देश–समाज समाचार स्थानीय स्वास्थ्य

झापाका अस्पताललाई करोडौंका अस्पतालजन्य सामग्री हस्तान्तरण

दमक/ झापाका विभिन्न गाउँपालिकामा सञ्चालनमा रहेका अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने अभियानमा सहयोग जुट्दै गएको छ । स्थानीय पालिकाबासीले सामान्य उपचारका लागि ठूला अस्पताल धाउन नपरोस् भनेर स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारहरु लागेर स्वास्थ्यलाई पहिलो प्राथमिकताका साथ काम अगाडि बढाएका छन । यहि सन्दर्भमा झापाका विभिन्न गाउँपालिकालाई अस्पतालजन्य सामग्रीहरु उपलब्ध गराइएको छ ।
स्वास्थ्य संस्थाहरुमा दातृ संस्था हेल्पिङ हेण्ड (युएसए) ले अस्पतालजन्य सामग्री प्रदान गरिरहेको छ । वर्क फर नेपालको स्थानीय व्यवस्थापनमा हेल्पिङ हेण्डले अस्पतालजन्य सामग्री प्रदान गर्दै आएको हो ।
बिर्तामोड नगर अस्पतालमा बुधबार सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा अस्पतालजन्य सामग्री हस्पतान्तरण गरिएको छ । बिर्तामोड नगर अस्पताललाई वर्थिङ वेड, इसिजी, सर्जिकलका सामान, अक्सिजन कन्सन्ट्रेटर लगायतका अस्पतालजन्य सामग्री प्रदान गरिएको हो । वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीका अनुसार बिर्तामोड नगर अस्पताललाई ६८ लाख ६८ हजारको सामग्री प्रदान गरिएको छ । यस्तै, सभामुख घिमिरेबाट खुदुनावारी स्वास्थ्य चौकीलाई सोही प्रकारका २५ लाख १४ हजार बराबरको अस्पतालजन्य सामग्री प्रदान गरिएको अधिकारीले जानकारी दिए । अध्यक्ष अधिकारीले दिएको जानकारी अनुसार प्रादेशिक आयुर्वेदिक अस्पताललाई कमलमा मंगलवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट ४१ लाख ५४ हजार बराबरको सामग्री प्रदान गरिएको छ भने बिहीवार कुमरखोदमा रहेको स्वास्थ्य चौकीलाई ३६ लाखभन्दा बढि रकमको अस्पतालजन्य सामग्री हस्तान्तरण गरिने बताइएको छ ।
बिर्तामोड नगर अस्पतालमा सामग्री हस्तान्तरण गर्दै सभामुख देवराज घिमिरेले बिर्तामोड शिक्षा र स्वास्थ्य क्षेत्रमा हबका रुपमा विकास भइरहेको बताए । ठुला निजी अस्पतालसँग प्रतिष्पर्धा गर्दै सहुलीयत रुपमा नगर अस्पतालले स्वास्थ्य सेवा प्रदान गरिरहेकोमा धन्यवाद दिए । अस्पताल स्थापनादेखि नै स्वास्थ्य उपचार सेवामा नगर अस्पतालले दिइरहेको सेवाप्रति खुशी व्यक्त गर्दै सभामुख घिमिरेले भने– सुलभ रुपमा उपचार सेवा प्रदान गर्दै यहाँका निजी अस्पतालहरुसँग प्रतिष्पर्धा गर्न सक्ने विश्वास गरेको छु । सरकारी स्वास्थ्य संस्थामा नगर अस्पतालले अब्बल संस्थाको रुपमा स्थापित हुनुपर्ने उनको धारणा थियो ।
‘जहाँ इच्छा, त्यहाँ उपाय’, उनले थपे– बिर्तामोड नगर अस्पताल ठुलो आँट र हिम्मतका कारण यहाँसम्म आइपुगेको छ । बाँकी दिनहरुमा प्रभावकारी रुपमा सेवा दिन सक्नुहोस्, निजी अस्पताललाई प्रतिष्पर्धा गर्न आउने बनाउनुहोस् । त्यसका लागि सहयोग गर्न तयार छु । उपचार सेवालाई प्रभावकारी बनाउदै जान आग्रह गर्दै सभामुख घिमिरेले अस्पताल स्थापित गर्ने मुख्य दायित्व नगरपालिकाको भएको बताए ।
नगर अस्पतालबाट २४ घण्टा सेवा दिनका लागि आतुर रहेको बताउँदै उनले १२ घण्टा सेवा माघ २ गतेबाट सुरु भइसकेको बताए । अस्पतालमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि सेवा सुरु भइसकेको छ ।
अस्पतालजन्य सामग्री हस्तान्तरण कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रदेश सरकारबाट स्वास्थ्य क्षेत्रमा गरिरहेको कामका बारेमा जानकारी गराएका थिए । नगर अस्पतालका लागि सुविधा सम्पन्न शुद्ध खानेपानीको व्यवस्थापन मिलाईदिने प्रतिवद्धता व्यक्त गरे । कोशी प्रदेशका सांसद चिन्तन पाठक, अस्पतालका मेसु डा. सुनिल अधिकारी लगायतले धारणा राखेका थिए ।

Author

You may also like