दमक । विगतमा उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको रोजगार मेला शनिबार त्रिपक्षीय समन्वय र सहकार्यमा सम्पन्न भएको छ । स्थानीय सरकार, दमक उद्योग वाणिज्य संघ र दक्ष जनशक्ति उत्पादक श्रीयन्त्र कलेजको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो
सहरभित्र रोजगारी खोज्न गाह्रो हुने अवस्थालाई चिर्दे रोजगारी खोज्ने र दिने दुवै पक्षलाई एकै थालोमा उभ्याएर एकै छिनमा रोजगार पाउने वातावरण रोजगार मेलाले बनाएको वक्ताहरुले बताएका छन् । रोजगारी खोज्न र पाउन अहिले निकै असहज हुँदै गएको सन्दर्भमा रोजगार मेलो उपर्युक्त थलो हुने बताए । उनीहरुले रोजगार नभएकै कारण युवाहरु विदेश जाने लहर चलेको अवस्थामा स्थानीयस्तरमै रोजगार प्रवद्र्धनको सन्देशका लागि झापाको दमकमा प्रयास भएको छ ।
रोजगार सिर्जना गर्ने क्रममा रोजगार दिने पक्ष र रोजगार बन्ने पक्षको मेला लगाएर रोजगारी प्रवद्र्धनको कामको थालनी भएको वक्ताहरुको भनाई छ ।
सो रोजगार मेलाबाट दर्जनौंले रोजगार पाउने अपेक्षाका साथ लगाइएको कलेका प्रिन्सिपल इन्जिनियर श्यामकुमार विष्टले स्वागत मन्तव्यमा राखे । ‘रोजगार मेला’ मा ४ दर्जन बढीले रोजगारीका लागि रोजगारदातासँग आवेदन परेको छ । तर त्यसका प्राविधिक पक्षहरुका विषयमा सम्बन्धित ठाउँबाटै हेर्नुपर्ने भएकोले कतिले रोजगारी पाए भन्ने तथ्याङ आइनसकेको पनि विष्टले बताए ।
दमक ९ स्थित श्रीयन्त्र कलेजमा आयोजित औपचारिक कार्यक्रमपछि त्यहाँ उपस्थित १७ वटा रोजगारदाता संस्थाले रोजगारका लागि आवेदन दिनेसँग अन्तरवार्ता लियो । १७ संस्थाका लागि जम्मा ३९ जना जनशक्ति आवश्यक रहेको जानकारी गराएपछि त्यहाँ रोजगारी प्राप्त गर्न युवापुस्ताले आवेदन दिएका थिए । रोजगारदाताका रुपमा नेक्स्ट इरा एनर्जी प्रालि, फस्ट लिंक, हिमशिखर टेलिभिजन, पाथीभरा एफएम, होटल स्वर्गलोक, होटल नेपाली रिक्का, थ्रि इन होटल, कामाक्ष होटल, क्रिस्टल सोलुसन बिर्तामोडसहित थिए । मेला उद्घाटन् गर्दै दमक नगर प्रमुख रामकुमार थापाले स्थानीयस्तरमा रोजगारी खोज्न सहजताका लागि लगाएको मेलाले स्थानीय स्तरमै रोजगार बन्ने समेत सन्देश दिने बताए ।
कार्यक्रममा, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, ९ का वडाध्यक्ष कुवेरप्रसाद भट्टराई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं गोपाल, होलसेल व्यवसायी संघ दमकका सचिव रमेश खतिवडा, थ्रि इन वान होटलका प्रवन्ध निर्देशक भवानीविक्रम आङ्देम्बे, सुनसरीको रामधुनी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजनकुमार गेलालसहितले शुभकामना मन्तव्य राख्दै यसखाले कार्यक्रमलाई आगामी वर्षमा अझ व्यवस्थित र भव्य रुपमा सञ्चालनमा साथ दिने धारणा राखे । आफूहरुले सोचे अनुरुपको जमघट मेलामा हुन नसकेको जनाउँदै आयोजक फाउण्डेशनका अध्यक्ष महेन्द्रप्रसाद घिमिरेले पहिलो पटकको प्रयास रहेको र अबका दिनमा अझ साथसहयोग भएमा वर्षेनी यसखाले मेला लगाएर आफ्नै ठाउँमा रोजगारीको अवसर सिर्जना गर्न लागिपर्ने दृढता व्यक्त गरे । कार्यक्रममा साँस्कृतिक प्रस्तुति समेत भएको थियो ।

Author

You may also like