“Every moment spent in negativity is paid for with something truly priceless. That something is life.” – Ralph Marston
(हर नकारात्मकतामा बिताएको हर क्षण यति मूल्यवान हुन्छ कि त्यो मूल्य भनेको जीवन हो । (अर्थात् जीवन वर्बाद हो)
सन् २००४ मा राल्फ मार्सनले लेखेको यो वाक्य पढेपछि मलाई पनि केही लेख्न मन लाग्यो यो विषयमा ।
केही दिन अघि मैले एउटा मान्छेको एउटा निन्दनीय सामाजिक सञ्जालको पोस्टमा यस्तो कमेन्ट गरेको थिएँ, ‘भाइ, संघसंस्थाहरू तथा घरपरिवारहरूमा झगडा लगाउन बल पुग्ने पत्रकारिता गर्नु पर्छ भनेर कुन पाठ्यक्रमको पत्रकारीतामा पढ्न पाइन्छ ?’ मेरो उद्देश्य परिवार र संघसंस्थाहरूमा फाटो र झगडा बढाउने भूमिका पत्रकारीताले गर्नु हुँदैन भन्ने मात्रै थियो । किनभने परिवारका आप्mनै पारिबारिक विरासत, संस्कार, परम्परा, धर्म, संबन्धहरू हुन्छन् । संघसंस्थाका आप्mनै नियमहरू, बिधानहरू हुन्छन् चल्ने, अरू कसैले आएर ‘बीचमा बाठो भएर’ बोलेको कुराले समाधान होइन, झन् द्वन्द्व बढाउने र परिस्थितिलाई झन् कमजोर बनाउने काम हुन्छ भन्ने मात्रै थियो । तर मेरो त्यति कुरालाई लिएर मेरो टिप्पणीमाथि ‘नितान्त घटिया’ टिप्पणी भए, त्यो पनि त्यो संस्थासंग कुनै पनि सारोकार र संबन्ध नभएका व्यक्तिहरूबाट । त्यस विषयबस्तुको एक प्रतिशत पनि जानकारी र ज्ञान नभएका मान्छेहरू ममाथि खनिए । र त्यतिमात्रै होइन, ती जीवनभर दशवटा किताव र सरले लेखिदिएका ५० थान नोट पढेर केही थान सर्टिफिकेट पाएका मान्छेहरू पनि थिए । कोही त विश्विद्यालयको अनुहार नदेखेका पनि थिए ।
त्यसपछि मेरो मनमा एउटा प्रश्न उब्जियो, ‘नेपाली समाज किन यति धेरै नकारात्मक सोचको शिकार भयो ? के छन् कारणहरू ?’ अनि मैले आफुसंग जोडिएका, चिनेका, नचिनेका थुप्रै मान्टेका साकाजिक सञ्जालका पोस्टहरूमाथि अनुसन्धान गर्न थालें । त्यसमा मैले यस्ता कारकतत्वहरू पाएँ जसले मान्छेका दिमागका पूmल कहिल्यै फुलेको देखिएन । संधै काँढाले बास गरिरह्यो ।
नेपाली समाजमा नकारात्मक सोच पछिल्लो समय बढ्दो रूपमा देखिन थालेको छ र यो निराशाजनक सामाजिक विषय बनेको छ । निराशावाद, पूर्वाग्रह, ईष्र्या, विभेद, असहिष्णुता, शंका, हताशपन तथा समाधान खोज्नुभन्दा अरूको आलोचना गर्ने प्रवृत्तिका रूपमा यसको अभिव्यक्ति भइरहेको छ । नेपाली समुदायमा यसको विस्तारमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक पक्षहरूले महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
बेरोजगारी र सीमित अवसर पनि नकारात्मक सोचको महत्वपूर्ण कारण हो । धेरै शिक्षित नेपाली युवाले अध्ययन पूरा गरे पनि स्वदेशमै आफ्नो योग्यता र चाहनाअनुसारको रोजगारी पाउन कठिनाइ भइरहेको छ । हजारौँ युवा रोजगारी तथा अवसरको खोजीमा विदेश जान्छन् । वैदेशिक रोजगारीले परिवारको आम्दानी सुधार्न सहयोग गरे पनि यसले सामाजिक दबाबसमेत सिर्जना गरिरहेको छ । विदेश गएका साथीभाइ वा आर्थिक रूपमा सफल देखिने व्यक्तिसँग आफूलाई तुलना गरेर युवामा हीनभावना, निराशा र असन्तुष्टि पैदा भइरहेको छ ।
