पछिल्लो समयमा अनलाईन गठी गर्नेहरुको गिरोह निकै सक्रिय हुँदै आएको छ । अपरिचित नम्बर वा विभिन्न सामािजक सञ्जालमा आउने यस्ता गिरोहका म्यासेजले कुनै न कुनै प्रलोभनमा पारेर लोभ्याउने गरेका छन। जसका कारण अनाहकमा मानिसहरु लाखौंको ठगीमा पर्ने गरेका छन् ।
केही दिनयता सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमेलगायतबाट फोन गरी डिजिटल वालेट तथा बैंक/वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आमसर्वसाधारणलाई गुमराहमा राख्ने क्रम बढ्दो छ । यस्ता ठगीहरुबाट बच्न र त्यस्ता व्यक्तिको सम्पर्कबाहिर रहँदै सावधानी अपनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूूरो (सिआइबी) ले अनुरोध गर्दै आइरहेको छ । पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
हालैमात्र पोखरामा रू ५७ लाख, चितवनमा रू १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको रू पाँच लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौँ रकम ठगी भएको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले दिएका छन् ।
इसेवा, खल्तीजस्ता वालेट, बैंक तथा वित्तीय संस्थाको लोगोसमेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटकपटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईँको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटिपी माग गर्नेहरूसँग सावधानी अपनाउन जरुरी देखिन्छ ।
सावधानी नभए क्षणभरमा नै उक्त वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेटमा वा बैंक खातामा टूान्सफर हुने भनी सजग पनि गराएको छ । यस्तै सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेज पठाउने र विभिन्न किसिमका एआइले बनाएको आवाजबाट कल गरी तपाईँको सामान आएको छ, तपाईँलाई फाइदा हुने खालको व्यापार छ भन्नेजस्ता लिंक पठाई खोल्न लगाउने र लिंक खोल्नेबित्तिकै युजरनेम र पासवर्डमा पहुँच पुर्याएर पैसा रकमान्तर गर्ने गरेको सिआइबीले खुलाएको छ । अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने गरेका छन् । सिआइबी भन्छ– यस्ता कार्यमा यस्तो कार्यमा हालसम्म पाँच सयभन्दा बढी फोन नम्बर सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएका फोन तथा म्यासेज नउठाउन तथा उत्तर नदिन पनि सिआइबीले सबैमा अनुरोध गरेको छ । शंकास्पद फोन, म्यासेज वा लिंगहरु प्रयोग नगर्दा र नजिकैको प्रहरी कार्यालयमा त्यसको विवरण पेश गर्दा आफु पनि बचिने र समाजलाई पनि बचाउन सकिनेतर्फ सबैको ध्यान जानु जरुरी देखिन्छ ।