स्वास्थ्य

नवौं राष्ट्रिय योग दिवश, योग साधनाप्रति बढ्दो चासो

दमक, ०२ माघ। सरकारी तबरबाटै योग साधनाको आवश्यकतामा जोड दिँदै सम्पूर्ण पालिकाहरुलाई योग दिवश मनाउन निर्देशन दिएपछि योग क्षेत्रको चासो अझ बढेको छ ।

यस सन्दर्भमा मानिसको शारिरिक र मानसिक तन्दुरुस्तीमा जोडदिँदै ‘गरौ योग, रहौं निरोग’ भन्ने नारा सहित सोमबार देशभरी नै विभिन्न तरिकाले नवौं राष्ट्रिय योग दिवश मनाइएको छ । जस अनुरुप पातञ्जल योग समिति ,जीवन विज्ञान र ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालले दमकमा संयुक्त रुपमा योग दिवश मनाएका छन् । कार्यक्रममा जीवन विज्ञानका कोसी प्रदेश सल्लाहाकार लक्ष्मण न्यौपानेले योगको महत्वको बारेका प्रकाश पार्दै भने ‘आजको दुषित पर्यावरण, रासायनिकयुक्त खानपान सहितले मानिस रोगी वन्दै गएको छ । जसकारण खानपानमा ख्याल गर्दै दैनिक योगसाधना स्वस्थ्य वन्नका लागि आजको अपरिहार्य आवश्यकता भइसकेको छ ।’

दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाले योग दिवसको शुभकामना ब्यक्त गरे । कार्यक्रममा पातञ्जल योग समितिबाट केन्द्रीय सदस्य हेमन्ती देवी गजुरेल, प्रदेश सचिव लोकनाथ गजुरेल, प्रदेश सदस्य सोमनाथ खनाल, जिल्ला सदस्य मिना खनाल लगायतको उपस्थिति रहेको थियो । जीवन विज्ञानका प्रशिक्षकहरु पुष्पा न्यौपाने, पुर्णप्रकास निरौला, श्रीप्रसाद राई, जानुका राई, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानबाट केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद पौडेल, सचिव जीवराज भट्टराई सहित सहभागि भए । सवैले योगको महत्वमा जोड दिँदै यसको विस्तारमा चिन्तन मनन् गरे ।

यसैबीच, योग दिवशको सन्दर्भमा जीवन विज्ञानको सात दिने उर्जा ध्यान शिविर दमक ८ स्थित अर्गानिक कृषि भवनमा सम्पन्न भएको छ । जीवन विज्ञान झापा समितिको आयोजनामा र वडा कार्यलय दमक ८ को सहयोगमा भएको ध्यान शिविरमा करिव ५० जना सहभागी भएका थिए । लक्ष्मण न्यौपाने, पुष्पा न्यौपाने, हरिप्रसाद दहाल, सुमना दहाल, पुष्पा गौतम, पूर्णप्रकाश निरौला, मदन अर्याल, श्रीप्रसाद राई, जानुका राईले योग प्रशिक्षण प्रदान गरे । शिविरमा योग, ध्यान, प्रणायाम लगायत आफ्नो जीवनलाई कसरी सुखी बनाउन सकिन्छ भन्ने बिषयमा प्रशिक्षण भएको थियो । उर्जा शिविरलाई आगामी दिनमा निरन्तरता दिने स्थानीय हरिहर किर्तन मण्डलीका अध्यक्ष समेत रहेका सहभागी लाल बहादुर सापकोटाले बताए । शिविरलाई प्रयोशालामा रुपमा व्यवस्थित रुपले सञ्चालन गर्ने बन्धु विकास टोल विकास सस्थाका अध्यक्ष ओमप्रसाद खनालले जनाए । उर्जा शिविरको समापन जीवन विज्ञानका कोशी प्रदेश सल्लाहाकार लक्ष्मण न्यौपानेको प्रमुख आतिथ्यता र झापा जिल्ला संयोजक पुष्पा न्यौपानेको अध्यक्षतामा भएको थियो ।

