद्धान्तहरू र कोरिएका बाटाहरूले भविष्यको सुनौलो बाटो तयार गर्नु साटो मानिसको भविष्य अझ जोखिमपूर्ण अनिश्चित तथा विध्वंसक रूप लिने अवस्था निर्माण हुँदै गइरहेको छ । राजनीतिक सत्ताको केन्द्रमा समाजको कस्तो शक्तिलाई र कस्तो विचारलाई स्थापित गर्ने र त्यसलाई समाजको मार्गदर्शक सिद्धान्तको रुपमा राष्टूलाई डोर्याउन गोरेटोको रूपमा तयार गर्ने एउटै विचार दर्शन सिद्धान्त र दृष्टिकोणले विश्वका समस्त मानव जातिहरूलाई डोर्याउन सक्दैन भन्ने कुरा अहिलेको विकसित वैज्ञानिक आविष्कार र विचारहरूको युगमा प्रमाणित भइसकेको छ। अरस्तुदेखि हिगेलसम्म र एन्जेल तथा कार्ल माक्र्स र बुद्ध तथा गान्धि सम्मका विचारहरू परस्पर विरोधी र अपूर्ण रहेको कुरा इतिहासले साबित गर्दै गइरहेको छ ।
चीनमा सन् १९५० को सांस्कृतिक क्रान्ति पश्चात अर्थ संस्कृतिलाई मात्र चीनले प्राथमिकता क्रममा राखेको हुनाले चीनका परम्परागत मूल्य मान्यता संस्कृति विचार धर्म र साहित्य सबै भौतिकतावाद तिर लक्षित र केन्द्रित हुँदै गयो । बुद्ध धर्मले पूर्ण रुपमा प्रभाव पारेको चीन धर्मविहिन नास्तिक देशको रुपमा आफूलाई उभ्याउन सफल भए। विश्वको आर्थिक महाशक्तिको रूपमा रूपान्तरण हुन खोज्दा पनि चीनले आफ्नो सैन्य गतिविधिहरूलाई जन ईच्छा अनुरूप ढाल्न सकेनन् ।
ग्रेटवाल अफ चाइनाको सीमाभित्र विश्वको कुनै पनि नयाँ विचार संस्कृति धर्म र संस्कृतिले प्रभाव पार्न नसक्दा चीन साम्यवादको एउटा प्रमुख खम्बाको रूपमा र कम्युनिस्ट क्रान्तिको एउटा अपराजित योद्धा देशको रुपमा विश्वको अगाडि उभिने अवसर प्राप्त गर्यो । चीनमा प्रोलेटेरियट क्रान्तिले बुर्जुवाहरूको समाप्तिको कारक तत्व बन्न पुग्यो सत्ताको प्रमुख शक्ति केन्द्रको रुपमा चिनियाँ कम्युनिष्ट क्रान्तिका नायकहरूले निर्माण गरेका कार्ल माक्र्स र माउत्से तुङ्गको विचारधाराले नै प्रमुखता पाउँदै गए। चीनको धर्तीमा अन्य विचारधाराहरूले मलजल गर्न पाएनन् ।सबै किसिमका प्राचीन धर्म संस्कृति परम्पराहरू सरकारले बनाएको मापदण्डबाट निर्धारण हुन थाल्यो। जनता जनता सबै समान भए। सबै समाजवादी भए ।सबै कम्युनिस्ट भए ।
सबै बीच रहेका भेदभावहरू हटेर गए ।कोही कसैको दास र कोही कसैको मालिक हुन पाएन। कोही भोक भोकै मर्ने र कोही खाँदा खाँदै मर्ने अवस्था पनि रहेन । राजनीतिक शक्ति सन्तुलनमा एकाधिकारवादी विचारले प्राथमिकता पाउँदै गए। एउटै दल, एउटै नीति, एउटै विचार, एउटै दर्शन, एउटै आवाज र,एउटै आदेश को भरमा चिनिया जनता बिहानदेखि बेलुकासम्म रोबोट झैँ चलायमान हुन थालेपछि चीनमा एउटा राजनीतिक दर्शनको रुपमा जनताले स्वीकार गरेको कम्युनिज्म नै देशलाई चलाउने नयाँ धर्मको रुपमा स्थापित हुँदै गयो। बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा ठूलो गुरु दलाइलामा तिब्बतको ल्हासा स्थित पोटाला दरबार परित्याग गरी भारततिर