दमक । नयाँ दिल्लीबाट आएको भिस्तारा एयरवेजको त्रिभुवन विमानस्थलमा अवतरण भए लगत्तै बम भएको खबर कर्मचारीलाई आएपछि विमानस्थल केहीबेर तनावमा रह्यो ।
जहाजमा ‘बम’ राखेको सूचना आएपछि खैलाबैला मात्र मच्चिएन, नेपाली प्रहरी र नेपाली सेनाले चेकजाँच तिर लाग्यो । नेपाली सेनाले ह्यान्डब्याग, कार्गो तथा लगेज चेकजाँच गरिरहेको नेपाल नागरिक उययन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।
साढे दुई बजे दिल्लीबाट १५७ यात्रु बोकेर आएको विस्ताराको १५५ फ्लाइट नम्बरको जहाज साढे चार बजे त्रिभुवन अन्तर्राष्टिूय विमानस्थलमा अवतरण गरेको थियो । सो जहाजमा बम राखेको भन्दै भिस्ताराका सेकुरिटी स्टाफको मोबाइलमा म्यासेज आएको थियो ।
जहाज अवतरण भएलगत्तै बम राखिएको खबर भिस्ताराको काठमाडौंस्थित कार्यालयमा कार्यरत भारतीय कर्मचारी सुमन शर्मालाई आएको थियो । स्रोतका अनुसार, शर्माले जहाज अवतरण भएलगत्तै दौडेर टर्मिनल कार्यालयलाई अज्ञात नम्बरबाट आफ्नो जहाजमा बम राखिएको फोन आएको जानकारी दिएका थिए । कुनै पनि वायुयानमा बमको हल्ला प्राप्त भएपछि जहाजलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई बम रहे नरहेको यकिन गर्ने अन्तराष्टिूय प्रोटोकल छ । त्यसैअनुसार, विमानस्थलको पार्किङ्गवेमा राखिएको जहाजलाई नेपाली सेना र प्रहरीले नियन्त्रण लिई जाँच गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
यदि कुनै संकास्पद वस्तु नभेटिएमा ‘फेक कल/म्यासेज’ भनेर फ्लाइट रिलिज गरिने सहप्रवक्ता भुलले बताए । यदि कुनै संकास्पद वस्तु भेटिएमा आर्मीले निस्कृय गर्ने छ । उनले थपे– ‘कुनै संकास्पद बस्तु भेटिएर आर्मीले आफ्नो प्रकृयाअनुसार निस्किृय गरेर थप इन्भेष्टिगेसन गरी ‘ओके’ गरेपछि रिलिज गरिने छ ।’ अहिले सो जहाजलाई त्रिभुवन विमानस्थलमै राखिएको छ । अन्य उडान अवतरण भने नियमित रुपमा भइरहेको भुलले बताए ।
वैकल्पिक मार्गबाट उडान जारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएको छ । अहिले भिस्ताराको जहाज पछाडिबाट अरू जहाज उड्न जाने बाटो रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पुर्याएर उडान सुरु गरिएको छ । नेपाली सेनाले भिस्टारामा ‘सर्च’ जारी राखेको छ । यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएसँगै अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ सुरु भएको छ । दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमान बम राखेको भन्दै अज्ञात व्यक्तिले सूचना दिएपछि केहीबेर उडान रोकिएको थियो । सर्च अपरेशनमा नेपाली सेनासँगै नेपाल प्रहरी पनि परिचालित छ । अहिले तालिम प्राप्त कुकुरसमेत विमानस्थलमा परिचालित गरिएको छ ।