उर्लाबारी/ आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण बनेका छन्, यमकान्त गौतम । झापाको दमक–३ का ३७ वर्षीय गौतमले उर्लाबारीमा सैलुन खोलेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । कपाल काट्ने व्यवसायमा पुरानो मान्यतालाई पन्छाउँदै उनले थालेको व्यवसायले सफलता हासिल गरेको छ । कमै मात्र पहाडी मूलका व्यक्तिले कपाल काट्ने व्यवसाय सञ्चालन गरेका छन् । ती मध्येमा पर्छन् उर्लाबारी–७ नाइट काउण्टर छेउमा सञ्चालित द ड्रिम हेण्डसम पार्लरका सञ्चालक यमकान्त गौतम ।

वैदेशिक रोजगारीका लागि कतार मलेसिया लगायत ठाउँमा लामो समय बिताएर फर्किएका गौतमले १३ लाख रुपैयाँ लगानीमा तीन वर्षअघि सैलुन खोलेका हुन् । गौतमले भने, ‘देशविदेशका अनुभव भोगियो, अब विदेशमा जानु भन्दा स्वदेशमै आफ्नै परिवारसँग रमाउँदै कपाल काट्ने पेसा गर्न मन लाग्यो, अहिले यसैमा खुसी छु ।’ थोरै लगानीमा पेसा सञ्चालन गर्न सकिने र सोचे अनुसार आम्दानी पनि हुने भएकोले यो व्यवसाय रोजेको उनले बताए । विदेशमा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्ने अठोटसहित गौतमले पार्लर व्यवसाय सुरु गरेका हुन् । प्रारम्भमा यो पेशा सुरु गर्दा गौतमका कुरा काट्ने धेरै थिए, परिवारको पनि रुचि थिएन तर अहिले सफलता प्राप्त गर्दै गएपछि सबैको साथ पाएका छन् । गौतम भन्छन्, “सुरुका दिनमा केही असहज थियो, ब्राह्मणको छोराले यस्तो के गरेको भनेर गिज्याउँथे तर अहिले परिवार र समाज दुवैले मेरो मेहनतलाई स्वीकार गरेका छन् । ”गौतमले अन्यत्रभन्दा सस्तो शुल्कमा सेवा दिएका छन् । पार्लरमा कपाल काट्ने शुल्क एक सय रुपैयाँ राखिएको छ ।
सस्तो र उत्कृष्ट सेवाका कारण पार्लरमा दैनिक दर्जनौं ग्राहक आउने गरेका छन् । कतार र मलेसिया लगायतका देशमा काम गर्दा सिकेको सीप र ज्ञानलाई गौतमले नेपालमै उपयोग गरेका छन् । उनले दैनिक ४० देखि ५० जनाको कपाल काट्दै आएको बताए । गौतमको यो व्यवसायले केवल उनलाई मात्र होइन, स्थानीय युवालाई समेत सकारात्मक प्रभाव पर्ने उर्लाबारीका अग्रज पत्रकार जगन्नाथ भट्टराई बताउँछन् । विगत दुई वर्षदेखि गौतमकै सैलुनमा कपाल काट्दै आएको भट्टराईले बताए । गौतमले पार्लरमा आफ्ना भाइलाई समेत रोजगारी प्रदान गरेका छन् भने सीप सिक्न चाहनेहरुका लागि आफूसँग आउन आह्वान समेत गरेका छन् । द ड्रिम हेण्डसम पार्लर अहिले उर्लाबारी र आसपासका क्षेत्रका ग्राहकको प्राथमिकतामा पर्दै आएको छ । भविष्यमा पार्लरको सेवा विस्तार गर्ने र नयाँ सेवाहरू थप्ने योजना गौतमले बनाएका छन् । गौतमको सफलताले विदेश जाने सोच बनाएका युवाहरूलाई स्वदेशमै केही नयाँ र उपयोगी काम गर्न प्रेरित गरेको छ । पार्लरबाट भइरहेको आम्दानीबाट गौतम सन्तुष्ट छन् । भन्छन् ‘यतिको कमाइ हुँदा विदेश गइरहनु पर्दैन, यसैमा खुसी छु ।’