माघ महिना आधा सकिए पनि चिसोको कमी भएको छैन । पुसदेखि सामान्य रुपमा बढ्दै गएको चिसो माघ लागेपछि बढेको छ । जल तथा मौसम पूर्वानुमान विभागले मुलुकभरको तापक्रम क्रमशः न्यून हुँदै जाने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि चिसोबाट बच्न आह्वान गर्दै आएको छ । एकातिर चिसोका कारण स्वास्थ्यमा विभिन्न समस्या आउने तथा ज्यानै जानसक्ने भएकोले यस्तो आग्रह गरिएको छ भने अर्कोतिर चिसो कटाउने नाममा आगोबाट हुने क्षति पनि उत्तिकै भईरहेको छ । तसर्थ चिसोबाट जोगिने उपाय अवलम्बन गर्दै आगोबाट बच्ने उपाय अवलम्बन गरी जाँडो कटाउनु पर्दछ ।
जाडोयामसँगै विभिन्न संक्रमणसमेत हुने गर्दछ । गर्मीमा जति रोगहरुले आक्रमण गर्छ त्यो भन्दा धेरै गुणा जाडोमा रोगले च्याप्ने गर्दछ । जसमध्ये इन्फ्लुएन्जा (फ्लु)संक्रमण पनि एक हो । चिसोसँगै इन्फ्लुएन्जा संक्रमणको जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फ्लुएन्जा भाइरस बच्चादेखि युवा र ज्येष्ठ नागरिकमा इन्फ्लुएन्जाको संक्रमण हुने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको संक्रमण बढी हुने चिकित्सकहरुको भनाइ छ । दीर्घरोगी बिरामीलाई इन्फ्लुएन्जाले फोक्सोमा असर गरेर निमोनिया जस्ता समस्या आउन सक्छन् । यस्ता बिरामीलाई सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गर्नुपर्ने चिकित्सको भनाइ छ । नेपालमा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भइसकेको छ । कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरसको संक्रमण हुने भएकोले सतर्कता अपनाउनुपर्ने चिकित्सकको सल्लाह छ । चिकित्सकका अनुसार हप्तामा सात–आठ स्वाब संकलन गरेर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको बताउँछन । इन्फ्लुएन्जा संक्रमणका बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुसजस्ता लक्षण देखापर्दछन् । इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन सक्छ । यसबाट बच्न बिरामी भएका व्यक्तिसंँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, शारीरिकरुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौस्टिक खाना खाने, बेलाबेलामा साबुनपानीले हात हुने र आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्ने चिकित्सकको सुझाव छ । यो सुझावलाई मनन गर्दै इन्फ्लुएन्जाको संक्रमणबाट जोगिऔं । इन्फ्लुएन्जा मात्रै नभई अन्य संक्रमणहरुबाट पनि बच्नुपर्छ । चिसोका कारण आउने जोखिमप्रति सबै सजग बन्न जरुरी छ ।
विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने भएकोले अत्यधिक चिसोको जोखिम हुन्छ । यसबाट जनजीवन प्रभावित हुने गर्दछ । यसबाट बच्न न्यानो कपडाका साथै खानपानमा पनि ध्यान दिन जरुरी छ । यसैगरी तराई क्षेत्रमा शितलहरले जनजीवन कठिन बनाउनुका साथै ज्यानसमेत जाने हुँदा सरोकारवाला सबैको ध्यान यसतर्फ जाओस् । चिसो र संक्रमणका कारण कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नआओस् । तसर्थ चिसोबाट बच्दै चिसोको मुख्य ओषधी तातो रहेको र तातोको लागि आगो मुख्य रुपमा देखिने भएकोले आगलागी हुनबाट जोगिनुपर्ने उत्तिकै आवश्यक देखिन्छ ।