देश–समाज समाचार स्थानीय

झड्केली छोरीबाट ठगिए ८० वर्षीया बृद्धा बाबु

दमक/ इलामको चुलाचुली गाउँपालिका वडा नम्वर २ अर्नाखाडीका एक ८० वर्षीय वृद्ध आफ्नै झड्केली छोरीबाट आर्थिक दुव्र्यवहार र अन्यायमा परेको निजका भतिज पूर्ण कुमार मावोले आरोप लगाएका छन्  । चुलाचुलीको अर्नाखाडीका ज्येष्ठ नागरिक ति दिल बहादुर मावो नाम गरेका वृद्ध झापाको हल्दीबारी बस्ने जसोदा नेम्वाङबाट आर्थिक दुव्र्यवहार र झुक्यानमा परेको उनको भनाई छ । जसोदाले २०७७ साल असोजमा दिल बहादुरलाई नयाँ घर बनाइदिन्छु भनेर निजको ११ कठ्ठा ८ धुर जग्गामध्ये ५ कठ्ठा १४ धुर जग्गा ४ लाख ७० हजार बराबरको मूल्य राखी राजीनामा पास गराएको खुल्न आएको छ ।
तर जसोदाले सो जग्गाको मूल्यको रकम पनि नदिएको र नयाँ घर पनि नबनाइदिएको बरु उल्टै त्यसको ७ महिना पछि २०७८ साल वैशाख १३ गते इलामको फाकफोकधुम गाउँपालिका वडा नं. ६ एकतप्पाकी ६० वर्षीया बसन्ता पौडेलको नाममा विक्री वितरण गरेको पूर्ण कुमार मावो र सम्बन्धित पीडित पक्षधर मावो परिवारले बुधबार पत्रकार भेटघाट गरी जनाएको छ । पत्रकार मञ्च दमकको सभाहलमा आयोजना गरिएको सो पत्रकार भेटघाटमा ७७ वर्षको उमेर रहेका बेलामा आफ्ना काका दिल बहादुरलाई सुनको औंठी भनेर पित्तलको औंठी दिएर ललाइफकाई गरेको र निजले पनि जालसाजमा परी सो कार्य गरेको वर्षदिनपछि मात्र आफू ठगिएको थाहा पाएको सुनाएको भतिज पूर्ण कुमारले प्रकाश पारे । ७ महिनाको अन्तरमा ४ लाख ७० हजारको जग्गाको भाउ बढाएर ३० लाख गराइएबाटनै दिल बहादुर ठगिएको प्रमाणित हुने मावो बन्धु समाजका केन्द्रीय कोषाध्यक्ष लाख बहादुर मावोले पत्रकार भेटघाटमा बताए ।
दिल बहादुरका जालकुमारी तर्फका एकमात्र छोरा हर्क बहादुरको पनि २ छोरीको जायजन्म भइ स्वर्गारोहण भइसकेको छ । नातिनी पूर्णिमा हाल १९ वर्षकी छन् भने जेनी नाबालिग रहेकी छन् । उनीहरुकी आमा भने वैदेशिक रोजगारीको सिलसिलामा दुवईमा रहेको बताइएको छ । यसर्थ पालनपोषण, स्याहार र संरक्षण गर्ने कोही नहुँदा दिल बहादुर ८० वर्षको बुढ्यौली उमेरमा कहिले लाख बहादुर मावो त कहिले झापाको कमल गाउँपालिका–३ केर्खाका नगेन्द्र मावोको घरमा शरण लिएर बस्दै आएका छन् । नातिनी पूर्णिमा छरछिमेकीकोमा त अर्की नातिनी जेनी मावलीमा आश्रय लिएर बसिरहेको पत्रकार भेटघाटमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दिल बहादुरको बस्ने घर पनि राम्रो अवस्थामा छैन । न त श्रीमती जालकुमारीनै साथमा रहेको पूर्ण कुमारको भनाईबाट थाहा हुन्छ । अर्कातर्फ बाबुसमेत स्वर्गबास भइसकेको अवस्थामा आफू र बहिनीको अंशभाग समेत छिन्ने काम भएको र खोसिएको भन्दै पूर्णिमाले यतिबेला इलाम जिल्ला अदालतमा अंशचलन, किर्ते जालसाज, दूषित राजीनामा लिखत बदर, दर्ता बदर र दर्ता कायमको मुद्दा दायर गरेकी छन् । भतिज पूर्ण कुमार र नातिनी पूर्णिमाले दिल बहादुर सरासर अन्यायमा परेको बताएका छन् । र, उनीहरुले न्यायका लागि सम्मानित अदालतका साथै संचारकर्मी र सरोकारवालाहरुको ढोका ढकढक्याउन बाध्य भएकाले पनि पत्रकार भेटघाट गर्नुपरेको बताए । उता जसोदाले भने आफ्नी आमा जालकुमारीलाई उक्साहटमा पारेर दिल बहादुरको बाँकी रहेको ५ कठ्ठा १४ धुर जग्गामा अंशभाग दाबी गर्दै अंश चलनको मुद्दा दायर गरेकाले दिल बहादुर अझै मानसिक पीडामा परेको जनाइएको छ । पत्रकार भेटघाटमा दिल बहादुर र निजकी नातिनी पूर्णिमालाई पनि उपस्थित गराइएको थियो भने जसोदाले कानुनविपरीत संरक्षक समेत नराखी दिल बहादुरको जग्गा आफ्नो नाममा गुपुचप पास गराएकाले बदरभागी हुनुपर्ने पीडित पक्षको जिकिर थियो  ।

Author

You may also like