दमकमा स्थापित नाम हो– रामबहादुर धिमाल । तीन कार्यकाल जनप्रतिनिधीको रुपमा कार्यभार सम्हालिसकेका उनीले धिमाल समुदायको विकासका लागि करिव ४ दशकको योगदान गरेका छन् । २०१६ सालमा दमकमै जन्मिएका उनले हिमालय माविबाट २०३५ सालमा एसएलसी उत्तिर्ण गरे । बिराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट आईए सकेर उनी वकिल बन्ने लक्ष्य बोकि बीएल अध्ययनका लागि राजबिराज पुगे । तर जनमत संग्रहको आन्दोलनका कारण क्याम्पसमा पढाई भएन । सोहि कारण कानून पढेर वकिल बन्ने उनको सपना पूरा हुन सकेन र बिराटनगरनै फर्किएर राजनीति शास्त्रमा स्नातक पढे । त्यहि बेला २०४१ सालमा उनीहरुको अगुवाईमा धिमाल संस्कृति सुधार समिति गठन भयो र उनले नेतृत्व सम्हाले । त्यसयता उनी निरन्तर रुपमा समुदायको अगुवाईमा क्रियाशिल छन् । समुदायको अगुवा भएकै कारण र दमकमा धिमालहरुको सघन बसोबास पनि रहेका कारण बहुदल पछिको पहिलो स्थानीय निकाय निर्वाचन पश्चात उनलाई मनोनित भएर नगर सदस्यको रुपमा जिम्मेवारी बहन गर्ने अवसर मिल्यो । त्यस पछि २०५४ सालमा तत्कालिन वडा नं. १५ को निर्वाचित वडा सदस्य भए भने गणतन्त्र पछिको पहिलो स्थानीय सरकारको निर्वाचनमा उनी वडा नं. ९ को वडाअध्यक्षको रुपमा निर्वाचित भए । धिमाल जातिय विकास केन्द्रको दश वर्ष भन्दा बढि महासचिव र अरु १० वर्ष अध्यक्ष भएर उनले समुदायको अगुवाई गरे । अझै पनि उनी धिमाल समुदायको अगुवाई गर्दै विभिन्न गतिविधिमा सक्रिय छन् । प्रस्तुत् छ, ‘रामजी’ भनेर पनि चिनिएका उनै धिमाल सामुदायीक अगुवा तथा पूर्वजनप्रतिनिधी रामबहादुर धिमालको विचार ः
á अचेलको दिनचर्या कसरी बिति रहेको छ ?
जनप्रतिनिधीको जिम्मेवारी सकिए पनि समाज र समुदायप्रतिको जिम्मेवारी सकिएको छैन । केहि समय त बिरामी भएर आराम पनि गर्नु पर्ने अवस्था आयो । तर अहिले ठिक भएको छु । उस् बेलामा बीए पढेर पनि जागिर समेत नखाई समुदायकै काम गर्दा गर्दै जीवन विताईयो । अचेल पनि धिमाल समुदायको बारेमा थप अध्ययन् गर्ने, नयाँ पुस्तालाई बुझाउने–सिकाउने, समुदायको विकासका विभिन्न कार्यक्रम गर्ने र सहभागी हुने लगायतका कामहरु गरेर चलिरहेको छ ।
á धिमाल समुदायलाई त दमक नगरपालिकाले पहिलो नागरिक पनि घोषणा गरेको छ । यो ठाउँको मानव बसोबासको इतिहाससँग जोडिएको यो समुदायमा मानिसहरु किन क्रमिक रुपमा विपन्न बन्दै गए, राजनीतिक पहुँचमा पनि कमजोर भए ?
यो त बहुत गहिरो कुरो छ । हेर्नुस् है, पहिला यो जंगलै जंगल हो । सवासय वर्ष भन्दा अघि हाम्रै पूर्खाले जंगलीजनावरहरुसँग जुध्दै जंगल फाँडेर बसोबास गर्न योग्य बनाए । त्यस बेला जति फाँड्यो उति आफ्नो हुने बेला थियो । पहाडबाट बसाई सरेर आउने, अन्य ठाउँबाट आउने भन्ने कुरा त धेरै पछिको हो । त्यस बेला कतिले घरायसी समस्या टार्न पनि जग्गा साट्नु पर्ने अवस्था बन्यो होला । तर खास कुरा जव भुमिसुधार कानून लागु भयो, त्यस बेला हाम्रो समुदायका मान्छेको पहुँच पुगेन । प्रमाणहरु जुटाउने कार्यको जटिलताले पनि धेरैले भुमि गुमाए । यस्तै त्यस बेला जग्गा बाहेक अरु केहि सम्पत्ती थिएन । त्यसैले राजश्व तिर्ने सम्म पैसा नहुँदा आफ्नो जमिन पनि आफ्नो नाममा कायम गर्न सकेनन् । यसरी धिमालहरु आँफैले बस्न योग्य बनाएको भुमिको पनि मालिक हुन सकेनन् ।
राजनीतिक पहुँचको कुरा त धेर थोर भएकै हो । हामी आँफै पनि कति टिक्न सक्छौं भन्नेमा भर पर्छ । फेरि राजनीति भित्रको राजनीति झनै खतरा हुँदोरहेछ । त्यसैले म पनि विचमा लामो समय चुपचाप बसे । पछि पछि क्रमिक रुपमा राजनीतिक क्षेत्रमा पनि अलि अलि लागियो । तर पूरै राजनीति गर्न कठिन छ, जो सुकैले गर्न सक्ने काम होईन रहेछ यो ।
á पछि पारेको वा पारिएको समुदायका लागि राज्यको तर्फबाट के गर्न जरुरी छ ?
यसका लागि पहिलो कुरा त शिक्षा र चेतना हो । जो कसैलाई पनि सहज र सुलभ रुपमा शिक्षा आर्जन गर्ने अवसर प्रदान गरियो भने उसले आँफै आफ्नो कला, पहिचान, इतिहास खोज्न र संरक्षण गर्न थाल्छ । शिक्षा आर्जनबाटै आर्थिक आर्जनका बाटोहरु खुल्दै जान्छन् । त्यसैले शिक्षाको पहुँच सहज पारिनु पर्छ । यस्तै समुदायले पनि सक्रियता देखाउनु पर्छ । आफ्ना पूर्खाले आर्जेको इतिहास, भाषा, संस्कार, संस्कृति जोगाउनु र भावि पुस्तालाई जिम्मा लगाउन प्रत्येक व्यक्तिको कर्तव्य पनि हो । यसका लागि चाँहि सरकार र समुदाय सँगसँगै अघि बढ्न जरुरी हुन्छ ।
á तपाईको आगामी लक्ष्य के रहेको छ ?
अब त लक्ष्य पनि के हुनु र । सकेका दिन सम्म समुदाय र समाजकै लागि लागि पर्ने हो । जानेको कुरा सिकाउने–बुझाउने हो । सिक्ने र बुझ्ने क्रम कहिल्यै अन्त्य पनि हुँदैन, त्यसैले आफु पनि सिक्दै जाने हो । ईमान पूर्वक आजका दिन सम्म यो ठाउँका लागि समाजका लागि, समुदायका लागि जे जति गर्न सकियो आगामी दिनमा पनि यो भन्दा बढि केहि गर्न सकौं भन्ने छ । प्रस्तुति गोपाल झापाली

Author

You may also like