शिक्षा प्रणाली पनि दोषी छ । शिक्षाले आलोचनात्मक सोच, सिर्जनशीलता, आत्मविश्वास र सामाजिक उत्तरदायित्व विकास गर्नुपर्ने हो । तर परीक्षा, अंक र प्रतिस्पर्धामा मात्रै अत्याधिक जोड दिँदा विद्यार्थीले आफ्नो मूल्याङ्कन शैक्षिक उपलब्धिबाट मात्र गरिरहेका छन् । अपेक्षाअनुसार सफलता हासिल गर्न नसक्ने विद्यार्थीमा हीनभावना विकसित हुन्छ । त्यसैगरी भावनात्मक शिक्षा, नैतिकता र सञ्चार सीपमा पर्याप्त ध्यान नदिँदा युवालाई असफलता, असहमति र आलोचनालाई सकारात्मक रूपमा सामना गर्न कठिन । त्यसमा पनि राजनीतिमा तिनको प्रयोग गरेर तिनका सपनाहरूको सर्वनाश गरिरहेका छन् राजनीतिक अगुवाहरूले । तिनलाई आन्दोलनमा उफार्ने, तर त्यसको सिर्जनात्मक सोचाइ नराख्ने, अधिकार माग्ने तर कर्तव्य कहिल्यै नभन्ने जमात निर्माण भइरहेको छ ।
सामाजिक तुलना र सामाजिक सञ्जालको प्रभावले समस्या थप जटिल बनाएको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबजस्ता माध्यमले मानिसलाई अरूका जीवनशैली, उपलब्धि र सम्पत्तिका आकर्षक प्रस्तुतिहरूसँग निरन्तर परिचित गराउँछ र प्रलोभनमा पारिरहन्छ । प्रयोगकर्ताहरूले आफ्नो सामान्य जीवनलाई सामाजिक सञ्जालमा देखाइने अरूको ‘पूर्ण’ जीवनसँग तुलना गर्ने गर्छन् । यसले ईष्र्या, असन्तुष्टि र आत्मविश्वासमा कमी ल्याउाछ । सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना, गालीगलौज तथा आक्रामक राजनीतिक बहस पनि तीव्र गतिमा फैलिन्छ । रचनात्मक संवादलाई प्रोत्साहन गर्नुपर्ने स्थानमा बहसहरू कतिपय अवस्थामा व्यक्तिगत आक्रमण र असहिष्णुताको माध्यम बन्ने गरेका छन् । १२ पास गरेको छैन ऊ ‘बरिष्ठ पत्रकार’ भएर एउटा परिचयपत्र, जुन जसले पनि सहजै दिन्छन्, घाँटीमा भिरेर, एउटा क्यामेरा बोकेर आएपछि उसलाई ‘कसैले छुनु, बोल्नु हुँदैन’ । उनै सबै कुरा जान्ने हुन्छ । पहिलो पटक पाइला टेकेको ठाउँमा पुग्छ, त्यहाँको भुत्लोभाङ केही थाहा छैन, तर ऊ उपदेश दिन्छ, एकतर्फी कुरा सुनेर ‘न्यायधिस’ भएर पैmसला पनि क्यामेरामै सुनाउँछ र सामाजिक सञ्जालमा त्यसको ‘भ्यू’ कति आयो भनेर बेलाबेला चेक गर्छ । अनि कमेन्ट गर्छन् त्यो विषयको क ख थाहा नपाएकाहरूले ः ‘हो त, ठीक भन्नु भयो । अन्याय गर्न पाईंदैन । पत्रकार यस्तो पो हुनुपर्छ’ आदि । अनि कतिका परिवार ध्वस्त हुन्छन्, कतिका संघसंस्थाहरू । विषबस्तुको गहिराइमा नपुगी अफवाह पैmलिन्छ संसारभर । यस्तो छ परिस्थिति ।
विभिन्न समुदायप्रति रहेका रूढ धारणाले पुस्तौँदेखि नकारात्मक दृष्टिकोणलाई निरन्तरता दिइरहेका छन् । बालबालिकाले आफूले ती धारणामाथि प्रश्न उठाउन सक्ने उमेर पुग्नुअघि नै परिवार, छिमेकी वा समुदायबाट पूर्वाग्रह सिक्छन् । यस्ता दृष्टिकोणले विविधताको सम्मान गर्न बाधा पु¥याउनुका साथै विभिन्न सामाजिक समूहबीच दूरी र द्वन्द्व बढाउँछ ।
