समाचार

पाक्न लागेको धानमा रोग लागेपछि गौरादहका किसानहरु चिन्तित

झगेन्द्र खड्का ,गौरादह। पाक्न लागेको भदै धानमा रोग लागेपछि यहाँका किसानहरु चिन्तित भएका छन। ठुलो लगानी र मेहनतका साथ दुःख गरेर लगाएको धान पाकेर लगानी उठाउने समयमा बोटैसुद्व मरेपछि किसानहरु चिन्तित भएका हुन्। झापाको गौरादह नगरपालिका भित्रका विभिन्न वडाका अधिकांश किसानहरुले लगाएको भदै धानमा गवारो र नेकब्लाष्ट रोगले धान सखाप पारेको छ।

झापाको गौरादह नगरपालिका वडा नम्बर १, २,३, ४ र ५ का किसानहरुले लगाएको धानबालीमा गवारो र नेकब्लाष्ट रोग लागेको कृषि शाखा गौरादहका प्रमुख सुनिता राईले जानकारी दिइन् ।

खेतमा धान पाकेर पहेंलो भएपनि बालामा चामल नभएर भुस मात्र देखेपछि किसानहरुले धानको बाला सहित कृषि शाखा गौरादहमा निवेदन दिएका छन् । पाकेको धान बिग्रीएपछि धानका बाला सहित निवेदन लिएर गौरादह नगर कृषि शाखामा दैनिकजसो किसानहरु धानको समस्या लिएर आइरहेको कृषि शाखा प्रमुख सनिता राईले जानकारी दिइन।

समस्या लिएर आएका किसानहरुको खेतमा निरिक्षण गर्दा गवारो र नेकब्लाष्ट रोग लागेको प्रमुख राईले बताइन। गवारो किराले धानको डाँठ खाएको छ भने नेकब्लाष्ट रोगले धानको दाना भुसमा परीवर्तन गरेको राईले बताइन।

गौरादह १ का किसान इमानसिंह तामाङ, सीता कार्कीका साथै चैतु चोकका सियाराम राजवंशी लगायत अन्य वडाका किसानहरुको पनि धान खेतमा धान पहेलपुर भएर पाकेता पनि बालामा चामल नभएर भुस मात्र भएको किसानहरुले बताएका छन् ।

बाली थन्क्याउने समयमा धान पाक्न नपाउँदै धानका बाला सुकेपछि आफुहुरु मारमा परेको किसानहरुले गुनासो गरेका छन्। किसानहरुले धानबाली बिग्रिएको जानकारी गराएपछि गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाह सहित कृषिज्ञान केन्द्र भद्रपुरका प्रमुख निलकमल सिंह, क्षेत्रीय कृषि अनुसन्धान परिषद तरहराका सन्तोष त्रिपाठी, क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका मुकेशकुमार यादव, गौरादह कृषि क्याम्पस प्रमुख कृष्णहरि देवकोटा र गौरादह नगरपालिकाको कृषि शाखाकी प्रमुख सनिता राई लगायतको टोली रोग प्रकोप क्षेत्रमा गई स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो।

तामाङले लगाएको १५ कठ्ठा र कार्कीले लगाएको १८ कठ्ठा जग्गाको चैते धान पूरै रोग लागेर काम नलाग्ने भएको उनीहरुले बताए। वडा नं १ भित्रमा करिव १०० हेक्टर जग्गामा लगाएको धानमा ३० प्रतिशत क्षति भएको राईले बताइन।

रोग निवारणका लागि कृषि ज्ञान केन्द्र भद्रपुरबाट ४० थान साइजोक्स बिषादी गौरादह कृषि शाखामा प्राप्त भएको बताउँदै यसबाट केहि किसानहरुलाई राहत मिल्ने राईले बताईन। बिशेष गरि यो विषादी पाकेर फलिसकेको धानको लागि भन्दा फल्दै गरेको हरियो धानका लागि उपयुक्त हुने बताइएको छ।

किसानहरु सो समस्या लिएर आउँदा उनिहरुको खेतमा निरिक्षण गरि सो विषादी स्प्रे का लागि गौरादह कृषि शाखाबाट उपलब्ध गराउन थालिएको कृषि शाखा प्रमुख सुनिता राईले जानकारी बताइन्।

Author

You may also like