विराटनगर/स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन शुक्रबारबाट विराटनगरमा सुरु भएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सम्मेलन शनिबारसम्म चल्ने छ । सम्मेलन उद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले विकासको सारथि महिला र पुरुष दुवै हुन् भन्ने मान्यतालाई नयाँ राज्य व्यवस्थाले स्थापित गरेको भन्दै महिलाहरुको औपचारिक प्रतिनिधित्व मात्र पर्याप्त नहुने बरु नेतृत्व र निर्णय क्षमता निरन्तर बढाउँदै लैजानु पर्नेमा जोड दिइन् । उनले महिला नेतृत्वले संविधानप्रदत्त अधिकार, भावनालाई कार्यान्वयन गर्दै समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउन योगदान गरिरहेको बताइन् ।
संविधान र कानुनले परिभाषित गरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा धेरै स्थानीय तहहरुमा प्रमुखहरुसँग विवाद हुने, असमझदारी भई काम गर्न समस्या हुने तथा कतिपय अवस्थामा बजेट निर्माणदेखि अनेकौं समस्याहरु झेल्नु परिरहेको सन्दर्भमा त्यसलाई थप स्पष्ट बनाउने विषयमा सम्मेलनमा व्यापक छलफल गर्ने कार्यतालिका रहेको विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले बताइन् । सम्मेलनमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उपप्रमुख तथा उपाध्यक्षहरु कानुनले दिएको जननिर्वाचित पद भएकोले त्यसको कार्यान्वयनलाई दृढतापूर्वक लाग्नुपर्ने बताइन् । उनले उपप्रमुखहरु इलेक्टेड हुने भएपनि सेलेक्टेडको जस्तै सीमाभित्र बाँध्न खोज्दा समस्या आउने गरेको बताइन् । सम्मेलनमा देशभरबाट २ सय ९१ जना उपप्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहेको छ । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जिम्मेवारी निर्वाह गर्दा आएका समस्याहरुको पहिचान गर्ने र समाधानका लागि पहल गर्न सम्मेलन महत्वपूर्ण रहेको बताइन् । उनले सम्मेलनमा आउने निश्कर्षहरुलाई विराटनगर घोषणापत्रको रुपमा जारी गरिने र त्यसको कार्यान्वयनका लागि प्रधानमन्त्री र मुख्यमन्त्रीहरुलाई अपिल गर्ने बताइन् ।

Author

You may also like