राजनीतिक अस्थिरता र सार्वजनिक संस्थाप्रतिको अविश्वास उल्लेखनीय कारण हुन् । नेपालमा लामो समयदेखि राजनीतिक परिवर्तन, द्वन्द्व तथा सरकारको अस्थिरता अनुभव गर्दै आएका नागरिकहरूमा नकारात्मकता मात्रै छ । कसैप्रति सकारात्मक सोच छैन । भ्रष्टाचार, कमजोर प्रशासन, पूरा नभएका प्रतिबद्धता तथा राजनीतिक विवाद बारम्बार देखिँदा नागरिकको सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर हुने र यस्तो निराशा क्रमशः ‘केही पनि परिवर्तन हुँदैन’ भन्ने व्यापक धारणामा परिणत भइरहेको छ । राजनीतिक बहससमेत विभाजित बन्दै जाँदा व्यक्तिका विचारभन्दा उसको राजनीतिक दलसँगको आबद्धताका आधारमा मूल्यांकन गर्ने प्रवृत्ति छ । यस्तो देखिन्छ, प्रायजसो मान्छेलाई ‘झोले’ बन्नै आनन्द लागिराखेको छ । वा त त्यो बन्न ऊ बाध्य छ ।
पारिवारिक तथा सामाजिक दबाबले पनि नकारात्मक सोचलाई बढावा दिन्छ । धेरै परिवारमा युवामाथि उच्च अंक ल्याउने, प्रतिष्ठित रोजगारी हासिल गर्ने, राम्रो आम्दानी गर्ने र सामाजिक अपेक्षाअनुसार चल्ने दबाब हुन्छ । विवाह, करियर, शारीरिक बनावट तथा आर्थिक हैसियतसमेत दबाबका स्रोत बन्छन् । आफन्त तथा साथीभाइसँग निरन्तर तुलना गर्ने वा आलोचना गर्ने प्रवृत्तिले आत्मविश्वास कमजोर बनाउने र त्यस्तै, असफल हुने व्यक्तिलाई गल्तीबाट सिक्न प्रोत्साहन दिनुको सट्टा सामाजिक रूपमा हेय दृष्टिले हेर्ने प्रवृत्तिले समस्या थप गम्भीर बनाइरहेको छ । ऊ आप्mना लागि नभएर अरूका लागि काम गर्न बाध्य हुन्छ ।
मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको कमी र भावनात्मक सहयोगको अभावले पनि यी समस्यालाई थप जटिल बनाउँछ । तनाव, एक्लोपन, दुःख वा निरन्तर चिन्ताबाट गुज्रिरहेका व्यक्तिले सामाजिक लाज वा कलंकका कारण आफ्ना भावना व्यक्त गर्न हिच्किचाउँछन् । भावनात्मक समस्या कहिलेकाहीँ कमजोरी वा इच्छाशक्तिको कमीका रूपमा हुन्छ, अनि सहयोगी संवाद र आवश्यक अवस्थामा उपयुक्त व्यावसायिक परामर्शको अभावमा नकारात्मक भावनाहरू लामो समयसम्म दबिएर रहन्छन्, जसले सम्बन्ध, शिक्षा र काममा समेत नकारात्मक असर पार्छ ।
अफवाह, शंका र आलोचनाको प्रवृत्ति पनि सामाजिक चिन्ताको विषय हो । कतिपय समुदायमा मानिसहरू अरूका उपलब्धिको प्रशंसा गर्नुभन्दा उनीहरूका गल्तीबारे चर्चा गर्न बढी रुचि राख्छन् । गफ र अनावश्यक चर्चा(परिचर्चाले सम्बन्ध बिगार्नुका साथै द्वन्द्व सिर्जना गर्छ । ‘समाजले के भन्छ?’ भन्ने चिन्ताले अत्यधिक प्रभाव पार्ने संस्कृतिले व्यक्तिलाई स्वतन्त्र र रचनात्मक निर्णय लिन समेत निरुत्साहित गरिरहेको छ ।
नेपालको सबैभन्दा ठूलो परम्परागत शक्ति भनेको सदैव यसको विविधतायुक्त समाज र सहकार्य गर्ने क्षमता थियो । आलोचनात्मक सोच, करुणा, समानता र आशावादलाई प्रोत्साहन गर्ने थियो । सम्मान, आदर, मायाँ थिए । तर पछिल्लो नेपाली राजनीतिक आयामहरूले यस्तो प्रमाणित गर्न थाले कि जसले धेरै गालीगलौज गर्छ उही ‘खत्रा नेता’ बन्न थाल्यो । जसले धेरै राज्यको कानूनको अवज्ञा गर्छ, त्यही ‘ठूलो राजनेता’ र ‘ठूलो राजनीतिक दल’ बन्ने अवसरहरू मिले । घण्टाघण्टामा बोली फेर्ने, गुट फेर्ने, दल फेर्ने, बोली फेर्ने अनि स्वार्थको लागि ‘दिनलाई रात र रातलाई दिन बनाउन माहिर’ मान्छेहरूले देश चलाए । ‘राम्रो र नैतिकवान बोल्नेहरू’ कहिल्यै कहीं पनि पर्दामा देखिएनन् । यसरी नेपाली समाजले क्रमशः नकारात्मकतालाई संस्कार बनाउन थाल्यो । सम्मान, अवसर र साझा प्रगतिलाई प्राथमिकता दिने संस्कृतिको विकास गर्न सकएिन ।
– दमक, झापा