देश–समाज समाचार स्थानीय

स्थानीयदेखि राष्ट्रिय स्तरका विभिन्न घटनासहितका सारसंक्षेप समाचार

पूर्व राष्ट्रपति भण्डारीद्वारा प्रदर्शनी उद्घाटन
बिर्तामोड । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले झापाको बिर्तामोडमा आयोजित कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी छन् । बिर्तामोडको देवी माध्यमिक विद्यालयमा आयोजित विज्ञान प्रदर्शनीलाई मोबाइलको एप्सबाट दीप प्रज्वलन गरी उद्घाटन गरेकी हुन् ।
नेकपा एमाले विज्ञान तथा प्रविधि बिभाग कोशी प्रदेश कमिटीको आयोजनामा तीन दिने प्रदर्शनी संचालन भएको हो । विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेश कमिटी अध्यक्ष गणेश पोखरेलको अध्यक्षता तथा पूर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यतामा भइरहेको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश कमिटी इन्चार्ज शेरधन राई, प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बू, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरु लगायत करिब १२ सय जनाको उपस्थिति रहेको जनाइएको छ ।

चार जनामा कोरोना पुष्टि
दमक । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए अनुसार सुदूरपश्चिम प्रदेशमा सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन् ।
त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरू कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिए । उनले भने, ‘शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, सङ्क्रमितहरूलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ ।’ यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

ब्राउन सुगरसहित ८ जना पक्राउ
इटहरी । सुनसरीको कोशी गाउँपालिका – १ लौकहीबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार राति लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।
भारतको बिरपुर बजारबाट लागु औषध ब्राउन सुगर खरिद गरि नेपालतर्फ शंकास्पदरुपमा पैदल तथा स्कुटरमा आउँदै गरेको अवस्थामा उनीहरूलाई चेकजाँच तथा खानतलासी गर्दा ब्राउन सुगर बरामद गरिएको एसपी तिम्सिनाले बताए। पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका– ५ का अजय चौधरी रहेका छन्। उनको साथबाट लागू औषध ब्राउन सुगर २.४७ ग्राम बरामद गरिएको छ।
कोशी गाउँपालिका(१ का हिमाल कुमार मण्डल र करण कुमार मण्डलको साथबाट लागुऔषध ब्राउन सुगर ३.२४ ग्राम बरामद गरिएको छ। कोशी गाउँपालिका(२ का दयानन्द कुमार यादवको साथबाट लागू औषध ब्राउन सुगर १.४० ग्राम बरामद गरिएको एसपी तिम्सिनाले बताए।
त्यस्तै पक्राउ परेका धरान उपमहानगरपालिका(१७ बस्ने विवेक विश्वकर्माको साथबाट लागू औषध ब्राउन सुगर २.१५ ग्राम बरामद गरिएको छ। स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका धरान(१७ बस्ने संगम राई र स्कुटर पछाडी बस्ने धरान(१९ बस्ने सिमसन राईको साथबाट लागुऔषध ब्राउन सुगर २.२३ ग्राम बरामद गरिएको छ। स्कुटरमै सवार रहेका बराह्रक्षेत्र नगरपालिका(७ बस्ने कौशल कालिकोटेको साथबाट लागू औषध ब्राउन सुगर ६.५३ ग्राम र सोही स्कुटी पछाडि वार याकुव राईको साथबाट लागु औषध ब्राउन सुगर ४.७९ ग्राम बरामद गरिएको एसपी तिम्सिनाले बताएका छ्न।

घरघरमा तुलसी दल
दमक । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा शनिबार तुलसीको दल राखे । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

मधेस प्रदेश नाम फेर्न सुझाव
दमक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशको नाम जनक वा जानकी राखेको भए हुने बताएका छन् । जनकपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनकपुर राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान् रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ भएकाले पनि यसको महत्व धेरै रहेको बताए । उनले जनकपुर मैथिली भाषा बोलिने ठाउँ भएको बताए ।

दलित गोलमेच सम्मेलनमा
दमक । यही जेठ ३० गतेदेखि काठमाडौँमा दलित गोलमेच सम्मेलन हुने भएको छ । आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले शनिबार पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न तथा मुक्तिका लागि सम्मेलनको आयोजना गरिएको जनाएको छ । सम्मेलन असार १ गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने छ ।

पानद्वारा खोटाङको हलेसी चुवाङ नपा पुरस्कृत
शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको मूल्यांकनका आधारमा हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार यस वर्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्राप्त गरेको हो ।

बोलेरो दुर्घटनामा २ को मृत्यु
दोलखाको गौरीशंकर गाँउपालिका–४ झ्याकुको बासामाबोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दोलखाको सिंगटीबाट झ्याकु देपुङ जाँदैगरेको बा १६ च ७६५१ नम्बरको बोलेरो जीप शुक्रबार बेलुका दुर्घटनामा परी गौरीशंकर गाँउपालिका– ४ झ्याकु देपुङका ४५ वर्षीय फुलमाया शेर्पा र ३४ वर्षीय डोल्मा शेर्पाको मृत्यु भएको प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Author

You may also like