समाचार

जमिनमाथि माछा पाल्दै किसान- Purbasandesh

बायाे फ्लक ट्यांकी

दुर्गा पौडेल

झापा/  झापाको गौरादह नगरपालिका–२ का स्थायी बासिन्दा मोहनप्रसाद पराजुलीले जमिनमाथि माछापालन गरेका छन् ।

पराजुलीले ८ धुर जमिनमा चारवटा ‘बायोफ्लक ट्याङ्की’ निर्माण गरेर करिब ५ हजार माछाका भुरा पाल्न थालेका छन् ।

जमिनको सतहभन्दा माथि चारवटा ट्याङ्की निर्माण गरी उनले माछा पाल्न थालेका हुन् ।

‘रोनिस बायोफ्लक फिस फर्म’का नाममा उनले उद्योग नै दर्ता गरेर माछापालन गरिरहेका छन् ।

भाइ इन्डोनेसियामा तालिम गरेर फर्किएर यस पेसामा लागेपछि उनी पनि यो पेसाप्रति आकर्षित भएको बताउँछन् ।

तर, हचुवाका भरमा नबुझी यसमा हात हाल्नु नहुने उनको सुझाव छ । यो विधिबाट माछा पाल्नका लागि थोरै ज्ञान लिनुपर्ने उनको अनुभव छ ।

रोजगारीका सिलसिलामा करिब एक दशक खाडी मुलुकमा बिताएका पराजुलीले २०७६ कात्तिकबाट यो विधिबाट माछा पाल्न थालेका हुन् ।

झापाको बिर्तामोड, सुरूङ्गा लगायतका स्थानमा यो विधिबाट माछापालन सफल भएको बुझेपछि उनले पनि यो विधिबाट माछा पाल्न सुरू गरेका हुन् ।

तर उनले सुरूमा केही घाटा व्यहोर्न पुगे । सुरूमा हचुवाका तालमा मुङ्ग्री माछा पालेका उनले निकै नोक्सानी व्यहार्नु प¥यो ।

सुरूमा ३० किलो (२२ सय) मुङ्ग्री जातका भुरा हाल्दा जम्मा २० किलो (४ सयवटा जति) माछा उत्पादन भएको उनको तीतो अनुभव छ ।

मुङ्ग्री जातको माछामा घाटा भएपछि उनले कमन क्राप जातका माछाका भुरा ट्याङ्कीमा हालेका छन् ।

पराजुलीले चारवटा ट्याङ्की निर्माण गरेर माछा पाल्न थालेको बताए ।

चारवटा ट्याङ्की बनाउन करिब अढाई लाख लगानी गरेको उनले जानकारी दिए ।

तर, एकपटक ट्याङ्की बनाएपछि ८–१० वर्ष ढुक्क हुन सकिने उनले सगर्व बताए ।

पराजुलीले अहिले कमन क्राप जातका ४५ सय भुरा पालेका छन् ।

एउटा ट्याङ्कीमा चैत १० तिर र तीनवटा ट्याङ्कीमा जेठ अन्तिममा भुरा हालेको उनले जानकारी दिए ।

यस विधिमा भुरा ट्याङ्कीमा हालेको करिब ५ महिनामा बिक्री गर्न योग्य हुन्छ ।

सो अवधिमा एउटा माछा ७ सय ग्रामदेखि एक केजीभन्दा बढीसम्मको हुने पराजुलीले बताए ।

भुरा ६ सय रूपैयाँ प्रतिकेजी फार्ममा आइपुग्छ । एक किलोमा करिब १ सय वटाजति भुरा हुन्छन् ।

चैतमा ट्याङ्कीमा छाडेका माछा असोजमा बिक्री गर्न योग्य हुने उनले बताए । करिब ६ महिना पालेपछि एउटा माछा एक केजीसम्मको हुन्छ ।

अहिले नै माछा बिक्री गर्न योग्य भइनसके पनि किन्न आउनेलाई थोरैथोरी बिक्री गर्न थालेको उनले सुनाए ।

चैतमा हालेको माछा अहिले करिब ६ सय ग्रामसम्मको भइसकेका छन् ।

अहिले नै किन्न आउनेको चाप देख्दा माछा स्थानीय बजारमै खपत हुने उनको विश्वास छ ।

पोखरीमा पालेको माछालाई सडेगलेका कुखुरा तथा अन्य खाद्यपदार्थ दिइने गरिन्छ ।

तर यो प्रविधिमा पालिएका माछाले शुद्ध अर्गानिक दाना मात्र खाने भएकाले माछा पनि स्वस्थ हुन्छ ।

पराजुलीले ग्रोयल नामको दाना माछालाई दिने गरेको सुनाए । यो दाना प्रोटिनयुक्त तथा अर्गानिक हुने उनको बुझाइ छ ।

भुरा साना हुँदा एउटा ट्याङ्कीमा दैनिक ३ सय ग्राम दाना खपत हुन्छ ।

दानको मात्रा हरेक ट्याङ्कीमा दैनिक १० ग्राम बढाउँदै लाने गरेको उनले बताए ।

उनले हाल एउटा ट्याङ्कीमा दैनिक ४ सय ग्राम दाना दिने गरेका छन् ।

ट्याङ्कीमा एकपटक पानी हालेपछि पुग्ने भएकाले यो विधि सजिलो र भरपर्दो हुने पराजुलीको बुझाइ छ ।

