देश–समाज लेख स्थानीय

सामुदायिक विद्यालय सुधारमा अभिभावकको भूमिका

रमेश गुरागाई


सामुदायिक विद्यालय बिग्रिनु वा सुधार हुनुमा अभिभावकको पनि महत्वपूर्ण भूमिका हुन्छ । कुनै समय हाम्रो देशका धनीदेखि गरिबसम्म, प्रधानमन्त्रीदेखि वडासदस्यसम्म, शिक्षकदेखि किसानसम्म, व्यापारीदेखि ग्राहकसम्म, डाक्टरदेखि बिरामीसम्म, पाइलटदेखि रिक्सावालसम्म सबै सामुदायिक विद्यालयका अभिभावक थिए । सबै वर्गबाट आएका विद्यार्थी एउटै शिक्षाको थलोबाट दीक्षित हुन्थे । नेपालको वास्तविक तस्बिर विद्यालय शिक्षाकै क्रममा बुझ्न पाउँथे । त्यसबाट सुधारका लागि पहल लिन पनि सजिलो हुन्थ्यो । सक्षमहरुले त्यसको अगुवाई गर्दथे र त्यसको लाभ सबैले लिन्थे ।
जब शिक्षा सरकारी र निजीमा बाँडियो, अझ भनौँ शहरमा निजी विद्यालयको क्रेज बढ्यो, तब अभिभावक पनि सरकारी र निजी विद्यालय गरी दुई थरीमा बाँडिन पुगे । सक्षम, पहुँचवाला, अगुवा बिस्तारै निजी विद्यालयका अभिभावक भए भने उनीहरुले सामुदायिक विद्यालय सुधारका सवाल चटक्कै भुल्न थाले । अथवा, त्यसलाई कुनै आवश्यकता ठान्न छाडे । आफ्ना नानीहरु निकाल्नुको औचित्य पुष्टि गर्न उनीहरु सामुदायिक विद्यालयलाई काम नलाग्ने करार गरेर अर्कै बाटो लागेका थिए ।
अभिभावक सामुदायिक विद्यालयमा नआउनुको मुख्य कारण अङ्ग्रेजीको मोह भन्ने छ । यो कति जायज वा नाजायज ? आफ्नो ठाउँमा छ । तर, निजी विद्यालयमा गएपछि अङ्ग्रेजी सर्वोत्कृष्ट हुन्छ भन्ने सुनिश्चितता घटनाक्रमले पुष्टि गर्न सकेका छैनन् । त्यस्तो वातावरण निर्माण गर्न अभिभावकहरु सम्भव भएसम्म एकजुट भएर सरकारी विद्यालयमा मेहनत गर्ने हो भने कस्तुरीले गन्ध खोजे जस्तो कतै भौतारिनु आवश्यक पर्दैन ।
कतिपय अभिभावकका लागि आजकाल नानीहरुलाई बस वा भ्यान चढाएर विद्यालय पठाउने फेसन जस्तै बनेको छ । निजी विद्यालयको एउटा बाध्यता जस्तै बनेको थियो, सम्पर्क र सम्बन्धको आधारबाट विद्यार्थी संकलन गर्नुपर्ने अनि तिनीहरु धेरै टाढाका पनि हुने भएकाले बस दौडाएर स्कुलसम्म ल्याउनुपर्ने । तर, यसकै सिको गरेर कतिपय सामुदायिक विद्यालयले पनि आजकाल बस दौडाउने गर्छन् । स्कुल वरिपरिका विद्यालय नपाएपछि वा नचाहेपछि टाढाटाढाका ल्याउन बस चाहिएको हो । धेरैजसो सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास गुमेकाले त्यस्ता क्षेत्रबाट शहरबजारतिरको ठूलो सामुदायिक विद्यालयले बसमा विद्यार्थी ओसार्नु परेको छ । वास्तवमा साना उमेरका नानीहरुलाई दैनिक बसमा चढाएर घुमाउनु स्वास्थ्यका लागि ज्यादै हानिकारक छ । बच्चालाई जसो गरे पनि बानी त लागिहाल्छ । बानी भयो भनेर ढुक्क हुने अभिभावकले भविष्यमा त्यसको असर नजरअन्दाज गरिरहेका हुन्छन् ।
कुनै ठाउँमा सामुदायिक विद्यालय हुनु भनेको त्यस वरिपरिका अभिभावकलाई सेवा दिन हो । अतः अभिभावकलाई आफ्ना नानीहरु नजिकैको विद्यालयमा पैदल हिँडाएर पुर्‍याउन सके त्यो जतिको उचित, सही र वैज्ञानिक अरु हुनै सक्दैन । सरकारी विद्यालयले जसरी पनि आफ्नो सेवा क्षेत्रका अभिभावकको भावनालाई सम्बोधन गर्ने र विद्यार्थी पढाउने अवस्था सिर्जना गर्नैपर्छ । त्यसो गर्दा जान्ने वा नजान्ने दुवै किसिमका विद्यार्थीलाई नजिकको विद्यालयमा शिक्षाको अवसर दिइनुपर्छ । विगतमा कतिपय नमूना विद्यालयले नजिकको विद्यार्थीलाई पन्छाएर ट्यालेन्टको नाममा टाढाको विद्यार्थीलाई मात्र भर्ना गर्ने प्रचलन थियो । अहिले पनि त्यस्तो नहोला भन्न सकिन्न । यो अभिभावककै लाचारीपनको परिणाम थियो । त्यसैले यस्ता विषयमा अभिभावक जागरण आवश्यक छ ।
