सन् १९५० भन्दा अगाडि सम्म तिब्बत एउटा स्वतन्त्र, स्वशासित र स्वायत्त देशको रूपमामा ब्रिटिश भारतबाट संरक्षित क्षेत्रको रूपमा रहेको थियो ।भारतमा ब्रिटिश शासन चल्दा सम्म भारत र चीन वीच को बफर जोन र बफर स्टेटको रूपमा नेपाल, तिब्बत, सिक्किम ,भुटान जस्ता राज्यहरू ब्रिटिश सरकार बाट संरक्षित थियो । दुई वटा ठुला र शक्तिशाली देशहरू को बीचमा रहेको सानो मुलुकले ठुला देशहरू बीच सोझो भिरन्त हुन बाट जोगाउने कार्य गर्दथ्यो ।त्यही कारणले साना देशहरूको अस्तित्व पनि जोगाउनु पर्दछ भन्ने कुराको ख्याल गरिन्थ्यो। त्यतिखेर दुई वटा ठूला देशहरूको बीचमा सानो देशहरू छन् भने त्यस मुलुकको सुरक्षा एउटा शक्तीशाली देशले गर्नु पर्ने मान्यता रहेको थियो हिमालयको उत्तरपट्टि को मुलुकमध्ये ब्रिटिश भारत अत्यन्त शक्तिशाली देशको रुपमा रहेकोले हिमालपारिका दक्षिणतिरका देशहरूमाथि चीनको अधिकार गर्ने आँट थिएन ।तर सन् १९४७ मा भारत बाट बेलायती शासन समाप्त भएको अवस्थामा र सन् १९५० तिर चीनमा माओबादी कम्युनिस्ट क्रान्ति को नाम बाट चिनियाँ सांस्कृतिक आन्दोलन को सुरुवात भएपछि चिनियाँ जन सांस्कृतिक क्रान्तिले चीनमा एक चीनको निति लागू गरेपछि चीनको स्वशासित क्षेत्र तिब्बत पनि चीनको कम्युनिस्ट क्रान्तिको प्रभाव र दबावमा पर्दै गए पछि स्वशासित क्षेत्र तिब्बत माथि चीनको नियन्त्रण हुन पुग्यो। विश्वकै सर्वाधिक लोकप्रिय बौद्ध धर्मगुरु र तिब्बतका सरकारप्रमुख दलाई लामा सन् १९५९मा तिब्बत बाट निर्वासित भएर भारतको हिमाचल प्रदेश स्थित धर्मशाला भन्ने स्थानमा आफ्ना करिब डेढ लाख जति प्रमुख लामा सहित शरणार्थी जीवन बिताउन र निर्वासित सरकार चलाउन बाध्य हुनु परेको थियो ।
तिब्बत का निर्वासित बौद्ध धर्म गुरु दलाई लामाको उत्तराधिकारी सम्बन्धी विवाद अहिले निकै चर्चा मा छ । स्वायत्त र स्वशासित क्षेत्र तिब्बत का सरकार प्रमुख दलाई लामा ले आफ्ना शान्तिपूर्ण गतिविधिहरू सञ्चालन गरेर तिब्बतीयन बौद्धमार्गीहरुको तिब्बतमा संस्थापन र अधिकार प्राप्तिको लागि शान्तिपूर्ण प्रयासहरू जारी राखेका छन्।अहिले तिब्बतमा चीनको बिजिङ बाट निर्देशित शासन प्रणाली कायम रहेको छ ।जसलाई दलाई लामाका निर्वासित सरकारले आफ्नो धार्मिक मूल्य, मान्यता प्रचलन,परम्परा विश्वास माथिको अतिक्रमण र तिब्बतीहरुको अधिकारको हनन मानेका छन।
दलाई लामाको निर्वासन ले यस क्षेत्रको भु–राजनीतिमा जटिल दीर्घकालीन असर पर्दै जाने छ। तिब्बतियनहरु अहिले विश्व भरि छरिएका छन् । तिब्बतीयन हरु लाई एक चीन नीतिको समर्थन गर्नु बाहेकको विकल्प सहज देखिँदैन । नेपाल भारत जस्ता देशहरुले चीनको एक नीतिको समर्थन गरेको हुनाले आधिकारिक रूपमा दलाई लामा र तिब्बतीयन हरूको अधिकारहरु बारे एक शब्द पनि बोल्न सक्दैनन् । भारत सरकारको शरणार्थीको हैसियतमा जीवन यापन गरी रहेका तिब्बतीयन हरुलाई आफ्नो पहिचान जोगाउन र तिब्बतको सम्बन्धमा धारणा बनाउन समेत मुस्किल परि रहेको छ ।
