दमक, दमकका एकल महिलाहरू सामूहिक उद्यममा जुटेका छन् । यसअघि सामूहिक रूपमा सेनीटरी प्याड उत्पादन गरेका एकल महिलाहरूले पुनः जुत्ता उत्पादनमा जुटेका हुन् । नगरका एकल महिलाहरूले सञ्जाल गठनसँगै आयमूलक काम सुरु गरेका हुन् । सामूहिक उद्यमबाट प्राप्त आम्दानीलाई नियमित बचतमा समेत सञ्चित गर्न थालेका छन् । एकल महिला समूह, दमक बनाएर सङ्गठित भएका उनीहरू हाल मखमलका जुत्ता बनाउने उद्यम थालेका हुन् ।
दमक नगरपालिका मार्फत प्राप्त तालिमले उनीहरूलाई उद्यमी बन्न सजिलो बनाएको हो । समूहमा आबद्ध दमक १ की नुमा काफ्लेले घरमा त्यसै खेर जाने समय उपयोग गर्न पाएको र यसबाट आम्दानीसमेत भइरहेको बताइन् । प्रारम्भिक चरणमा सामूहिक उद्यम गर्न नगरपालिकाले कच्चा पदार्थ र आवश्यक उपकरण खरिद गरिदिएको छ ।
१४ जनाले सो तालिम लिएका हुन् । तालिमपछि उनीहरू दैनिक भेला भएर जुत्ता बनाउन जुट्ने गरेका छन् । सुरुवाती समय भएकाले उनीहरूलाई काम गर्ने ठाउँको भाडा तिर्नु पर्ने बाध्यता पनि छैन । नगरपालिकाले नै काम गर्ने ठाउँसमेत उपलव्ध गराएको छ । तालिममा पाएको ज्ञानलाई व्यावहारिक रूपमा उपयोग गर्दै काम गर्न पाएकोमा उनीहरू हर्षित छन् । दैनिक रूपमा एक जनाले १० देखि १२ जोडीसम्म जुत्ता तयार पार्ने गरेका छन् । जाडोका लागि समेत उपयोगी हुने यस्ता जुत्ता गुणस्तर अनुसार ३ सय रूपैयाँभन्दा माथिका छन् । जुत्ता आकर्षक भएकाले हाल प्रारम्भिक चरणमा नै पनि विभिन्न व्यक्तिबाट माग आउने गरेको समूहकी सदस्य हेमन्ता घिमिरेको भनाइ छ । जुत्ता तथा प्याड उत्पादनबाट दैनिक ४ सय रूपैयाँभन्दा बढीसम्म आम्दानी हुने गरेको छ । तर आम्दानीको दर कामका आधारमा हुने भएकाले कहिले काहीँ घटी बढी पनि हुने उनको भनाइ छ ।
यस अघि उनीहरूले सेनीटरी प्याड बनाउने तालिमसँगै त्यसको उत्पादन पनि गरेका थिए । समूहकी अर्की सदस्य गङ्गा नेम्वाङले तालिमपछि एक सिजन प्याड उत्पादनमा जुटेको र त्यसपछि जुत्ता बनाउन थालेको बताइन् । पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड विक्रीका लागि समस्या पनि भएन । नगरपालिकाले नै विभिन्न विद्यालयलगायतका स्थानमा वितरण गर्ने भन्दै खरिद गरिदिएको थियो । ५ सय रूपैयाँमा तीन ओटा प्याडको मूल्य तोकिएको छ । बजारमा पाइने प्याडभन्दा यो सुरक्षित, स्वास्थ्यमैत्री र सफा गरेर पुनः प्रयोग गर्न मिल्ने प्रकारको भएको उनले जनाइन् । सीप र आम्दानी नभएका महिलालाई भने संयुक्तरूपमा उद्यम सुरु गरेपछि आत्मविश्वास पनि बढेको छ । घरमा दिनभरि त्यसै बस्नुभन्दा यहाँ आए पछि सिप सिकेकाले यसैबाट आम्दानीसमेत गर्न सकिने हिम्मत बढेको उनीहरूको अनुभव ।
‘दमकका महिला उद्यममा पहिला’ नामको कार्यक्रम अनुसार उनीहरूलाई नगरपालिकाले उद्यमी बनाएको हो । महिलाहरूलाई लक्षित गरी उद्यमी बनाउने विभिन्न कार्यक्रम सञ्चालनका लागि नगरपालिको यो कार्यक्रम ल्याएको नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् । जुत्ता बनाउनुअघि एकल महिलालाई प्याड बनाउने तालिम दिइएको र तालिमपछि महिलाहरूले उत्पादन गरेको प्याड सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिने उनले जनाइन् । सुरुवाती समयमा नगरले नै बजार सुनिश्चित गरी दिएको र क्रमिक रूपमा उनीहरू आफैँ बजार व्यवस्थापनमा पनि सक्षम हुने अपेक्षा गरिएको उनले जनाएकी छन् ।