पछिल्लो समयमा माथिल्लो ओहदामा बस्नेहरुले मर्यादाको ख्याल नगरी गरिएका कामले उनीहरुको राजनीतिक जीवन नै सखाप बनाइदिएको छ ।
खासगरेर कानुनका ज्ञाता, अधिवक्ताका रुपमा कालोकोट लगाएर अदालतभित्र पसेर कानुनी कुरा सिकाउने मात्र होइनन उनी त हिक्मत कुमार कार्कीको दोस्रो कार्यकालका आन्तरिक मामिला तथा काुननमन्त्री समेत हुन । उनले कसैलाई थाहै नदिई मानवतस्करमा लाग्लान भन्ने हेक्का कसलाई थाहा थियो र । तर उनले आफ्नो वकालत पेशा, कानुनी तथा राजनीतिक हैसियत र मन्त्रीको मर्यादा केही ख्याल नगरीकन गरिएको कामले अन्ततः उनलाई हिरासतमा पु¥याईदियो र अहिले उनी हिरासतमा छन् । उनले प्रदेश र संघ सरकारको अनुमतिबिनै गत कात्तिक १३ गते जापान उडेका अधिकारीले नक्कली काजगातको आधारमा अन्य चार जना पनि साथमा लिएर गएको र जापान प्रवेश गारउन खोजेको आरोपमा अनुसन्धान भइरहेको छ । प्रदेशको आन्तरिक मामिला मन्त्रालय भनेको प्रदेश सुरक्षा र कानुनको नेतृत्व गर्ने मन्त्रालयको मन्त्री थिए उनी । एक साता अगाडिसम्म उनी प्रहरीलाई निर्देशन र परिचालन गरिरहेका थिए । तर, अहिले उनको हातमा तिनै प्रहरीले हतकडी लगाएर हिरासतमा छिराइदिए । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । अधिकारीको अपराध कति हो भन्ने अनुसन्धानबाटै खुल्ला । यद्यपी उनले पदीय मर्यादा र आचरण तथा कुटनीतिक क्षमता देखाउन नसकेको भने पुष्टि भइसकेको छ ।
यद्यपि प्रदेशसभाका उनी एक मात्र विवादीत व्यक्ति भने होइनन । उनी भन्दा अगाडि पनि केही व्यक्तिहरु विवादमा तानिएका थिए । सोलुखुम्बु निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित नेकपा एमालेका सांसद बुद्धिकुमार राजभण्डारी गत साउनमा जुवाखालबाटै पक्राउ परेका थिए । कोशी प्रदेशका पूर्वमन्त्री रहेका उनलाई गत साउन २६ गते काठमाडौंबाट प्रहरीले रंगेहात जुवातास खेलिरहेको बेला पक्राउ गरेको थियो । काठमाडौंको गौरिघाटस्थित राजु महतको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका भण्डारीसहित ११ जना तीन दिनपछि जनही १० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए । प्रदेशसभामा अन्य सांसद र आफू इतरका दललाई नैतिकता, इमान्दारिता, निष्ठा र संसदीय आचरणको बारेमा प्रवचन दिने राजभण्डारी जुवाखालबाट पक्राउ पर्दा उनलाई मत दिने मतदाताहरु नै लजाउने अवस्था बन्यो ।
विवादित छविका कोशी प्रदेशका सांसद खगेनसिंह हाङ्गाम त अहिले बहालवाला मन्त्री छन् । उनले २०८० साल भदौ अन्तिममा तत्कालीन ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका थिए । फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले तत्कालीन डीएसपी (हाल एसपी) लिम्बू र उनको परिवारको ज्यान मार्ने धम्की दिएका थिए । ‘अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्, कस्तो लुगा लगाउँछस्, के खान्छस्, तेरो बाउआमा कहाँ छन्, तेरो छोराछोरी कहाँ छन्, त्यो पनि पत्ता लगाएर हामी मार्छौं’, हाङगामले लिम्बूलाई धम्की दिँदै भनेका थिए । कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएपछि अशोभनीय र अमर्यादित अभिव्यक्ति दिएका उनी मन्त्री बन्न सफल भएका छन् ।
पूर्वराज्यमन्त्री इन्दिरा थापाले प्रदेश सरकारको करिब दुई करोड बजेटबाट धनकुटामा आफ्नै घर निर्माण गरेको खुलासा यसअघि भएको थियो । धनकुटाको पाख्रिवास नगरपालिकामा आफ्नो परिवारको नाममा रहेको निजी जग्गामा थापाले प्रदेश सरकारको बजेटबाट घर निर्माण गरेको विषय अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । सो प्रकरण बाहिर आएपछि भने नेपाली काँग्रेसकी समानुपातिक सांसद थापाले उक्त जग्गा आफू अध्यक्ष रहेको संस्था केयर वुमेन नेपालको नाममा ल्याएकी छन् । पाख्रिबास ८ मुगा ठेगाना रहेको केयर वुमेनको नाममा थापाको आमानको नाममा रहेको जग्गामा घर बनाएर पटक–पटक प्रदेश सरकारले करोडौं बजेट खर्चिएको छ । झापाका एमाले सांसद राधाकृष्ण खनाल सहकारी ठगीमा मुछिएका छन् । सहकारी ठगीमा उनका छोरा सुमन खनाल पक्राउ परिसकेका छन् । झापाको शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थामा ठगी गरेको प्रकरण निर्वाचन अगाडि आउँदा खनालले चुनाब जितेपछि समस्या समाधान गर्ने प्रतिबद्धता मतदाताबीच गरेका थिए । तर, एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी फिर्ता नगर्दा उनका छोरा अहिले प्रहरी नियन्त्रणमा छन् । कांग्रेसका इस्राइल मन्सुरीले सभामुखको लेटरप्याड दुरुपयोग गर्दै पत्राचार गरेको सार्वजनिक भएको थियो । सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेशसभाका केहि बैठकको अध्यक्षता गरेका उनले आफूलाई सभामुखकै हैसियत देखाउँदै लेटरप्याड बनाएपछि विवादमा परेका थिए ।
यसरी सबैका आस्थाका धरोहरहरु नै अनास्थाको शिकार बन्दै विवादित मात्र बन्दैनन राजनीतिक भविष्य नै सखाप पर्छन भने सामान्य मानिसले कसरी बुझ्ने भन्ने प्रश्न उब्जिएको छ । सांसद हुनेहरुको आचरण, व्यवहार, निष्ठा र क्षमता सबैले सम्मान गर्ने उदाहरणीय हुन्छ भन्ने विश्वासमा नै उनीहरुलाई माननीय भनिएको हो । तर, पछिल्लो समयमा माननीय भएकाहरुले आफ्नो मात्र बद्नामी गरेका छैनन्, सो पद, उनीहरुलाई मत दिने मतदाता र देशकै बद्नामी गरेका छन् । पछिल्लो समयमा कोशी प्रदेशसभाका सदस्यहरुको एकपछि अर्को हर्कत बाहिर आउँदा सिंगै प्रदेशवासीको शीर निहुरिने अवस्था बनेको छ भने उनीहरुको व्यवहारले प्रदेश र संघीयताकै बद्नामी भएको छ ।