आज दलाई लामाका उत्तराधिकार सम्बन्धी अवस्थाहरू तथा स्वतन्त्र तिब्बत आन्दोलनका अवस्थाहरू अत्यन्त जटिल परस्पर अन्तर सम्बन्धित धार्मिक राजनीतिक र सांस्कृतिक आयामहरू सँग जोडिएको छ। १४औं दलाई लामा तेन्जिङ ग्यात्सो को जन्म ६ जुलाई सन् १९३५ मा तिब्बतको तक्तसेर अमदो मा भएको थियो दलाइलामा तिब्बतीयन बुद्धिस्टहरूको आध्यात्मिक गुरु र नेतृत्वकर्ता हुन्, तथा वैश्विक रूपमा शान्ति अहिंसाको पैरोकारका रुपमा रहेका छन। दलाई लामालाई दुई वर्षको उमेरमा भगवान बुद्धको अवतारको रूपमा पहिचान गरिएको थियो। बुद्ध धर्मगुरु दलाई लामालाई भगवान अवलोकितेश्वर तथा बोधिसत्वको रुपमा सम्मान प्राप्त रहेको छ।
विश्वका बौद्ध धर्मगुरु तथा आध्यात्मिक नेता र तिब्बतका तत्कालीन सरकार प्रमुख को परम्परा सन् १६४२ देखि सन् १९५१ सम्म निर्बाध रुपमा चलेको थियो। तर सन् १९५० मा जब दलाई लामाको उमेर मात्र १५ वर्ष थियो त्यसबेला चिनियाँ सेनाहरूको आक्रमण तिब्बतमाथि भएर दलाई लामाको स्वशासित सरकार संकटमा परेको थियो। चीनमा माउतसेतुङ्गको जनसांस्कृतिक क्रान्ति अपार सफलता प्राप्त गर्दै जाँदा तिब्बतमाथि उनीहरूले अधिकार कायम गरेपछि दलाई लामा भागेर भारतको शरणमा सुरक्षाको लागि पुगेका थिए। दलाई लामाले निर्वासित अवस्थामा नै तिब्बतको निर्वासित सरकारको स्थापना गरी भारतको हिमाचल प्रदेशस्थित धर्मशाला बाट आफ्ना आध्यात्मिक र राजनैतिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन् । अहिले दलाई लामा ९० वर्षको उमेरमा पुगेका छन् र उनी नयाँ दलाई लामाको उत्तराधिकार सम्बन्धी अधिकारको प्रयोग गर्न खोजिरहेका छन् ,जसमा चीन सरकारको ठूलो आपत्ति रहेको बुझिएको छ ।चीन सरकारको स्वीकृति र सहमतिमा मात्र धर्मगुरुको चयन गर्न सकिने नियम चीन सरकारले बनाएको अवस्थामा भारतमा रहेका धर्मगुरु दलाई लामा ले आफ्नो उत्तराधिकारीलाई कसरी छनोट गर्नेछन् भन्ने कुरामा विश्व समुदायको ध्यान आकर्षित हुन थालेको छ। दलाई लामाले सन् २०११ मा प्रजातान्त्रिक तरिकाबाट निर्वाचित तिबेटियन एडमिनिस्टूेसन अर्थात् सिटिए गठन गरेका थिए जसले नयाँ आध्यात्मिक धर्मगुरुको छनोट गर्न पाउने व्यवस्था गरेको छ। दलाई लामालाई वैश्विक रूपमा नै शान्ति मानव अधिकार र तिब्बतेलीहरूको संस्कृति तथा सम्मानको सरंक्षण गरेको आधारमा सन् १९८९ मा विश्वको सबैभन्दा ठूलो र सम्मानित पदवी नोबेल शान्ति पुरस्कार प्राप्त गरिसकेका छन् ।
चिनिया सरकारले दलाई लामाको हरेक गतिविधिलाई चीन विरोधी गतिविधिको रुपमा लिएको देखिन्छ र उनलाई पृथकतावादी व्यक्ति र संस्थाको रुपमा लिएको देखिन्छ। चीनले तिब्बतको वास्तविक स्वायतता चीनभित्रकै कानुनको दायरामा सम्भव छ र तिब्बतको पूर्ण स्वतन्त्रताको कुनै अर्थ छैन भन्ने कुराहरु बारम्बार मिडियामा आइरहेको देखिन्छ चीनले तिब्बतमाथि सन् १९५० देखि नै पूर्ण रुपमा नियन्त्रण कायम गरिसकेको छ चीनले आफ्ना १७ बुँदे कार्यक्रमहरू बाट दलाई लामाले सञ्चालन गर्दै गरेका तिब्बतको सम्पूर्ण धार्मिक