उपभोक्तालाई फ्रिजिङ मासुको विषयमा जनचेतना जगाउनुपर्ने व्यवसायीको भनाई
दमक/ नगरबासीको स्वास्थ्यसँग सम्बन्धित क्षेत्रको अनुगमनलाई दमक नगरपालिकाकाले प्राथमिकता दिएको छ । विभिन्न स्वास्थ्य संस्था, विद्यालय, विकास निर्माणमा कामको अनुगमन गरिरहेका नगरपालिकाले दशैंको बेलामा उपभोक्ताको हितमा काम गर्न सम्बन्धित व्यवासायीलाई बोलाएर छलफल समेत गरेको छ ।
चाडपर्व नजिकिँदै गर्दा व्यापारीबाट हुने सामान्य त्रुटीले नगरबासीको स्वास्थ्यमा असर नपारोस् भनेर मासु पसलहरुलाई समेत व्यवस्थित गर्ने गरी दमक नगरपालिका अगाडि बढेको उपप्रमुख भट्टराईले बताएकी छन् ।
बाहिर खुल्ला रुपमा राखिएका मासुले नगरबासीको स्वास्थ्यमा गम्भिर असर पार्ने भन्दै दमक क्षेत्रभित्र खोलिएका मासु पसलेहरुलाई फ्रिजिङ गरेर मासु बेच्ने नियम कडाईका साथ लागु गरिरहेको पनि उपप्रमुख भट्टराईले बताईन ।
मासुलाई फ्रिजमा राख्दा लामो समयसम्म सुरक्षित हुने र व्याक्टेरिया र सुक्ष्म जीवाणु विकसित हुन पाउँदैनन् । त्यही भएर दमक नगरपालिकाले नगर क्षेत्रमा मासु व्यवसाय गर्नेहरुलाई कडाईका साथ मासु फ्रिजिङ गर्ने नियम लागू गराउन खोजेका उपप्रमुख भट्टराईले बताईन ।
उपभोक्ताको स्वास्थ्यमा ध्यान दिँदै नगरपालिकाले यो नियम लागू गराउन खोजेको भएपनि व्यवसायी भने उपभोक्तालाई दोष देखाउँदै यसबाट पन्छिन खोजिरहेको पनि भट्टराईले जानकारी दिईन् । विगत १० वर्षदेखि मासु व्यवसाय गर्दै आउनु भएकी विष्णु भट्टराई थापाले समेत फ्रिजबाट मासु निकालेर बेच्दा उपभोक्ताले बासी मासु होला भन्दै किन्न नमान्ने र मासु नबिक्ने भएकोले खुला रुपमा मासु बेच्न बाध्य भएको छलफलका क्रममा बताएको भट्टराईले बताईन । भट्टराईले कार्यक्रममा बोल्दै भनिन– मासुलाई सुरक्षित ढङ्गले राख्न सक्ने वातावरण बनाइहाल्नु पर्ने अवस्था रहेको भन्दै उनले कम्तिामा पनि खुला भन्दा छोपेर, ढाकेर वा जालीभित्र हालेर मात्रै मासु बेच्ने कामको सुरुवात त गर्न सकिन्छ नि, त्यहिँबाट काम सुरु गर्न थालौं न ।’ आग्रह गरिन ।
दमक नगरपालिकाले यस क्षेत्रमा मासु व्यवसाय सञ्चालन गर्नेहरुलाई शुक्रबार नगरसभाहलमा भेला गरेर छलफल गरेको पनि उपप्रमुखले जानकारी गराईन । मासुलाई स्वच्छ र सुरक्षित बनाउँदै कसरी बेच्ने भन्नेबारेमा खाद्य निरीक्षकले प्रशिक्षण समेत दिए पनि यस्तो प्रशिक्षण वा सचेतना कार्यक्रम पहिला उपभोक्तालाई नि आवश्यक रहेको तर्क व्यवसायीले गरेका छन् ।
उपभोक्ताले हातले छामेर, आँखाकै अगाडि काटेको र मासुमा रगत मिसिएको मासुलाई मात्र ताजा मान्ने सोचको परिवर्तन गर्न आवश्यक रहेको व्यवसायकिो तर्क छ । यदि उपभोक्ताहरुमा फ्रिजमा राखेको मासु सुरक्षित हो भन्ने बुझाई भयो भनें आफुहरु स्वतः सोही अनुरुप अघि बढ्ने प्रतिबद्धता पनि व्यवसायीले गरे ।
उपभोक्ताको तर्फबाट आफ्ना कुरा राख्दै सामाजिक व्यक्तित्व केन्द्र प्रसाईले खासगरेर शंखधर चोकदेखि भृकुटी चोकसम्मको क्षेत्रमा रहेका खुला मासु व्यवसायी मुख्य चुनौती बनिरहेको बताए । त्यसको नियमन निर्मम ढंगबाट हुनु पर्ने तर्क उनको थियो ।
हरित, स्वच्छ र समृद्ध नगर बनाउने योजना अनुसार मासु व्यवसायीहरुलाई समेत सुरक्षित तथा वातावरणमैत्री बनाउने काममा नगरपालिका लागेको उपमेयर भट्टराईको तर्क छ ।
कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडाध्यक्ष समेत रहनु भएका वातावरण विकास समिति अध्यक्ष टेकबहादुर थापाले उपभोक्ता र व्यवसायीको हितका लागि दमकमा चाँहि अन्तभन्दा स्वच्छ र सफा मासु पाउँछ भन्ने सन्देश दिन खोजिएको योजना सुनाए । उनले एक महिनाभित्रमा सबै मासु व्यवसायीहरु नगरपालिकाले बनाएको मापदण्डभित्र आइसक्न अनुरोध पनि गरे । दमकमा खुला मासु बिक्री गर्ने, मिसावट गर्ने जस्ता गुनासो बढेपछि नगरपालिकाले सबै
मासु……मासु व्यवसायीसँग छलफल अघि बढाएर स्वच्छ रुपमा मासु बिक्रीको अनुरोध गरेको हो । यसले दमकको मासु व्यवसाय थप व्यवस्थित र स्वच्छ हुने अपेक्षा गरिएको छ ।