दमक/ हिन्दू महिलाहरुको पवित्र र महान पर्व हरितालिका तीज हर्षोल्लासका साथ देश तथा विदेशमा मनाइयो । सोमबार दर खाएर मंगलबार निराहार ब्रत बसेका महिलाहरु बिहानैदेखि विभिन्न शक्ति पिठहरुमा गएर भगवान शिवको आरधनासहित साथै दिउँसो मनोरञ्जनात्मक सांगीतिक माहोलमा झुमेर बिताएका थिए ।


भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
सोही मान्यताअनुसार वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि साथीले हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको परेकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।


सत्ययुगमा यहि दिनमा निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ, तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्को भनाई छ “निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने उनीहरुको तर्क छ ।
यसै सन्दर्भमा दमकमा रहेको पशुपति मन्दिरमा बिहानैदेखि घुइचो लागेको थियो । दिउँसो उल्लासमय वातावरणमा नाचगान समेतको कार्यक्रम सम्पन्न भयो ।
हजारौं महिलाहरुको उपस्थितिमा राष्ट्रिय कलाकार अन्जु गौतमको गीत र सामुहिक नृत्यले धर्मानुरागी महिलाहरुमा उत्साह थपेको थियो । साथमा स्थानीय कालाकार अपेक्षा तामाङ र सकुन्तला कार्कीको प्रस्तुतिले मनोरञ्जन दिएको थियो । पशुपति आध्यात्मिक महिला समूह र पशु्पति मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा आयोजित तीज कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले शुभकामना दिएका थिए । सो कार्यक्रममा आध्यात्मिक समूहका सचिव मीनाकुमारी कोइरालाले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन महिला समुहकी अध्यक्ष रीता थापाले गरेकी थिइन् ।


यसैसन्दर्भमा तीज पर्वको सन्दर्भ पारेर वर्षेनी कार्यक्रम गर्दै आएको दमक ८ स्थित पशुपति किर्तन मण्डलीले सदा झै यो वर्ष पनि विविध कार्यक्रमका साथ तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा तिजको पुजा, आमा सम्मान तथा नाचगान समेत भएको थियो । संस्थाकी अध्यक्ष डोयना दाहालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथि नगर उपप्रमुख रेगिना प्रसाई भट्टराई रहेकी थिईन ।
सो अवसरमा प्रमुख अतिथि प्रसाईले सम्मानित आमाहरुलाई बधाई तथा शुभकामना दिंदै आफ्नो संस्कार र संस्कृतिलाई भूल्न नहुने बताएकी थिइन् । स्वास्थ्यप्रतिको चिन्ता व्यक्त गर्दै ब्रत बसेका आमा दिदीबहिनीलाई पानी चाहि पिउन सल्लाह दिइन्। सो कार्यक्रममा संस्थालाई योगदान पु¥याए वापत जानुका निरौला, चन्द्रकला, मिना देवी मल्लिक र रेनुका देवी निरौलालाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सीता पाठक दुलालले गरेकी थिइन भने स्वागत मन्तव्य उपाध्यक्ष हुमा खनालले राखेकी थिईन ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भट्टराईलाई मायाको चिनो दिएर बिदाई गरिएको थियो ।

Author

You may also like