आजकाल सामुदायिक विद्यालयका अधिकांश अभिभावकहरु निरीह, आवाजविहीन र दब्बु मानसिकतामा रहेका हुन्छन् । उनीहरुमध्ये कतिपय आर्थिक अवस्था कमजोर भएकाले रक्षात्मक भएर समाजमा बाँचेका हुन्छन् । तर, नानीहरुको पढाइ र सामुदायिक विद्यालय सुधारको सन्दर्भमा उक्त सवाल निर्णायक तत्व होइन । यस्ता कारणबाट अभिभावक प्रताडित बन्नु हुँदैन ।
अभिभावकहरु सामुदायिक विद्यालयप्रति नानीहरुको सिकाइस्तरको सम्बन्धमा समेत ढुक्क देखिँदैनन् । तर, त्यसको समाधान भनेको अन्यत्र जानु होइन । यसबाट त भविष्यमा बिकराल अवस्था सिर्जना हुन सक्छ । बरु, विद्यालयको उचित व्यवस्थापन र प्रगतिको अलावा घरमा नानीहरुलाई असल सस्ंकार र सिकाइका लागि अभिभावक उत्तिकै जिम्मेवार हुनुपर्छ । धेरैजसो अभिभावक नानीहरुलाई अर्ती उपदेश दिनमै सीमित भएको पाइन्छ । नानीहरु भने त्यसलाई सुने पनि आफ्ना अभिभावकको बानीब्यहोराबाट अवलम्बन गर्न पुग्छन् । अभिभावकको भनाइ र गराइमा अन्तर रहेछ भने गराइबाट नानीहरु प्रेरित हुन्छन् र समस्या त्यहीँबाट सुरु हुन्छ ।
अभिभावकले नानी विद्यालय पठाएपछि शिक्षाको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको महसुस गर्नु निकै ठूलो कमजोरी हो । विद्यालयमा शिक्षकको पढाइ विद्यार्थीको विविधताका कारण सबैलाई उत्तिकै उपयोगी नहुन सक्छ तर घरमा नानीको विशिष्ट स्वभाव र क्षमता लक्षित विधि प्रयोग गर्न अभिभावकलाई सहज हुन्छ । त्यसैगरी सामुदायिक विद्यालय पठाउने बित्तिकै पोशाक र सरसफाइ, विद्यालय जाने र आउने समय, उपस्थिति र अनुपस्थिति, परीक्षाफलमा प्रगति र अवनति केही पनि पनि ख्याल नगर्ने अनि विद्यालयप्रति धारे हात लगाउने काम किमार्थ सही होइन । अभिभावकले सामुदायिक विद्यालयमा नानीहरुको गेट अप एवम् सुरक्षाको विषयमा पनि यदाकदा प्रश्न उठाएको पाइन्छ । ती सबै विषय अभिभावक आफैँले व्यवस्थापन गर्ने हो । निजी विद्यालयका अभिभावक त्यस्ता विषयमा सावधान हुन्छन् भने सामुदायिकतर्फ भने बेवास्ता गरेको पाइन्छ । विद्यालयले नियमन गरेमा मात्र ध्यान दिने मानसिकता अभिभावकमा पाइन्छ । अझ सरकारी विद्यालयका अभिभावकहरुको नानीहरुको पढाइप्रति बेवास्ता गर्ने प्रवृत्तिको अन्त्य गर्नैपर्छ ।
सामुदायिक विद्यालय सुधार गर्न नसक्दा वर्तमान र भविष्यमा आर्थिक र मनोबैज्ञानिक रुपले सबैभन्दा पीडित अभिभावक हुन पुग्छन् । त्यसैले आवश्यक आर्थिक स्रोतको व्यवस्थापन, शिक्षकहरु व्यवस्थापन र भौतिक सामाग्री आदि जुटाउने र सुधारको अगुवाई गर्न सक्षम व्यवस्थापन समिति छनौटमा समेत अभिभावक चनाखो बन्नुपर्छ । सम्पूर्ण स्थानीय अभिभावक सचेत भएर सामुदायिक विद्यालय सुधारमा अभियानात्मक ढंगले लागेमा आज नभए भोलि, भोलि नभए पर्सि उपाय निश्चित रुपमा निस्किने छ ।

Author

You may also like