अभ्यासहरू र राजनैतिक अधिकार हरू लाई पूर्णरूपमा प्रतिबन्धित गरिदिएको छ । क्रमिक रूपमा दलाई लामाले उपयोग गरिरहेका तिब्बतका सबै किसिमका संस्थाहरू माथि सन् १९६६ देखि १९७६ सम्ममा सबै किसिमको नियन्त्रण सरकारको हातमा गइसकेको देखिएको छ। यतिसम्म कि चीनमा दलाई लामाको फोटो समेत राख्न निषेध गरिएको छ। दलाई लामाको कुनै पनि कार्यक्रमको अडियो भिडियो र प्रवचनहरू लगायतका कार्यहरू पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ। दलाई लामा ले तिब्बतलाई जुन प्रजातान्त्रिकरण र लोकतान्त्रिकरण गर्ने अभियान चलाउने भनेर सन् १९६३ मा एउटा संविधानको डूाफ्ट पनि गरेका थिए त्यसमा तिब्बतेलीहरुलाई राजनैतिक अधिकारहरु प्रदान गर्ने कुराको उल्लेख गरिएको थियो ।
वर्तमान समयमा नयाँ दलाई लामा चीनभित्रै जन्मिएको हुनुपर्ने धारणा र अडान चीनको रहेको छ, भने भारतमा निर्वासित दलाई लामाले नयाँ लामा छनोट गर्ने अधिकार सरकारको नभएर बौद्ध धर्मगुरुको हुन्छ र नयाँ दलाई लामा चीनबाट नभएर कुनै प्रजातान्त्रिक देशबाट छानिएको पहिचान गरिएको हुनुपर्छ भन्ने कुराहरू प्रकाशमा आइरहेको छ। नयाँ दलाई लामा को छनौट र चयन धार्मिक मूल्यमान्यता परम्परा विश्वास र पहिचानको आधारमा गरिन्छ र यसमा बिजिङ सरकारले कुनै किसिमको दखल दिनु र अरंगा लगाउनु लोकतन्त्र विरोधी र बौद्ध धर्म विरोधी कार्य हो भनिरहेका छन्। यस्तो अवस्थामा नयाँ धर्मगुरुको पहिचान गर्नु छनोट गर्नु र सर्वमान्य रुपमा मान्यता दिलाउनु एउटा कठिन अभ्यास को रुपमा रहेको छ भनेर सजिलै बुझ्न सकिन्छ। भारतमा निर्वासित भएर बसेका दलाई लामाले एउटा लामाको पहिचान गर्दछ। र बेजिङ सरकारले चीनमा अर्को दलाई लामाको पहिचान गर्दछ, भने धर्मगुरुको सम्बन्धमा द्वैधताको समस्या उत्पन्न हुन्छ र तिब्बतलीहरू नै यसमा बाझाबाज पर्न सक्छन् भन्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैन । तिब्बतेली नागरिकहरूको यस सम्बन्धमा कस्तो धारणा छ धर्मगुरुको सवालमा भारतको भूमिका कस्तो रहनेछ र विश्वभरि छरिएर रहेका बौद्धमार्गीहरू को भूमिका कुन किसिमको रहनेछ भन्ने कुरामा पनि नयाँ धर्मगुरु को विवादलाई ठम्याउन सकिन्छ । तर एउटा कुरा निश्चित रुपमा के मान्न सकिन्छ भन्ने यदि दुईजना धर्मगुरुको छनोट हुन गयो भन्ने तिब्बतको पोटाला दरबारको अधिकार पूर्ण रुपमा समाप्त हुनेछ । र भारतमा निर्वासित रहेका तिब्बतका बौद्ध धर्म गुरु तथा लाखौँ शरणार्थीहरूको भविष्य अझ जटिल र कठिन अवस्थामा पुग्दै जानेछ तथा तिब्बत सम्बन्धी विवादहरु अझ जटिल बन्दै जाने छ । चीन सरकारको अडान के कुरामा रहेको छ भने तेरौ शताब्दीतिर तिब्बत माथि चीनको युयान शासकहरूको अधिकार थियो। त्यही कारणले तिब्बत चिनको अभिन्न अङ्ग हो र यो स्वशासित क्षेत्र होइन भनेर चीन सरकारले बारम्बार दावा गरि रहेको छ। भविष्यमा तिब्बतीयनहरूको मानव अधिकार र आम आत्महत्या सम्बन्धी घटना अझ बढदै जाने हो कि भन्ने सम्बन्धमा विश्वको ध्यान केन्द्रित हुन थालेको छ ।