दमक नगरपालिकाले प्रत्येक वडामा योग साधना सञ्चालनका लागि सामग्री प्रदान गर्दै आएको उपप्रमुख रेगिना भट्टराई प्रसाईंले जनाइन् । नगरले यो वर्षको योग दिवशमा आफुले छुट्टै कार्यक्रम नगरेपनि योगसाधनासँग सम्बन्धित संघ संस्थाहरुलाई सामग्री प्रदान सहित प्रोत्साहन गरेको जनाइन् । उनले आफु वडा नम्बर १ को कार्यक्रममा सहभागि भएर योग साधना अपरिहार्य भएको जनाइन् । उनी भन्छिन् ‘रोग लागिसकेपछिको उपचारात्मक पद्धती अपनाउनुभन्दा रोग लाग्नै नदिने योगसाधनाको मार्ग अपनाउनुको विकल्प छैन अव ।’

उता, मोरङको उर्लाबारीमा माघ १ देखि ७ गतेसम्म सप्ताहव्यापी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । ‘स्वास्थ्य शरीर, स्वस्थ मन, समृद्ध समाज हाम्रो धन’ भन्ने नारा तय गरेर ब्रह्मकुमारी राजयोग सेवा केन्द्र उर्लाबारी, पतञ्जी योग समिति, पातञ्जल योग समिति, आशोधारा नेपाल, जीवन विज्ञान र विश्व शान्ति तथा आध्यात्म विज्ञान समाजको संयुक्त आयोजनामा अभिमुखिकरण कार्यक्रम अघि बढेको छ । पहिलो कार्यक्रमस्वरुप सोमबार उर्लाबारी २ स्थित बेतिनी सिमसारमा सात्विक वनभोज सहित अभिमुखिकरण अघि बढाइएको हो । यसबीच, योगको आवश्यकतालाई विस्तार गर्ने अभियानका रुपमा विश्व शान्ति तथा आध्यात्म विज्ञान समाजमार्फत उर्लाबारीका सामाजिक अभियन्ता एवं योग प्रशिक्षक रुद्रबहादुर तामाङको अगुवाईमा गत मंसिर १० देखि निःशुल्क हठ योग शिविर सञ्चालन भइरहेको छ । तामाङ भन्छन् ‘योग र ध्यानको महत्व परापूर्वकालमा थियो । मानिस शौखिन तथा विलासी हुँदै गए । योगसाधनामा ध्यान नदिने, खानपानमा लापरबाही गर्ने गर्न थाले । वातावरण पनि प्रदुषित हुँदै गयो । यस अवस्थामा योगसाधनाको आवश्यकता व्यूँतिएर झनै आवश्यक बनेर गएको छ ।’ उनले योगको महत्व बुझाउन निःशुल्क योग सञ्चालन गरिरहेको जनाए । उनले भने ‘अहिले योगमा चासो निकै बढेको छ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस २२ गते स्थानीय सवै पालिकालाई पत्राचार गरी नवौं योग दिवश मनाउन निर्देशन दिएको थियो । योगको महत्वबारे सबैलाई बुझाउने उद्देश्यले पछिल्लो समय नेपालमा वर्षेनी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । योग, ध्यान र प्रणायाममा नेपाली पनि विस्तारै आकर्षित हुन थालेका छन् । योग प्रशिक्षकका अनुसार शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग अनिवार्य छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै ‘गरौं योग, रहौं निरोग’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर मनाउन निर्देशन गरेको छ । तत्कालीन सरकारको २०७२ साउन २८ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै शिक्षा मन्त्रालयलाई जिम्मेवारी सुम्पेसँगै राष्ट्रिय योग दिवस मनाउन थालिएको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माग १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वका निमित्त कार्यालय प्रमुख तथा योग अभियन्ता विष्णुहरि आचार्यले त योगलाई विभिन्न पाँच क्षेत्रसँग जोड्न सकिने तर्क अघि सारेका छन् । चिकित्सामा, शिक्षामा, पुनस्र्थापनामा, खेलकुदमा र पर्यटनमा योग जोडेर लान सकिने उल्लेख गर्छन् ।

You may also like