– : बबिता खड्का गेलाल : –
इटहरी । तीज मौलिक संस्कार र संस्कृतिका आधारमा मनाइने पर्व हो । यो पर्वले एकातिर महिलाका दुःख र वेदनालाई उजागार गर्दछ भने अर्कोतिर महिलाहरुको सशक्तिकरणको माध्यम पनि बन्ने गरेको छ । तर पछिल्लो समयमा तीजलाई भड्किलो र खर्चालु बनाइएको छ । कुनै समय थियो, गाउँघरमा मादलको ताल र मौलिक भाकाको गुञ्जनसँगै तीजको रौनक सुरु हुन्थ्यो । दिदीबहिनीहरू आँगनमा जम्मा भएर वर्षभरिका दुःख, बेदना र भोगाइलाई गीत गाउँदै मादलको तालमा नाचेर मन हल्का पार्थे । दिनभर काम अनि साँझ पर्नासाथ भेला भएर तीजका भाका गाउने चलन थियो । ती गीतहरू केवल रमाइलोका लागि मात्र हुन्थेनन् । मनका पीडा, व्यथा पोख्ने माध्यम बन्थे ।
इटहरी–८ निवासी सिता विष्ट भन्छिन– “रोपाइँ सकिने वित्तिकै साउनदेखि गाउँमा मादल घन्किन थाल्थे । सबै जम्मा भएर महिना दिनसम्म नाचगान गरिन्थ्यो । अब त ती सबै हराउँदै गए ।”
सोही स्थानकी सम्झना कार्कीको सम्झनामा पनि उस्तै छ । उनी भन्छिन “पहिले तीजमा महिलाले आफ्ना पीडा पोख्थे । गीत गाउने माध्यम आफ्नै आवाज थियो । अहिलेका गीत त भड्किला हुँदै गए, मनको बोझ बिसाउने ठाउँ हराए ।”
समय फेरियो । मादलको स्थान ‘साउण्ड सिस्टम’ र आधुनिक सङ्गीतले लियो । मनका बह पोख्ने मौलिक भाकाहरू भड्किलो र व्यावसायिक गीतहरूको भीडमा हराएको सामाजिक अभियन्ता इटहरी–८ निवासी हिरा चौधरी बताउँछिन । पुराना पुस्ताका लागि तीज केवल नाचगान र रमाइलो मात्र थिएन, विवाहपछि घरपरिवार र समाजबाट भोगेका पीडा, माइतीको सम्झना जस्ता विषयहरू तीज गीतका मुख्य विषयवस्तु थिए ।
इटहरी १८ निवासी ७८ वर्षीया अम्बिका श्रेष्ठ भन्छिन– “माइत जान पनि तीज नै कुर्नुपथ्र्यो, मिठोमसिनो खान पनि तिज नै कुर्नुपथ्र्यो । घरमा परेका पीडाहरु कहिले माइत पुगेर सुनाउँने, कहिले दाजुभाई लिन आउँछन भनेर बाटो हेरेर बस्ने गरिन्थ्यो । उनी भन्छिन– अहिले पुरानो पीडा दूःख त्यति छैन । बढी सहरमुखी बनेका कारणले पनि गाउँले परिवेशका ती दूःखका दिनहरु अहिले नभएका कारणले पनि तीज भड्किलो र खर्चिलो बन्दै गएको छ । ४ दिन मनाइने तीज अहिले महिना दिन अगाडिदेखि त्यो पनि अनेक थरीका बढी छाडा प्रवृत्तिका गीतहरुले भरिएका हुन्छन । नाचगानमै बढी रमाउने अहिलेको पुस्तालाई सम्भवतः तीजको मर्म र भावना नै थाहा छैन । विहान चार बजेभित्र खाइसक्नु दरको समय तालिका बदलिएको छ । राती उठेर खाने प्रचलन हराईसकेको छ । ब्रत पनि पुरानो पिढीले अनिवार्य ठान्दथे अहिले ऐच्छिक भईसकेको छ । अहिले महिलाहरु श्रीमानलाई गिराएर, उपहास गरेर ब्रतलाई खिल्ली उडाउने गरेको पाइन्छ । श्रीमानका लागि हामीले ब्रत लिँदा हाम्रा लागि पनि पुरुषले लिनुपर्ने भन्दै कतिपय पुरुषलाई बाध्य बनाएर पुरुषलाई ब्रत बसाउने गरेका छन् । पतिपवित्रता आजकल हराउँदै गएको उनको बुझाई छ ।
उबेलामा माइती लिन नआए रोएर बस्न बाध्य हुनुपर्दथ्यो । जान पाइन्थ्यो । मादल मुजुरा जस्ता परम्परागत बाजाहरूको तालमा गाइने यी गीतहरूमा भावनात्मक गहिराइ र मौलिकता थियो । अब त मादलको भाका सुनिनै मुस्किल पर्छ ।”
पछिल्ला केही वर्षयता तीज गीतको स्वरूपमा ठूलो परिवर्तन आएको छ । भड्किलो दुई अर्थी शब्दहरूको प्रयोग बढेको अर्की ७२ वर्षीया सावित्रा कार्की बताउँछिन् । उनका अनुसार विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने त्यो दर दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधानमा रहेको गुरुहरुले बताएको उनी सुनाउँछिन ।
मौलिकता हराउँदै जाँदा सबैभन्दा ठूलो असर मादलजस्ता परम्परागत बाजाहरूमा परेको उनको पनि ठम्याई रहेको छ । यसले एकातिर सांस्कृतिक पहिचानलाई कमजोर बनाइरहेको छभने अर्कोतिर मादल बनाउने र बजाउने पेसा संकटमा परेको छ । “तीज, तिहार, विवाह हुने सिजनमा पहिले खुबै मादल बिक्री हुन्थ्यो । मादलको साटो बाख्रासम्म दिने गर्थे तर अहिले मादल बेच्नै गाह्रो छ ।”
तीज गीतमा बढ्दो विकृति र मौलिकता हराउँदै गइरहेको बेला यसलाई जोगाउने प्रयास पनि भइरहेका छन् । विभिन्न स्थानीय तह, विभिन्न सामाजिक तथा धार्मिक संघसंस्था, धार्मिक संघसंस्थाहरुले मौलिक तीज गीत प्रतियोगिता आयोजना गरेर परम्परागत भाका र संस्कृति जोगाउने प्रयास गरिरहेका छन् । यद्यपि अबको पुस्ता रमाइलोमा बढी रमाउने भएकाले पनि अब पुराना पुस्ताका कुरा उनीहरुले त्यति सहज तरिकाले लिने गरेका छैनन । सुन्ने, बुझ्ने तर मनन नगर्दा मौलिक संस्कृति संरक्षणमा कठिनाई आएको पनि उनीहरुको बुझाई छ ।