विराटनगर/ सत्तारुढ नेकपा (एमाले) निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीमा विवाद देखिएको छ । विराटनगरमा आइतबारदेखि सुरु भएको दसौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामै विवाद भएको हो ।
एक पक्षले पार्टीको निर्देशन अनुसार सहमतिमा नेतृत्व चयन हुनुपर्ने बताएको छ भने अर्को पक्षले निर्वाचनको माध्यमबाट नेतृत्व चयन हुनुपर्ने भन्दै हस्ताक्षर क्याम्पेन नै चलाएको छ । महाधिवेशस्थल विराटनगरका होटल मनास्लु इन परिसरमै ठुलो ब्यानरमा र लिखित कागजमै राई पक्षले हस्ताक्षर अभियान चलाइरहेका छन् ।
महाधिवेशन उद्घाटनका क्रममा महासचिव शंकर पोखरेलले त सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशनसमेत दिएका थिए । ‘महाधिवेशन आजका दिनमा जुन परिस्थितिमा हुँदैछ, अहिले हामीलाई एकता चाहिएको छ’, उनले भने, ‘हामीलाई प्रतिस्पर्धा होइन, सहमति चाहिएको छ । अहिले कांग्रेस र एमाले मिलिरहेका छन् । यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नुहोला ।’ उनले विगतको विभाजनको पीडा सम्झिएर सहमति गर्नुपर्नेमा जोड दिए ।
यसअघि चौतारीको महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली आउने प्रचार गरिएको थियो । अन्तिम समयमा आफू नआएर ओलीले महासचिव पोखरेललाई पठाएर उनै मार्फत सहमतिमा नेतृत्व चयन गर्न दबाब पनि दिएको बताइएको छ । ओलीले यसअघि नै उपाध्यक्ष गणेश पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएको सार्वजनिक भएको थियो । तर, अर्का उपाध्यक्ष राजेश राईले चुनावी प्रतिस्पर्धाबाटै छिनोफानो हुनुपर्ने भन्दै अध्यक्षमा दाबी गरिरहेका छन् ।
पाण्डेले चौतारीको अधिवेशनस्थलमा निर्वाचन गराउने भनेर गरिएको हस्ताक्षर अभियान केही व्यक्तिहरूले रमाइलो गरेको हुनसक्ने बताए । निर्वाचन गर्ने नगर्ने भन्ने विषय सङ्गठन र पार्टीको विषय भएको र सहमतिमै नेतृत्व चयन हुनुपर्छ भनेर पार्टीले भनेको उनले बताए । आफू अध्यक्षको उम्मेदवार रहेको र सहमतिमा हुनुपर्छ भन्नेमा आफू रहेको पनि उनले बताए ।
‘अहिलेसम्म कसैलाई पार्टीले अध्यक्ष भनेर भनेको पनि छैन । सहमतिकै लागि म तयार छु । सहमति भन्दा आफू हुँदा ठिक, अरू हुँदा बेठिक भन्ने हुँदैन । केही साथीहरू आँतिएर हिँडेको जस्तो देखिन्छ,’ पाण्डेले भने, ‘दुई कार्यकाल यता प्रेस चौतारीमा निर्वाचन भएको छैन । अहिले पार्टीले कुनै पनि जनसंगठनको निर्वाचन नगर्ने भनेको छ । त्यसकारणले गर्दा सहमति मै गर्ने पार्टीको निर्णय हो ।’ उनले गत पुसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकको निर्णय अनुसार एउटा जिल्ला बाहेक सबै जिल्लामा सहमतिमै नेतृत्व चयन गरेको पनि बताए । ‘जिल्लामा चाहिँ सहमति गरेर आउने, केन्द्रको सचिवालय बैठकमा पनि सहमतिका लागि तयार छौँ भन्ने अनि अहिले निर्वाचन गर्ने भन्ने कसरी हुन्छ ?,’ उनले भने, ‘आफू हुँदा सहमति । आफू नहुँदा असहमति भनेर हिँड्नु चाहिँ राम्रो होला जस्तो लाग्दैन ।’ कस्तो जनसङ्गठन बनाउने भन्ने पार्टीको सोच रहेको भन्दै उनले सोही अनुसार पार्टीले निर्णय गर्न सक्ने बताए ।
हस्ताक्षर अभियान चलाइरहेकाहरू भने नेतृत्व चयनमा टिके प्रथा हुन नहुने बताउँछन् । अध्यक्षका प्रत्याशी राजेश राईले भने प्रतिस्पर्धालाई रोक्न नहुने बताए । ‘प्रेस चौतारी नेपालको नेतृत्व निर्माण लोकतान्त्रिक प्रक्रिया बमोजिम र सार्वभौम प्रतिनिधिहरूको मत मार्फत हुनेछ,’ राईले भने, ‘राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिको अभिमत नै निर्णायक तत्त्व हो । यस कुरालाई हामीले हेक्का राखेका छौँ । सार्वजनिक चर्चा र चिन्ता गरिएजस्तो अलोकतान्त्रिक प्रक्रियामा हाम्रो अधिवेशन जाने छैन । र जान दिइने छैन ।’ यसैबिच एमालेको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सँगै राखेर अध्यक्षका आकांक्षी राईलाई ब्याक हुन निर्देशन दिएका छन् । ‘तपाईं अध्यक्षबाट ब्याक हट्नुपर्यो । पार्टीको निर्णय मान्नु पर्यो,’ ढकालले राईलाई भनेका थिए । जवाफमा राईले ‘आफू पार्टीको निर्णय मान्न तयार भएको तर, सुरुको निर्णय कार्यान्वयन हुनुपर्ने’ भनेको स्रोतले दाबी गरेको छ । नेताहरूको टिमले भने निर्णय परिवर्तन भइरहने र पार्टीले परिवर्तन गरेको निर्णय पनि मान्नुपर्ने बताएका थिए ।