तर, यसका लागि लगनशील र यसैमा दत्तचित्त भएर लाग्नुपर्ने उनी सुझाव दिन्छन् ।

प्रत्येक चार दिनमा ट्याङ्कीमा जम्मा भएको फोहोरो सफा गर्नुपर्छ ।

माछालाई सहज श्वासप्रश्वासका लागि ‘एरियसन’ मेसिनबाट ट्याङ्कीमा अक्सिजन दिनुपर्छ ।

ससाना पाइपमार्फत ‘एरियसन नामक मेसिनबाट पानीमा अक्सिजन दिनुपर्छ । सो मेसिन २८ हजार रूपैयाँमा खरिद गरेको उनले बताए ।

माछाका लागि अक्सिजन अनिवार्य भएकाले सो विधिबाट माछापालन गर्दा २४ सै घन्टा विद्युत् आवश्यक पर्छ ।

अनुदान नपाएको गुनासो

माछा पालनका लागि करिब ४ लाख रूपैयाँ लगानी गरेका पराजुलीले अहिलेसम्म कहीँ–कतैबाट अनुदान भने पाएका छैनन् ।

दुईवटा बाख्रा पाल्ने कृषकले अनुदान पाउँदा समेत नगरपालिकाले आफूलाई अनुदानमा कन्जुस्याइँ गर्दा उनलाई नराम्रो लाग्छ ।

कैयौँले १ लाखभन्दा कम लगानीमा सानो पोखरी खनेर सो रकमभन्दा बढी अनुदान रकम लगेको थाहा पाएका छन् उनले ।

आफूले भने अहिलेसम्म १ रूपैयाँ पनि अनुदान पाउन नसकेको बताउँछन् ।

गौरादह–२ का वडाध्यक्ष हेमन्त कार्कीले अनुदान दिने आश्वासन दिए पनि हालसम्म अनुदान प्राप्त नगरेको पराजुली दुखेसो गर्छन् ।

उनको फर्ममा यो विधिबारे बुझ्न दिनहुँ कैयाँै आउने गरेका छन् ।

बुझ्न आउनेहरुलाई उनले यसको प्रक्रिया र लगानीबारे आफूले जानेको सबै बताउने गरेका छन् ।

आफूले जानेको ज्ञान र सीप बाँड्न उनी कन्जुस्याइँ गर्दैैनन् । यो पेसा गर्न चाहनेहरुका लागि आफूले सक्ने सहयोग गर्न उनी तत्पर छन् ।

के हो बायोफ्लक ?

जमिन नबिगारी सतहभन्दा माथि ट्याङ्कीमार्फत बढी घनत्वमा माछा पालन गर्न मिल्ने प्रविधि हो बायोफ्लक ।

पानीमा सूक्ष्म जीव (ब्याक्टेरिया) उत्पादन गरी माछालाई बाँच्न मिल्ने वातावरण यो प्रविधिमार्फत तयार गरिन्छ ।

माछापालन
जमिन माथी माछा पाल्न बनाइएकाे बायाे फ्लट ट्यांकी

माछाले फ्लक खाने र फ्लकले प्राङ्गारिक पदार्थ खाने हुँदा यसमा जलीय पर्यावरण चक्र सन्तुलन हुन्छ ।

बायोफ्लक प्रविधिबाट माछापालन गर्न एरियसन पम्प, तारपोलिङ, पानीको प्यारामिटर नाप्ने उपकरण आवश्यक पर्दछ ।

ट्याङ्की निर्माण गरेर माछा हालेपछि यस्ता उपकरण अनिवार्य राख्नुपर्छ । यो प्रविधिबाट उत्पादन भएको माछा स्वस्थ हुन्छ ।

बायोफ्लक प्रविधिबाट उत्पादन भएको माछा फोहोर हुँदैन । यो प्रविधिमा पानी परिवर्तन गरिरहनु पर्दैन ।

यो प्रविधिमा थोरै जग्गा भएकाले माछापालन गर्न सक्छन् । थोरै जग्गामा धेरै माछा पाल्न मिल्ने र निकाल्न सजिलो हुन्छ ।

जुन माछाको माग बढी छ, त्यसलाई लक्षित गरेर माछापालन गर्न सकिन्छ । माछा पाल्नकै लागि खाडल खन्न नपर्ने भएपछि जमिन बिग्रँदैन ।

पानीको स्रोत कम भएको ठाउँमा यो प्रविधि निकै लाभदायी हुन्छ । पहाडी भेगका साना गरामा पनि यो प्रविधिमार्फत माछापालन गर्न सकिन्छ ।

यो प्रविधिबाट पालिएका माछालाई प्रोटिनयुक्त दाना खुवाइने हुनाले यसबाट उत्पादन हुने माछा स्वस्थकर र स्वादिलो हुन्छ ।

सामान्यतया पोखरीको तुलनामा कम मात्रामा दाना खुवाएर माछा उत्पादन गर्न सकिन्छ । पोखरीको हिसाबमा यो धेरै सस्तो हुन्छ ।

परम्परागत रुपमा माछापालन गर्दा एक कट्ठा जमिनमा १ सय ५० केजीदेखि ३ सय केजी मात्र माछापालन गर्न सकिन्छ ।

तर यो प्रविधिमा सोही बराबरको जग्गामा ६ हजार केजीसम्म उत्पादन गर्न सकिन्छ ।

                                                                                                                                                                 पूर्वसन्देश दैनिकमा प्रकाशित

Author

You may also like