पलायन गर्न र शरणार्थी जीवन बिताउन बाध्य हुनुपर्यो । चीनका प्रमुख धर्मगुरु दलाई लामाले बुद्ध धर्मका लाखौं प्राचीन पुस्तकहरू खचरमा र गधामा बोकाएर रातारात तिब्बतबाट भाग्नुपरेको सत्य विश्वको अगाडि अहिले पनि छर्लङ्ग छ । बौद्ध साहित्यलाई बचाउन र बुद्ध धर्मग्रन्थहरुलाई बचाउन तथा बौद्ध मार्गीहरुको नेतृत्व गर्न धर्मगुरुले ठूलो अपमान र ठूलो पीडा भोग्दै अहिलेसम्म पनि भारतको हिमाचल प्रदेश स्थित धर्मशालामा बाँचिरहेका छन् । विश्वको सबैभन्दा ठूलो राजनीतिक संस्था संयुक्त राष्टू संघले पनि देश देश बीच रहेको झगडा, विवाद र युद्धको अवस्थाबाट संसारलाई जोगाउन सकिरहेका छैनन् । आज चीनमा मानव अधिकारको संकट छ । जनताले स्वतन्त्रतापूर्वक घुमफिर गर्न, धन सम्पत्ति आर्जन गर्न, शिक्षा हासिल गर्न, विचार अभिव्यक्ति गर्न पाइराखेका छैनन्। चिन विश्वको आर्थिक महाशक्ति भएर पनि आफ्ना देशका नागरिकहरूको लागि नागरिकहरूको मन जित्ने जनप्रतिनिधि बनाउन सकेका छैनन् । एउटा राष्टूपति एक चोटी शक्तिको प्रमुख केन्द्रमा पुगेपछि आजीवन त्यो ठाउँलाई नछोड्ने अवस्था अहिले पनि छ। लोकतन्त्र छ कि छैन भन्ने कुरा चीनमा गएर हेर्न र त्यसलाई बयान गर्न नसकिने अवस्था छ। सेना नियन्त्रित तथा राज्य नियन्त्रित अर्थव्यवस्था र समाज व्यवस्थाले देशको भावी पिढीलाई कस्तो गन्तव्यमा पुर्याउला यो चीनमा मात्र होइन चीन बाहिरका देशहरुमा पनि ठूलो चर्चाको मुद्दा बनेको हुनुपर्दछ। पूर्व सोभियत सङ्घ ढलिसक्दा पनि हाल विश्वको महाशक्ति राष्टूकै रुपमा रहेका रसिया अहिले पनि कठोर शासन र प्रशासनतन्त्रको भरमा बाँचिरहेको छ । रसियामा पनि लोकतन्त्र को सम्बन्धमा बोल्न र लेख्न समस्या छ । हाल रुसमा बहाल रहेको एकदलीय कम्युनिस्ट शासन प्रणालीले गर्दा त्यहाँको सरकार पूर्णरुपमा निरंकुश र मानवता विरोधी सरकारको रुपमा स्थापित भइरहेको छ। युक्रेन र रुस बीच चलेको लामो युद्धले रुस र चीन तथा रुस र युक्रेन बीचको सम्बन्धलाई मात्र बिगार्दैन यसले विश्वकै पनि आर्थिक सन्तुलनलाई र राजनीतिक स्थिरता तथा सहकार्यलाई धुजाधुजा पार्न सक्ने अवस्था सिर्जना भइरहेको छ। रूसमा पनि परम्परागत धर्म समाप्त भइसकेको छ। जनता राज्यको मेसिनरी सरह प्रयोग गरिन्छ । पुँजीवादमा जनताले उपयोगितामाथि शासन गर्दछ। भने साम्यवादमा उपयोगितामाथि राज्यले शासन गर्दछ । पुँजीवादी आर्थिक प्रणालीमा व्यक्तिगत स्वतन्त्रता पूर्णरूपमा बहाल रहेकोले व्यक्तिले आफ्नो आर्थिक हैसियत अनुसार वस्तु र सेवाहरूको उपयोग गर्न सक्दछन् भने साम्यवादी आर्थिक प्रणालीमा वस्तु र सेवाको उपयोग र उपभोग गर्ने अवस्था आर्थिक शक्ति को कारणले नभई आवश्यकताको आधारमा निरूपण गरिएको हुन्छ। देशको सम्पूर्ण धन सरकारी धन हुने भएकोले आवश्यकताभन्दा बढी मात्रामा कसैले पनि सञ्चय गर्न सक्दैन । जब कि पुँजीवादी अर्थतन्त्रमा आफ्नो आर्थिक