ताप्लेजुङ/ नेपाली कांग्रेस ताप्लेजुङले केवलकार निर्माण गर्नुअघि न्यूनतम् सहमति आवश्यक रहेको बताएको छ । पाथीभरा क्षेत्रमा केवलकार निर्माणको काम सुरु गरिएसँगै जिल्ला अशान्त बनिरहेको अवस्थामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पार्टीको धारणा सार्वजनिक गर्दै वातावतरण सहज बनाएर मात्र केवलकार निमाण गर्नुपर्ने उल्लेख गरेको हो।
सदरमुकाम फुङ्लिङमा बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेस ताप्लेजुङले विवादरहित अवस्थाको सिर्जना गरी शान्तिपूर्ण ढङ्गले सौन्दर्य, प्रकृति र शक्तिको क्षयीकरण नहुने गरी पाथीभरामा केवलकार निर्माण हुनुपर्ने धारणा सार्वजनिक गरेको छ । कांग्रेसले पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केवलकारको विवाद र जिल्लामा सञ्चालित जलविद्युत् परियोजनाबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।
जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले आन्दोलनको प्रस्थान बिन्दु पत्ता लगाएर त्यसभित्र न्यूनतम् सहमतिसहित समस्याको दिगो समाधान हुनेगरी वातावरण बनाएर मात्र केवलकार निर्माण हुनेपर्ने पक्षमा आफूहरू रहेको उल्लेख गरे ।
सभापति तुम्याहाङले द्वन्द्व मेटिनेगरी वातावरण बनाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको कांग्रेसको बुझाइ रहेको स्पष्ट पारे । सहअस्त्वि र सद्भाव स्थापित गर्दै विकासको काम गर्नुपर्ने कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मानिसको हत्या र हिंसा गरेर निर्माण भएको पूर्वाधार विकास नहुने पनि विज्ञप्तिमा उल्लेख छ । केवलकार निर्माण पक्ष र आन्दोलनरत पक्ष दुवैको प्रस्तुतिले साम्प्रदायिक सद्भाव भड्किने परिस्थति सिर्जना भएको पनि कांग्रेसले उल्लेख गरेको छ । दलबल नभई वार्ता र सहमतिमार्फत समस्याको समाधान खोजिनुपर्नेमा कांग्रेसको जोड रहेको छ ।
धार्मिक र सांस्कृतिकस्थल रक्षाको आन्दोलनमा रहेका पक्षलाई वार्ताको टेवलमा आएर सम्वाद र सहमतिका माध्यमबाट अघि बढ्न पनि कांग्रेसले आग्रह गरेको छ । अनिश्चितकालीन बन्द हड्तालले जनजीवन अस्तव्यस्त बनेको उजागर गर्दै कांग्रेसले उचित समयमा उचित निर्णय गरी बन्द हड्ताल फिर्ता लिनसमेत आन्दोलनरत पक्षलाई अनुरोध गरेको छ । कांग्रेसले आन्दोलनरत पक्ष र केवलकार निर्माण पक्ष दुवैले आफ्नो हठ त्यागेर लचकता र संयमताका साथ शान्तिपूर्ण वातावरण सिर्जना गरी वार्तामा बस्न कांग्रेसको आग्रह रहेको छ । सरकार र सुरक्षा प्रमुखलाई नागरिककाविरुद्ध जबरजस्त बल प्रयोग नगर्न समेत कांग्रेसले आग्रह गरेको छ ।
त्यस्तै कांग्रेसका जनप्रतिनिधि तथा जिम्मेवार नेता कार्यकर्तालाई अनावश्यक साम्प्रदायिक दङ्गा भड्काउने किसिमले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन र गैर जिम्मेवारपूर्ण क्रियाकलापन नगर्नसमेत अपिल गरेको छ । पार्टीको आचरणभन्दा बाहिर गएर अभिव्यक्ति दिए वा गैर जिम्मेवार क्रियाकलापमा सहभागी भएर त्यसबाट हुने क्षतिको जिम्मेवार र जवाफदेहि आफैं हुनुपर्ने पनि कांग्रेसले विज्ञप्तिमार्फत सचेत गराएको छ ।