समाचार

प्रचण्डले धार बदलेकै हुन् ?

दमक/ २०६३ मङ्सिर ५ मा तत्कालीन माओवादी र सरकार बीच विस्तृत शान्ति सम्झौता भएयता तत्कालीन नेकपा (एमाले) माथि कटु आलोचना गर्ने खरो वक्ता कोही थियो भने त्यो माओवादीका ‘कमान्डर’ पुष्पकमल दाहाल प्रचण्ड नै थिए । त्यसमा पनि उनको बोली ‘एमालेकरण’को विरुद्धमा बारम्बार दोहोरिन्थ्यो । तर विडम्बना करिब डेढ वर्षअघि त्यही एमालेसँग उनले पार्टी एकीकरण गरे । त्यतिबेला पनि मदन भण्डारीले पार्टीमा स्थापित गरेको ‘जनताको बहुदलीय जनवाद’ भन्ने मान्यतालाई काउन्टर गर्न उनले ‘जनताको जनवाद’लाई अघि सारे । तर अहिले आएर उनले मदन भण्डारीकै मान्यता पछ्याउँदै पार्टी एकता गरेको बताएका छन् ।
हुन त शान्ति सम्झौतादेखि नै विश्लेषकहरुबाट माओवादीलाई ‘एमालेकरण’को आरोप लागिरहेको थियो । तर प्रचण्ड त्यसलाई स्विकारिरहेका थिएनन् । पछिल्लो समय भने उनको भाषामा बदलाब देखिन थालेको छ । उनी पूर्व एमालेको मन जित्न लागिपरेका छन् ।
पार्टी एकतापछि पनि पूर्वएमाले र पूर्वमाओवादी धार कायमै रहँदा उनले पूर्वएमालेको मन जित्न आफूलाई पुष्पलाल समूह भन्दै मदन भण्डारीको विरासत थाम्न आएको सङ्केत गरे । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई स्वास्थ्य स्थितिले साथ नदिरहँदा प्रचण्डमा भने ‘यु टर्न’को बदलाब देखिएको हो । यहाँसम्म कि उनले आफूलाई ओरिजिनल माओवादी नभएको जिकिर गरे । उनको यो जिकिरलाई व्यङ्ग्य गर्दै पूर्व एवम् घनिष्ठ सहयात्री डा. बाबुराम भट्टराई ट्विटरमा लेख्छन्, ‘पुष्पलाल ओरिजनल नभएपछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन आखिर तपाईंको ओरिजनल र डुप्लिकेट अवतार कसरी चिन्ने ?’
व्यङ्ग्यार्थ भए पनि भट्टराईको भनाइमा दम छ कि रङ बदल्न प्रचण्ड सिपालु छन् । उनी अगाडि लेख्छन्, ‘आफूलाई चौमको मदन भण्डारी पनि भन्न भ्याउनुभएछ । पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो कि ? यसरी माछा देखे भित्र हात सर्प भए बाहिर हात कहिलेसम्म ?’
काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूलाई माओवादीको जुठोबाट चोख्याउँदै भने, ‘२०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएको हुँ, पछि मात्र चौम भनिने चौथो महाधिवेशनमा लागेको हो ।’ पुष्पलाल समूह नै पछि गएर माले हुँदै एमाले बनेको हुनाले आफूलाई एमाले नै हुँ भन्ने उनको आशय देखिन्छ ।
‘म चौथो महाधिवेशन (चौम) को मदन भण्डारी नै हो,’ उनले आफूलाई मदन भण्डारीसँग पनि जोड्दै भने । आफ्नो राजनीतिक जीवनको आरम्भ तत्कालिन नेकपा एमालेको उत्पत्तिको बिन्दु मानिएको पुष्पलाल समूह नै भएको उनको तर्क थियो । यसरी प्रचण्डले पूर्व एमाले पक्षधरहरुको मन जित्न खोजेको प्रस्ट भएको छ । नेकपाभित्र अझै पनि प्रचण्डलाई पूर्व एमालेले नेतृत्वका लागि स्विकार्ने परिस्थिति बनिसकेको देखिँदैन । प्रचण्डलाई हिंसात्मक गतिविधिबाट आएको र चौमबाट नेता बनेकाले टाढाको ठान्नेहरू धेरै छन् ।
त्यसैले प्रचण्डले ती दुबै कुराको प्रतिवाद गर्दै आफू चौमको नभई पुष्पलाल समूहको भएको दाबी प्रस्तुत गर्न कसर बाँकी राखेनन् । कुनै बेला ‘प्रचण्ड पथ’को भित्तेलेखनले गाउँ भरेका प्रचण्डले यतिबेला आफू ओरिजिनल माओवादी नभएको बताउनुलाई कतिपय विश्लेषकहरुले उनमा आएको चरम सैद्धान्तिक विचलनको व्याख्यासमेत गर्न थालेका छन् ।

Author

You may also like