हैसियतको आधारमा उच्च उपभोगको अवस्थासम्म जान सकिने र पुँजीकरण बढाउँदै बचत निर्माण गर्ने धनसम्पत्ति संग्रह गर्ने व्यक्तिगत अधिकारहरूको प्रयोग गर्ने लगायतका नागरिक स्वतन्त्रताहरु रहेको हुनाले धर्म संस्कृति परम्पराका विचारहरू पनि जनताले अनुगमन गरिरहेको हुनुपर्दछ । चीनमा ईश्वरको मृत्यु भइसकेको र रुसमा पनि ईश्वरको मृत्यु भइसकेको मान्यता छ । उत्तर कोरियामा पनि ईश्वर सम्बन्धी विचारधारा लाई मान्नेहरु अपराधी ठानिन्छन। तर बाँकी विश्व जो साम्यवादी दर्शनमा हिँड्दैन र विश्वास गर्दैन त्यसले केही न केही मात्रामा आफ्नो मूल संस्कृति विचार र धर्मलाई तथा परम्परालाई पनि पालन गरेको हुन्छ । संसारका गरिब देशहरू तथा विकासशील देशहरू आर्थिक महाशक्ति बन्न नसके पनि धर्म र संस्कृतिमा महाशक्तिकै रुपमा उदाइरहेको अवस्था छ । इरान फिलिस्तीन, पाकिस्तान अफगानिस्तान लगायतका कयौं इस्लामिक मुलुकहरू इस्लामिक मूल्य मान्यता परम्परा र प्रचलनहरूलाई अनुगमन गरिरहँदा ती देशहरूमा आर्थिक विकास गर्न ठूलो बाधा पुगिरहेको देखिन्छ ।इस्लामिक मुलुकहरूमा सबैभन्दा माथि धर्मलाई नै प्रधानता दिएको हुनाले उनीहरु गरिब रहेका कुराहरु पटकपटक मिडियामा आइरहन्छन । भारत परम्परागत रुपमा नै हिन्दु र बौद्धहरु बसोबास गर्ने मुलुकको रुपमा रहेको हुनाले भारतमा अनेकौं किसिमका चाडपर्वहरू रीतिरिवाजहरू परम्पराहरू मानिसहरूले पालना गरिरहनु पर्दा धर्मलाई र परम्परालाई सबै कुराहरु भन्दा माथि राखिने गरिएको छ। नेपालमा पनि नेपाली नागरिकहरूले धर्म र संस्कृतिलाई ठूलो महत्व दिने गरेका छन् आफ्नो मूल्य मान्यता, विचार,चाडपर्वहरू, पहिरनहरू, भाषाहरूलाई बढी महत्व दिने गरिएकोले आर्थिक रुपमा सामथ्र्यवान हुन नसके पनि सांस्कृतिक रुपमा समर्थ रहेको राष्टूको रुपमा नेपाल पनि विश्वमा सबैभन्दा अगाडि रहेको छ । नेपालको जात जाति र वर्ण व्यवस्था का सबै दुर्गुणहरु राजनीतिक प्रणाली भित्र प्रवेश गरी सकेको छ ।
अहिले नेपालको राजनीति महाराज मनुले बनाएको वर्ण व्यवस्था झैँ आकार लिन थालेको छ । गुण र कर्मको आधारमा बाहुन, क्षेत्री, वैश्य र शुद्र वर्ण व्यवस्था भए झैँ नेपाल का राजनैतिक प्रणाली र परिपाटी विकसित हुँदै छ। तल्लो र माथिल्लो जात जातीय विभाजनको चेपमा परेका निमुखाहरुको लागि राजनीतिक दलहरुले बोल्ने गरेका भाषाहरू मनु महाराजको संस्कृत को श्लोक जस्तै भएको छ। एक अर्काको विरुद्ध विष वमन गर्ने दलहरु एक आपसमा कति असहिष्णु छन् भने पहिला आफ्नो स्वार्थ ,त्यसपछि नेताको स्वार्थ र अन्तिममा भागबन्डा गरी देशलाई चूथो बनाउने दलको स्वार्थ तथा सत्ता सुख भोग्ने लालसाले शक्ति केन्द्रमा पुग्न न सकेका दलहरु तथा जनताहरू राष्टूकै मूलधारमा समाहित हुन न सकेको पीडा बोधलाई राज्यले किन र कसरी महसुस गर्न सकेन भन्ने कुरालाई मनन गर्नु जरुरी छ ।

Author

You may also like